२ जेठ, काठमाडौं । भारतले चिनी निर्यात रोक्ने निर्णय गरेसँगै नेपालमा फेरि चिनीमा आत्मनिर्भर बन्नुपर्ने बहस सुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले सरोकारवालाहरूलाई बोलाएर बहस सुरु गरेकी हुन् ।
आम उपभोक्ताको हित, बजार मूल्यको स्थिरता तथा चिनीको सहज उपलब्धताका सम्बन्धमा उद्योग मन्त्री गौरी कुमारीले हालै नेपाल चिनी उत्पादक सङ्घका पदाधिकारी र सरोकारवाला मन्त्रालय/निकायका प्रतिनिधिसँग छलफल गरेको मन्त्रालयले जनाएको छ ।
उक्त छलफलमा चिनीमा मुलुकलाई आत्मनिर्भर बनाउन उन्नत जातका उखु खेतीमार्फत उत्पादन वृद्धिको योजना अघि सार्ने विकल्पमा कुराकानी भएको स्रोतले बतायो ।
सरोकारवालाले उद्योग मन्त्रालयलाई कृषि, वन तथा पर्यावरण मन्त्रालयमार्फत नेपालमा सञ्चालित चिनी उद्योगको उत्पादन क्षमता अभिवृद्धि गर्ने र किसानलाई उखु खेतीमा आधुनिक प्रविधिको प्रयोगमा सहजीकरण गर्ने योजनामा काम गर्नुपर्ने सुझाव दिएका छन् ।
उद्योगीहरूले पनि बजारमा चिनीको सहज तथा सुलभ मूल्यमा नियमित आपूर्ति गर्ने प्रतिबद्धता जनाएका छन् ।
बजारमा चिनीको अभाव हुन नदिन आपूर्ति मन्त्रालयले उत्पादन प्रवर्द्धन, आपूर्ति व्यवस्थापन, बजार अनुगमन र नियमनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । उद्योगी–व्यवसायीले उत्पादन तथा उत्पादकत्व अभिवृद्धि, स्वच्छ बजार र उपभोक्ता हित संरक्षणमा सहयोग पुर्याउनेछन् ।
आमनागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राखे चिनीलगायत अत्यावश्यक वस्तुको आपूर्ति तथा मूल्य स्थिरता कायम गर्न पूर्णरूपमा प्रतिबद्ध रहेको आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।
नेपालमा सञ्चालित चिनी उद्योगमा भएको मौज्दात तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आयात गरेको चिनीले करिब आठ महिनाको माग पूरा उद्योग मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले उपभोक्ता एवम् सरोकारवालामा चिनीको अनावश्यक सञ्चिति नगर्न तथा चिनीको उपलब्धता र आपूर्ति सम्बन्धमा कुनै किसिमको अन्योलमा नपर्न पनि अनुरोध गरेको छ । –रासस
प्रतिक्रिया 4