News Summary
Generated by OK AI. Editorially reviewed.- निर्देशक नवीन सुब्बाले प्रदर्शनरत फिल्म 'मितज्यू' ले नेपाली समाजको सोच्ने प्रक्रियालाई प्रश्न गर्ने बताए ।
- शुक्रबारदेखि प्रदर्शनमा आएको यस फिल्ममा दयाहाङ राई, सौगात मल्ल र तेरिया मगर मुख्य भूमिकामा छन् ।
- अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको यस फिल्मका लगानीकर्ता जनक घर्तीमगर हुन् ।
काठमाडौं । फिल्म निर्देशक तथा लेखक नवीन सुब्बाले प्रदर्शनरत फिल्म ‘मितज्यू’ ले नेपाली समाजको सोच्ने प्रक्रियालाई प्रश्न गर्ने बताएका छन् । फिल्मले समाजका विभिन्न तहलाई भिन्न–भिन्न केलाएको उनको भनाइ छ ।
राजनीतिक, सामाजिक, आर्थिक तथा पारिवारिक पक्षलाई एकसाथ ‘मितज्यू’ले देखाएको उनको भनाइ छ ।
‘मितज्यू’ले गरेको राजनीतिक प्रक्षेपण अहिलेको नेपाली राजनीतिसँग मेल खाएको उनको तर्क छ । ‘पुराना पार्टी समाप्त भएको र नयाँ सोच आएको कुरा सिनेमाले लाक्षणिक रुपमा देखाएको छ,’ उनले भने, ‘चरित्र निर्माण गर्दाखेरि नै यो कुरा लिएर आएको छ ।’
नेपाली फिल्मले पहिलोपटक यसरी बोलेको आफूलाई महसुस भएको उनले बताए । ‘पलिटिकल इभेन्ट’ लाई स्टोरीमा ढालेर चरित्रमार्फत सिम्बोलिक रुपमा राम्रोसँग उतार्ने काम भएको उनको भनाइ छ ।
नयाँ कलाकार भए पनि तेरियाले राम्रो काम गरेको भन्दै नवीनले प्रशंसा गरे । उनको डेब्यु सिनेमा जस्तो नलाग्ने उनको भनाइ छ । सौगात मल्ल र दयाहाङ राईसँगसँगै खारिएको काम देखाएको र यो चलचित्र ‘मितज्यू’को अर्को उपलब्धी भएको उनले बताए ।
आवरण र इमोसनमा दयाहाङ र सौगातले पनि गज्जवको काम गरेको नवीनको भनाइ छ ।
‘यो चलचित्रले धेरै च्यालेन्ज गरेको छ । हामीमा परिवारको जे कन्सेप्ट छ, त्यसलाई नै प्रश्न गरेको छ । यो लोकल स्टोरी उठाएर धेरै कुरा गरेको छ, भर्खरै खुलेको बाटो र जीपको कुरा छ,’ उनले भने, ‘रोल्पा र रुकुमबाट अलि अगाडि बढेर समग्र नेपाली समाजको थर्ट प्रोसेसमाथि नै प्रश्न गर्छ । यो मलाई गज्जब लाग्यो ।’
यस्ता सिनेमा बन्नु पर्ने र धेरैले माया गर्नुपर्नेमा उनको जोड छ । यस्ता सिनेमालाई माया गर्दा अझै धेरै यस्ता चलचित्र बन्ने र यसले समाज निर्माणलाई नै सहयोग गर्ने नवीनको तर्क छ ।
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल र तेरिया मगर मुख्य भूमिका छन् । फिल्ममा सौगात, दयाहाङ र तेरियासँगै खड्गबहादुर पुन मगर, शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेको अभिनय छ ।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका लगानीकर्ता जनक घर्तीमगर हुन् । अनिल बुढा मगरले यो फिल्मलाई निर्देशन गरेका छन् । फिल्मलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । शिशिर बिशंखेको छायांकन छ ।
प्रतिक्रिया 4