+
+
Shares

राष्ट्रिय सभामा सांसदको एकै स्वर : प्रधानमन्त्री बालेनको अभिव्यक्ति आपत्तिजनक

राष्ट्रिय सभा सदस्यहरूले एक स्वरले प्रधानमन्त्री बालेन शाहको सीमा विवादबारेको अभिव्यक्तिमा आपत्ति प्रकट गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १४:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहको सीमासम्बन्धी विवादित अभिव्यक्तिप्रति राष्ट्रिय सभाका सांसदहरूले कडा आपत्ति जनाउँदै संसदमा विरोध प्रदर्शन गरेका छन् ।
  • सांसदहरूको विरोध र अवरोधका कारण राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले बैठक २० मिनेटका लागि स्थगित गर्नुभयो ।
  • नेपाली कांग्रेसले नेपालले भारतको जग्गा मिचेको तथ्य सार्वजनिक गर्न प्रधानमन्त्रीलाई २४ घण्टाको अल्टिमेटम दिएको छ ।

१८ जेठ, काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले एक स्वरले प्रधानमन्त्री बालेन शाहको सीमा विवादबारेको अभिव्यक्तिमा आपत्ति प्रकट गरेका छन् ।

सोमबार बैठक सुरु भए लगत्तै सबै दलका सांसदहरू उठे । राष्ट्रिय सभाका अध्यक्ष नारायाण दाहालले आकस्मिक समयमा बोल्न दिने बताए ।

त्यसपछि बोल्ने सबैले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध जनाए । आकस्मिक समय सकिए लगत्तै सभाध्यक्षले सभालाई कार्यसूचीमा अगाडि बढाउन खोजे । तर सांसदहरूले दिएनन् ।

फेरि पनि सभामा उपस्थित सबै सांसदहरू उठे । सांसदहरू उठिरहेपछि सभाध्यक्ष दाहालले २० मिनेटका लागि बैठक स्थगित गरे ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।

त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’

यस्तो अभिव्यक्तिका साथ उनले अब दुइटै देशले अध्ययन गरेर र छलफलमा बसेर एउटा साथीको रूपमा समस्या समाधान गर्ने सोच राखेको बताएका थिए ।

यसको विरोध गर्दै विपक्षी दलहरूले सभालाई कार्यसूचीमा प्रवेश गर्न नदिएका हुन् । सभाको बैठक स्थगित हुनु अगाडि बोल्ने सांसदहरूले प्रधानमन्त्रीसँग विवादित अभिव्यक्तिबारे जवाफ दिनुपर्ने आग्रह गरेका छन् ।

नेपाली कांग्रेसले नेपालले भारतको जग्गा मिचेको तथ्य सार्वजनिक २४ घण्टे नै अल्टिमेटम दिएको छ । पार्टीका तर्फबाट बोल्दै सांसद रन्जित कर्णले यस्तो अल्टिमेटम दिएका हुन् ।

‘हिजो प्रधानमन्त्रीजीले प्रतिनिधिसभाको रोष्ट्रममा उभिएर नेपालले भारतको केही जग्गा मिचेको कुरा स्वीकार गर्नुभयो’ सांसद कर्णले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु – २४ घण्टाभित्र नेपाल सरकारले भारतको कुन–कुन ठाउँमा जग्ग मिचेको जानकारी गाराउन आग्रह गराउन चाहन्छु ।’

अन्यथा, जनतासँग माफी माफी माग्नुपर्ने उनको आग्रह छ । उनले भनेका छन्, ‘यदि तथ्य उपलब्ध गराउन सक्नु भएन भने उहाँले जनताको मागमा सार्वजनिक रूपमा माफी माग्नुपर्छ ।’

कांग्रेसले प्रधानमन्त्री बालेनको सीमा विवादबारेको अभिव्यक्तिउपर छानबिन समिति गठनको माग समेत राखेको छ ।

‘आज यो राष्ट्रिय सभाले विशेष निर्णय गर्नुपर्ने हुन्छ । सम्माननीय प्रधानमन्त्रीजीले बोलेको कुराको कारण के हो ? यसकोबारे छानबिन समिति गठन गर्न म माग गर्दछु,’ उनले भने ।

नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री बालेनलाई सीमा विवादबारे विवादित अभिव्यक्ति दिनुको कारण के हो भनेर सोधेको छ ।

पार्टीका तर्फबाट बोल्दै नेकपाकी सांसद राजेन्द्रलक्ष्मी गैरेले नेपालको इतिहासमा पहिलो पटक नेपालको संसद्बाट भारतको वकालत गरेको पहिलो पटक सुनिएको बताइन् ।

‘नेपालको प्रधानमन्त्री बालेन शाहले कुन आधारमा उक्त धारणा व्यक्त गर्नुभएको हो ? स्पष्ट पार्न र यसबारे जवाफ माग गर्न चाहन्छु’ उनले भनेकी छन् ।

नेपालको संसद्‍बाट भारतको वकालत गर्ने काम दोशद्रोही काम भएको उनले बताइन् । नेपालको ६५ हजार बढी हेक्टर जमिन भारतले मिचेको उनले बताइन् ।

‘नेपालको प्रधानमन्त्रीले भारतको पक्षमा बोल्नु भनेको के भारतलाई खुसी बनाउन खोजेको हो’ उनको प्रश्न छ, ‘नेपालको अस्तित्व गुमाउनेको निम्ति कसैले पहल नगरे हुन्छ ।’

संवैधानिक लोकतान्त्रिक गणतन्त्रमा बसेर बोल्न पाइने तर राष्ट्रियताको विषयमा अन्यथा बोल्न नपाइने उनले बताइन् ।

नेकपा एमालेले प्रधानमन्त्री शाहको सीमा विवादबारेको अभिव्यक्तिले स्वाभिमानी नेपालीको शिर निहुरिएको टिप्पणी गरेको छ ।

पार्टीका तर्फबाट बोल्दै एमालेकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्रीको अभिव्यक्तिले लज्जावोध भएको बताइन् ।

‘हामीलाई लज्जावोध भएको छ । यस्तो प्रधानमन्त्रीले नेपालको स्वाभिमान, नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डतालाई रक्षा गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको छ’ उनले भनिन् ।

राष्ट्रिय जनमोर्चाका सांसद तुल प्रसाद विश्वाकर्माले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राष्ट्रघाती अभिव्यक्तिको संज्ञा दिए । यस्तो अभिव्यक्ति सच्याएर अगाडिद बढ्नुको विकल्प नरहेको उनको आग्रह छ ।

सांसदहरूको यस्तो आग्रह र अडानका कारण सभा कार्यसूचीमा प्रवेश गर्न नसकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?