+
+
Shares

‘पलेँटी’ मा अग्रज गीतकार शिवशंकर थापाका रचना प्रस्तुत हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १६:१९
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आगामी २९ मेमा कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा आयोजना हुने साङ्गीतिक कार्यक्रम ‘पलेँटी’ मा गीतकार शिवशंकर थापाका गीति रचना प्रस्तुत गरिने भएका छन्।
  • यसपालिको पलेँटीमा कण्ठ-शिल्पी अभिज्ञा घिमिरे र रुपक चौधरीले गीतकार थापाका पुराना तथा नयाँ रचनाहरूलाई स्वर दिनेछन्।
  • स्वास्थ्यको प्रतिकूलताले गर्दा ढिलो गरी पलेँटीमा जोडिन पाउँदा आफूलाई निकै खुशी लागेको गीतकार थापाले बताउनुभयो।

काठमाडौं । प्रत्येक अंग्रेजी महिनाको अन्तिम शुक्रवार नेपालयको ‘आर’ शालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम ‘पलेंटी’ मा आगामी शुक्रबार सुप्रसिद्ध गीतकार शिवशंकर थापाका गीति रचना प्रस्तुत हुने भएका छन् ।

‘पलेँटी’ २१ वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु साङ्गीतिक कार्यक्रम हो । गीतकार थापा लामो समयदेखि झापाको विर्तामोडमा रहेर साहित्य साधना गरिरहेका शब्द-शिल्पी हुन् । शिवशंकर नेपाली साङ्गीतिक जगतका सम्पूर्ण नेपालीभाषी माझ स्थापित नाम हो ।

उनकाअधिकांश गीति रचनालाई गायक तथा सङ्गीतकार दीप श्रेष्ठले धुन भरेर गाएका छन् । श्रेष्ठले धुन भरेका गीतहरू- ‘भन्थी मेरी उनी’, ‘विधुवाले सिन्दूरको रहर’, ‘म त आकाशको जून हुँ’, ‘मेरो आँखामा हरदम’ लामो समयदेखि उत्तिकै लोकप्रिय रहँदै आएका छन् ।

उल्लेखित गीतका साथै गीतकार थापाले रचेका गीत- ‘हावासँगै बगुँ भन्छ’, ‘मेरो रहर ब्यूँझिएर’, ‘केही ल्याउन सकिनँ’, पनि उत्तिकै लोकप्रिय छन् । जसलाई सङ्गीतकार सुवर्ण लिम्बू र प्रकाश गुरुङले धुन भरेका हुन् ।

गीतकार थापाका अनुज पुस्ताका सङ्गीतकार आभासले पनि उनका शब्दमा भरखरै सहकार्य गरेका छन् । ‘म त अक्षरको मान्छे हुँ, शिरदेखि पढ या पाउदेखि पढ’ बोलको गीतलाई पलेँटीका कण्ठ–शिल्पीले पहिलोपटक मञ्चमा प्रस्तुत गर्नेछन् । यसका साथै कार्यक्रममा सङ्गीतकार बलराम समाल, युवराज पोर्तेल, मणी बर्देवाले धुन भरेका रचना पनि प्रस्तुत हुनेछन् ।

यसपालीको ‘पलेँटी’ मा कण्ठ-शिल्पी अभिज्ञा घिमिरे र रुपक चौधरीले शिवशंकर थापाका सम्पूर्ण रचनाहरूलाई आफ्ना कण्ठले गुञ्जायमान बनाउने छन् ।

यसका निम्ति काठमाडौं आइपुगेका गीतकार शिवशंकर थापा भन्छन्, ‘पलेँटीमा सहभागी हुन पहिलेदेखि नै अनुरोध भएको हो । स्वास्थ्यको प्रतिकूलताले गर्दा, बल्ल मौका जुर्‍यो । जीवनको उत्तरार्धमा यस कार्यक्रमसँग जोडिन पाउँदा खुशी लागेको छ । पलेँटीले स्रष्टालाई मञ्चमा उतारेर उच्चतम सम्मान गर्दै आएको छ । यो लहरमा मिसिन पाएँ; आभारी छु ।’

यसपालीको कार्यक्रमबारे पलेँटीका संयोजक आभास भन्छन्, ‘सानै उमेरदेखि म शिवदाइका शब्दको फ्यान हुँ ! उहाँसँग तीन दशक पहिले नै साङ्गीतिक सङ्गत गरेको अनुभव समेत छ मसँग । त्यसलाई पलेँटीमार्फत् ताजा गराउन पाएकोमा औधी खुशी लागेको छ ।

‘पलेँटी’ कार्यक्रम यही मे महिनाको अन्तिम शुक्रबार, २९ तारिखका दिन आयोजना हुनेछ । कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा हुने यस कार्यक्रमको टिकेट पलेँटीको आधिकारिक वेबसाइटमा प्रवेश गरेर अनलाइनबाट नै प्राप्त गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?