+
+
Shares

का‍ंग्रेस व्यक्तिमुखी होइन, कार्यक्रममुखी बन्नुपर्छ : संविधानविद् अधिकारी

उनले कांग्रेस अब व्यक्तिमा आधारित नभई स्पष्ट कार्यक्रम र नीतिमा आधारित पार्टीका रूपमा रूपान्तरण हुनुपर्नेमा जोड दिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३ गते १५:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संविधानविद् विपिन अधिकारीले नेपाली कांग्रेसले आफ्नो ऐतिहासिक विरासत र आधारभूत सिद्धान्त बिर्संदै गएको टिप्पणी गरेका छन्।
  • अधिकारीले कांग्रेसलाई व्यक्तिमा नभई स्पष्ट कार्यक्रम र नीतिमा आधारित पार्टी बन्नुपर्ने सुझाव दिए।
  • उनले कांग्रेसभित्र लोकतन्त्र र नेतृत्व हस्तान्तरणमा समस्या रहेको र गल्ती सुधार्नुपर्ने बताए।

३ जेठ, काठमाडौं । संविधानविद् विपिन अधिकारीले मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले आफ्नो ऐतिहासिक विरासत र आधारभूत सिद्धान्तलाई बिर्संदै गएको टिप्पणी गरेका छन् ।

उनले कांग्रेस अब व्यक्तिमा आधारित नभई स्पष्ट कार्यक्रम र नीतिमा आधारित पार्टीका रूपमा रूपान्तरण हुनुपर्नेमा जोड दिएका हुन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सिंगापुरको ‘पिपल्स एक्सन पार्टी’ (पीएपी) को उदाहरण दिँदै अधिकारीले कुनै पनि राजनीतिक दल सफल हुनका लागि दीर्घकालीन दृष्टिकोण, अनुशासन र व्यावहारिक राजनीति (प्राग्मटिज्म) आवश्यक हुने बताए ।

बीपी कोइरालाको समयमा कांग्रेस एक असाधारण र उत्कृष्ट पार्टी रहेको स्मरण गर्दै अधिकारीले तत्कालीन समयमा सिमित स्रोतसाधन र कठिन परिस्थितिका बाबजुद पनि नेताहरूमा उच्च राजनीतिक प्रतिबद्धता रहेको स्मरण गराए ।

बीपीले प्रतिपादन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मर्म अहिले हराउँदै गएको उनको तर्क छ ।

पार्टी व्यक्ति विशेषको इच्छामा नभई तय गरिएका नीति र कार्यक्रमका आधारमा चल्नुपर्ने,राष्ट्रिय स्तरमा लोकतन्त्रको वकालत गर्नुअघि दलभित्रै लोकतान्त्रिक अभ्यास र अनुशासन मजबुत हुनुपर्ने, दोस्रो र तेस्रो पुस्ताका नेताहरूलाई नेतृत्वका लागि तयार पार्नुपर्छ र नेतृत्वमा पुग्ने प्रक्रियालाई पारदर्शी बनाउनुपर्ने उनको सुझाव छ ।

उनले भने, ‘सिंगापुर निर्माणमा पीएपीको अनुशासन, स्वच्छ छवि र कठोर सङ्घर्षले काम गरेको छ । हाम्रो सन्दर्भमा कांग्रेसले आफ्नो आदर्श र भुइँतहका मुद्दाहरूलाई छोड्दै गएको देखिन्छ । कुनै समय कांग्रेसको एजेन्डामा कृषि र किसान प्राथमिकतामा थिए । सुवर्णशमशेरले प्रस्तुत गरेको बजेटदेखि बीपीका नीतिहरूमा भुइँतहका मानिसको अवस्था सुधार्ने स्पष्ट मार्गचित्र थियो । अहिले ‘जोत्नेको जमिन’ जस्ता आधारभुत सिद्धान्तहरू हराएका छन् र पार्टीले किसान सङ्गठन तथा ग्रामीण मुद्दाहरूसँगको सम्बन्ध गुमाउँदै गएको छ ।’

विश्वका अन्य लोकतान्त्रिक पार्टीहरूको चर्चा गर्दै उनले न्युजिल्याण्डको लेबर पार्टी, स्विडेनको सोसल डेमोक्रेटिक पार्टी र जर्मनीका विभिन्न राजनीतिक दलहरूले गठबन्धन संस्कृतिमा रहेर पनि कसरी आफ्नो मूल्यमान्यता र अनुशासन कायम राखेका छन् भन्नेबारे सिक्नुपर्ने बताए ।

संविधानविद् अधिकारीले कांग्रेसभित्रको लोकतन्त्र र नेतृत्व हस्तान्तरणको विषयमा पनि प्रश्न उठाए । सत्ता केन्द्रित राजनीतिका कारण पार्टीका मूल्यमान्यताहरू कमजोर बन्दै गएको भन्दै अधिकारीले चुनावी हार वा पराजयलाई पनि लोकतान्त्रिक वैधताको हिस्साका रूपमा स्वीकारेर गल्तीहरू सुधार्नुपर्ने सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?