News Summary
Generated by OK AI. Editorially reviewed.- कैलाली भन्सार कार्यालयले १३ क्वीन्टल चिनी गोप्य रूपमा बिक्री गरेको आरोप लागेको छ।
- सूचीकृत व्यवसायी फर्मका सञ्चालकहरूले प्रक्रिया मिचेर मिलेमतोमा चिनी बिक्री गरिएको दाबी गरेका छन्।
- भन्सार कार्यालयले चिनी लिलामी गर्दा सार्वजनिक सूचना जारी गरेको र कानुुनसम्मत रुपमा बिक्री गरिएको जनाएको छ।
४ जेठ, धनगढी । कैलाली भन्सार कार्यालयले १३ क्वीन्टल चिनी गोप्य रूपमा बिक्री गरेको आरोप लागेको छ । भन्सार कार्यालयमा सूचीकृत व्यवसायी फर्मका सञ्चालकहरूले प्रक्रिया मिचेर मिलेमतोमा चिनी बिक्री गरिएको दाबी गर्दै विरोध जनाएका छन् ।
भारतबाट तस्करी गरेर ल्याइएको चिनी कार्यालयले लिलामीमार्फत बिक्री गर्नुपर्ने भएपनि सार्वजनिक सूचना नै जारी नगरेर बिक्रि गरेको भन्दै उनीहरूले कार्यालयको मिलेमतो रहेको आशंका गरेका छन् ।
स्रोतकाअनुसार कार्यालयले एक हजार तीन सय ७१ किलो चिनी सुटुक्क बिक्रि गरेको भन्दै सूचीकृत व्यवसायिक फर्मका सञ्चालकले मिलेमतो आरोप लगाएर नियमितजसो विरोध गरिरहेका छन् ।
तर, कैलाली भन्सार कार्यालयले भने कानुुनसम्मत रुपमा नै चिनी लिलामी गरिएको जनाएको छ । कार्यालयल भवन मर्मतको काम चलिरहेकाले गोदाममा राखिएको चिनी गल्ने भएकाले दु्रत मार्गबाट लिलाम गर्नुपर्ने प्रावधानअनुसार नै बिक्रि गरिएको दाबी गरिएको हो ।
भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाले सड्ने गल्ने सामान दु्र्रत मार्गबाट बिक्रि गर्न प्रावधानअनुसार नै चिनीको लिलामी भएको बताए । उनले ३१ बैशाखमा कार्यालयको सूचना पार्टीमा लिलामी सम्बन्धी सूचना टाँसिएको बताए ।
लिलामीका लागि परेको आवेदनका आधारमा चिनी बिक्रि गरिएको बताउँदै व्यवसायीहरुले लगाएको आरोपमा भने सत्यता नभएको बताए । तर, व्यवसायीहरुले भने भन्सार कार्यालयले अन्य षड्ने गल्ने सामान छाडेर चिनी मात्र बिक्रि गर्नुले भन्सार कार्यालयका कर्मचारीको नियतमाथि प्रश्न उठाएका छन् ।
अहिले भारतले चिनी निर्यात बन्द गरेको छ । जसका कारण सीमा क्षेत्रमा चिनीको अवैध ओसारपसार हुने जोखिम बढेको छ ।
प्रतिक्रिया 4