News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा पूँजीगत खर्च १ खर्ब १३ अर्ब ८४ करोड रुपैयाँ मात्र भएको छ।
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस वर्ष सर्वाधिक पूँजीगत खर्च हुने अपेक्षा गरेको बताएका छन्।
- सरकारको १० महिनाको कुल खर्च ११ खर्ब ७३ अर्ब ५२ करोड र आम्दानी १० खर्ब १२ अर्ब मात्र भई डेढ खर्ब घाटा देखिएको छ।
१ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना (साउन-वैशाख) कट्दा पूँजीगत खर्च १ खर्ब कटेको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार वैशाख मसान्तसम्म १ खर्ब १३ अर्ब ८४ करोड रुपैयाँ बराबर पूँजीगत खर्च भएको छ । जुन यस वर्षको वार्षिक विनियोजनको तुलनामा २७.९१ प्रतिशतमात्र हो ।
यस वर्ष अर्थ मन्त्रालयले रकमान्तर सहित प्रावधान निकै खुकुलो बनाएको छ । त्यति हुँदा पनि विकास खर्चले अझै गति लिन सकेको छैन । यद्यपि, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भने यस वर्ष सर्वाधिक पूँजीगत खर्च हुने अपेक्षा गरेका छन् । यसै साता अर्थ समितिमा आयोजित छलफलमा उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्रीको अपेक्षा अनुसार खर्चले गति लिन पुन: वर्षान्तको विकास र भुक्तानीले तीव्रता पाउने निश्चित छ । यस वर्ष सरकारले ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ बराबर पूँजीगत खर्च लक्ष्य राखेको छ ।
वैशाख मसान्तसम्म चालु खर्च भने ८ खर्ब १४ अर्ब ६५ करोड पुगिसकेको छ । जसमा वित्तीय हस्तान्तरणको रकम समेत समावेश हुन्छ । चालु खर्च ६८.९८ प्रतिशत भइसकेको छ । यस आवमा सरकारले ११ खर्ब ८० अर्ब ९८ करोड चालु खर्च लक्ष्य राखेको छ ।
वित्तीय व्यवस्थातर्फको खर्च २ खर्ब ४५ अर्ब रुपैयाँ भइसकेको छ । यसको अधिकांश हिस्सा सार्वजनिक ऋणको साँवा भुक्तानीमा भएको हो । वित्तीय व्यवस्थातर्फको खर्च विनियोजनको तुलनामा ६५.३ प्रतिशत भइसकेको छ । यस वर्ष सरकारले ३ खर्ब ७५ अर्ब रुपैयाँ बराबर वित्तीय व्यवस्थामा विनियोजन गरेको छ ।
कुल बजेट खर्च १० महिनामा ११ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । जुन कुल विनियोजनको तुलनामा ५९.७५ प्रतिशत बराबर हो । यस वर्ष सरकारले १९ खर्ब ६४ अर्ब बराबर बजेट कार्यान्वयन गरिरहेको छ ।
उता, राजस्व संकलन क्रमसमेत सुस्त छ । १० महिनामा सरकारले लक्ष्यको ६६.७९ प्रतिशतमात्र राजस्व संकलन गर्न सकेको छ । यस वर्ष १४ खर्ब ८० अर्ब रुपैयाँ बराबर राजस्व संकलन गर्ने सरकारको लक्ष्य छ ।
संकलन भने ९ खर्ब ८८ अर्ब ५५ करोड बराबर भएको छ । जसमध्ये कर राजस्व ८ खर्ब ९३ अर्ब र गैरकर राजस्व ९४ अर्ब ९८ करोड बराबर भएको छ । यस वर्ष सरकारले ५३ अर्ब ४४ करोड हाराहारी वैदेशिक अनुदान प्राप्त हुने अनुमान गरेको थियो ।
प्राप्ति भने १० महिनामा १७ अर्ब ७८ करोड रुपैयाँ बराबर भएको छ । जुन लक्ष्यको ३३.२८ प्रतिशत हो । त्यसो त सरकारले यी तीन वटै खर्च शीर्षकमा विनियोजन अनुसार खर्च हुन नसक्ने भन्दै अर्धवार्षिक समीक्षा मार्फत लक्ष्य घटाएको छ ।
आम्दानी र खर्चमा डेढ खर्बको खाडल
सरकारको आम्दानी र खर्चमा अहिले डेढ खर्ब रुपैयाँ बराबरको खाडल छ । सरकारले १० महिनामा ११ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँ बराबर खर्च गर्दा राजस्व, वैदेशिक अनुदान र अन्य आम्दानीबाट कुल १० खर्ब १२ अर्ब रुपैयाँमात्र आम्दानी गर्न सकेको छ ।
यस प्रकार सरकारको खाता डेढ खर्ब रुपैयाँले घाटामा रहेको देखिन्छ । यसको परिपूर्तिका लागि सरकारले आन्तरिक तथा वाह्य ऋण परिचालन गर्दै आएको छ ।
प्रतिक्रिया 4