News Summary
Generated by OK AI. Editorially reviewed.- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चाँडै चीनको भ्रमण गर्ने तयारी पूरा भएको क्रेमलिन प्रवक्ता ड्मित्री पेस्कोभले बताए।
- पुटिन र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच ४० पटकभन्दा बढी भेटवार्ता भइसकेको छ र पछिल्लो भेट गत वर्ष सेप्टेम्बरमा भएको थियो।
- रुस र चीनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा अमेरिकाले ल्याएका प्रस्तावहरू विरुद्ध सामूहिक भिटो प्रयोग गर्दै आएका छन्।
३१ वैशाख, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चाँडै नै चीनको भ्रमण गर्ने तयारी पूरा भएको छ। बिहीबार क्रेमलिनका प्रवक्ता ड्मित्री पेस्कोभले रोयटर्ससँग कुरा गर्दै राष्ट्रपतिको चीन भ्रमणको सम्पूर्ण तयारी पूरा भएको र यो भ्रमण निकै छिटो हुने जानकारी दिएका छन्।
युक्रेन युद्ध सुरु भएयता बेइजिङ र मस्कोबीचको सैन्य तथा आर्थिक सम्बन्ध थप विस्तार हुनुलाई पश्चिमा मुलुकहरूले निकै संवेदनशीलताका साथ हेरिरहेका बेला यो भ्रमण हुन लागेको हो।
राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच वर्षौँदेखि ४० पटकभन्दा बढी भेटवार्ता भइसकेको छ। उनीहरूबीचको पछिल्लो भेट गत वर्ष सेप्टेम्बरमा चीनको विशाल सैन्य परेडका क्रममा बेइजिङमा भएको थियो।
रुसले युक्रेनमाथि आक्रमण सुरु गर्नुभन्दा तीन हप्ताअघि सन् २०२२ फेब्रुअरीमा दुई नेताले ‘नो लिमिट्स’ को रणनीतिक साझेदारीमा हस्ताक्षर गरेका थिए। हालैका समयमा चीन र रुसले इरान र भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीको संयुक्त रूपमा विरोध गर्नुका साथै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा अमेरिकाले ल्याएका प्रस्तावहरू विरुद्ध सामूहिक भिटो समेत प्रयोग गर्दै आएका छन्।
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले बुधबार पत्रकारहरूसँग कुरा गर्दै अमेरिका र रुसबीचको सम्बन्धको वर्तमान अवस्थाप्रति टिप्पणी गरेका छन्। उनले प्रविधि, ऊर्जा र अन्य परियोजनाहरूमा द्विपक्षीय सहयोगका बारेमा धेरै ‘राम्रा शब्दहरू सुनिने गरे तापनि वास्तविकतामा अमेरिका–रुस सम्बन्धमा ‘केही पनि नभइरहेको’ बताएका छन्।
प्रतिक्रिया 4