+
+
Shares

सुधन गुरुङमाथि छानबिन गर्ने म्याद ५ दिन थपियो

आजदेखि लागु हुनेगरी पाँच दिनको समय थप भएको छानबिन समितिका अध्यक्ष अच्युतमप्रसाद भण्डारीले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १२:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिको म्याद थप ५ दिन बढाइएको छ ।
  • पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा गठित समितिले म्याद अपुग भएपछि थप समय माग गरेको थियो ।
  • व्यवसायी दीपक भट्टसँग साझेदारी र सम्पत्ति विवरणमा सेयर लुकाएको आरोप लागेपछि गुरुङले ९ वैशाखमा राजीनामा दिएका थिए ।

१९ जेठ, काठमाडौं । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङमाथि छानबिन गर्न थप पाँच दिनको समय थपिएको छ ।

आज मंगलबारदेखि लागु हुनेगरी पाँच दिनको समय थप भएको छानबिन समितिका अध्यक्ष अच्युतमप्रसाद भण्डारीले बताए ।

‘म्याद अपुग भएकाले हामीले पाँच दिनको समय माग गरेका थियौं । पाँच दिन म्याद थप भएको पत्र प्राप्त भएको छ । अबको पाँच दिनभित्र छानबिन सकाएर प्रतिवेदन बुझाउछौं,’ भण्डारीले अनलाइनखबरसँग भने ।

समितिले गुरुङसँग बयानसमेत लिइसकेको छ । बयान लिनुअघि समितिले उनीमाथि लागेका आरोपबारे सम्बन्धित क्षेत्रसँग बुझ्नेदेखि सम्पत्ति विवरण केलाएर अध्ययन गरेको बताएको छ ।

मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको थियो ।

समितिलाई दिइएको १५ दिनको समय दिइएको थियो । उक्त समय हिजो सोमबार सकिएको छ । आजबाट थप पाँच दिनको समय लागु भएको छ ।

के हो सुधनमाथिको आरोप ?

सम्पत्ति शुद्धीकरणको कसुरमा व्यवसायी दीपक भट्ट १९ चैतमा काठमाडौंबाट पक्राउ परे । उनी अहिले पनि प्रहरी हिरासतमै छन् । हिरासतमा रहेका व्यवसायी भट्टसँग साझेदार देखिएपछि गुरुङ विवादमा तानिएका थिए ।

सम्पत्ति विवरण सार्वजनिक गर्दा सेयर लुकाएको, विवादास्पद व्यापारीको कम्पनीमा सेयर देखिएको जस्ता विषय सार्वजनिक भएपछि ९ वैशाखमा गुरुङले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए । उनले बुझाएको सम्पत्ति विवरण, जग्गा, सुन लगायतका विषयमा अनेक टीकाटिप्पणी भएका थिए ।

राजीनामा दिँदै गुरुङले फेसबुकमा लेखेका थिए, ‘पछिल्ला दिनहरूमा नागरिक स्तरबाट सेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु । मेरा लागि पदभन्दा ठूलो नैतिकता हो । जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन । मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् ।’

छानबिन होस् भन्दै गुरुङले राजीनामा दिएको २० दिनपछि ३१ वैशाखमा सरकारले छानबिन समिति बनाएको थियो । आफूमाथि आरोप लागेपछि गुरुङले मन्त्री पदबाट राजीनामा दिएका थिए । त्यस यता गृह मन्त्रालय प्रधानमन्त्रीकै मातहत रहेर चल्दै आएको छ । छानबिन समितिले निर्दोष ठहराए गुरुङ पुनः गृहमन्त्री बन्न सक्ने चर्चा पनि उत्तिकै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?