News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले आगामी गणतन्त्र दिवसको मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन् ।
- प्रधानमन्त्रीले मन्त्रिपरिषद्को निर्णय अनुसार गणतन्त्रको प्रतीकका रूपमा राष्ट्रपतिलाई सम्बोधन गर्न आग्रह गर्दै पत्राचार गरेका छन् ।
- संविधानको व्यवस्था अनुसार मन्त्रिपरिषद्को सिफारिसमा यस वर्ष राष्ट्रपतिले गणतन्त्र दिवसको समारोहलाई सम्बोधन गर्ने भएका छन् ।
११ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन् । उनले त्यसको जानकारी राष्ट्रपति कार्यालयलाई दिइसकेका छन् ।
गणतन्त्र दिवसको दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुने गर्दछ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष सहित विशिष्ट व्यक्तिहरुको सहभागिता रहन्छ । सो समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा छ ।
तर प्रधानमन्त्री बनेदेखि सार्वजनिक समारोहमा नदेखिएका बालेन शाहले गणतन्त्र दिवसको मूल समारोहमा पनि सम्बोधन नगर्ने भएका छन् । प्रधानमन्त्री बालेनले सो समारोहलाई सम्बोधनका लागि राष्ट्रपतिलाई आग्रहसहित पत्र पठाएको स्रोतले बतायो ।
‘गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले टुँडिखेलमा सम्बोधन नगरेर राष्ट्रपतिलाई सम्बोधन गर्नका लागि आग्रह गर्दै पत्राचार भएको छ,’ स्रोतले भन्यो ।
मन्त्रिपरिषदको निर्णय अनुसार गणतन्त्रको प्रतीक राष्ट्रपति नै हुने भएकाले गणतन्त्र दिवस समारोहमा सम्बोधन गरिदिनु हुन अनुरोध गरिन्छ भन्ने व्यहोराको पत्र राष्ट्रपति कार्यालयमा पठाइएको स्रोतले बतायो ।
संविधानको धारा ६६ मा राष्ट्रपतिको काम, कर्तव्य र अधिकारबारे उल्लेख छ । सो धाराको उपधारा २ मा मन्त्रिपरिषदको सिफारिस र सम्मतिमा राष्ट्रपतिले काम गर्ने व्यवस्था समेत छ । सोही व्यवस्था अनुसार यस वर्ष राष्ट्रपतिले गणतन्त्र दिवसलाई सम्बोधन गर्ने भएका छन् ।
प्रतिक्रिया 4