News Summary
Generated by OK AI. Editorially reviewed.- म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा ३० रोपनीमा व्यावसायिक स्याउखेती सुरु गरिएको छ।
- प्रविन पौडेलले रु दुई करोड लगानीमा स्याउखेती सुरु गरी आगामी दिनमा ५० रोपनीमा विस्तार गर्ने योजना बनाएका छन्।
- गाजनेमा कृषि पर्यटन अवधारणा अनुसार होमस्टे सञ्चालन गर्ने तयारी भइरहेको छ।
३ जेठ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक स्याउखेती सुरु भएको छ ।
प्रविन कृषि तथा पशुपंक्षी फार्ममार्फत ३० रोपनी खेत र पाखोबारीमा स्याउखेती सुरु गरिएको हो । फार्मका सञ्चालक यादव पौडेलले स्याउखेतीको परीक्षण सफल भएपछि व्यावसायिक रुपमा स्याउखेती सुरु गरेको बताए ।
६ वर्ष सरकारी जागिर गरेपछि सात वर्ष इराकमा बिताएका उनले बुटवल र काठमाडौँमा केही समय व्यवसाय पनि गरेका थिए ।
अहिले घर फर्किएर रु दुई करोड लगानीमा स्याउ फार्म सुरु गरेको बताए । ‘अहिले स्याउखेती सुरु भएको छ, आगामी दिनमा ५० रोपनीमा विस्तार गर्ने र कृषि पर्यटनको अवधारणा अनुसार ‘होमस्टे’ सञ्चालनको तयारीमा छु’, उनले भने ।
गाजने समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइमा छ । पौडेलका अनुसार भारतको हिमाञ्चलबाट ‘रेड डेलिसियस’, गाला, ‘जोनाप्रिन्स’, ‘चकलेटी’ जातका स्याउका कलमी बिरुवा ल्याएर गत मङ्सिर मा रोपेका थिए ।
कलमी बिरुवा भएकाले केही बोटमा यसपालीनै फल लागेको छ । गाजने र धवलागिरी गाउँपालिकाको गुर्जामा घरायसी उपभोगका लागि स्याउ उत्पादन भएपनि व्यावसायिक रुपमा भने पहिलो पटक सुरु गरिएको हो ।
बगैँचामा झारपात उम्रन नदिनका लागि प्लास्टिकको छापो हालेर ‘मल्चिङ’ गरिएको छ । स्याउ लगाइएको खेतमा यसअघि धान, गहुँ, मकै र बारीमा कोदो खेती हुने गरेको थियो । करिब तीन रोपनी पाखोबारी बाँझो थियो ।
चार वर्ष हुलाकमा काम गरेका ५१ वर्षीय पौडेलले रोजगारीका सिलसिलामा करिब छ वर्ष रुकुममा सहायक लेखापालका रुपमा काम गरेका थिए ।
‘तलबभत्ताले आफु मात्रै पालिने अवस्था आएपछि सहायक लेखापालको स्थायी जागिर छाडेर इराक गएँ । त्यहाँ छ वर्ष काम गरे,’ उनले भने ।
केही समय मासु पसल र केही समय शैक्षिक परामर्श सञ्चालन गरेका उनले २०७७ सालमा रु २५ लाख लगानी गरेर बोयर जातको बाख्रा पालन गरेका थिए ।
तर अपेक्षाकृत रुपमा सफलता हात नपरेपछि उहाँले केही समय भेडापालन पनि गरे ।
पछिल्लो समय पोखरामा रेस्टुरेन्ट व्यवसाय गरिरहेका छोरा प्रविनको योजना अनुसार आफूले स्याउ खेती सुरु गरेको उनको भनाइ छ । उनले स्याउ खेतीका साथै २५ वटा भेडा, दुई वटा भैंसी र एउटा गाई पनि पालेका छन् । उनले एक जनालाई नियमित जागिर पनि दिएका छन् ।
कृषि पर्यटनको अवधारणा
गाजनेमा रहेको धार्मिक र ऐतिहाँसिक स्थल जगन्नाथ मन्दिर दर्शन तथा गुफाको डाँडाबाट दृष्य अवलोकन गर्न आउने पर्यटकहरुलाई लक्षित गरेर स्याउ बारीसँगै ‘होमस्टे’ सञ्चालन गर्ने योजना रहेको उनले बताए ।
मन्दिर दर्शनका लागि आएका भक्तजन र गुफाडाँडा घुम्न आउने पर्यटकहरुलाई लक्षित गरी कृषि पर्यटनको अवधारणामा आगामी दसैँदेखि होमस्टे सञ्चालनको लक्ष्य रहेको उनको भनाइ छ ।
यहाँबाट धौलागिरि, अन्नपूर्ण, निलगिरि, मानापाथी हिमाल, म्याग्दी, पर्वत र बागलुङका बस्तीह देख्न सकिन्छ । तत्कालीन बाइसे चौबिसेअन्र्तगत पर्वत राजको ग्रिमकालीन दरबार रहेको ढोलथान पनि गाजनेको नजिकै पर्छ । रासस
प्रतिक्रिया 4