News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र साहले संसदमा माफी माग्नुपर्ने बताएका छन्।
- प्रधानमन्त्रीको अभिव्यक्तिले देशको भौगोलिक अखण्डता र सार्वभौम सत्तामा खतरा पुग्ने अध्यक्ष राईले उल्लेख गरे।
- भारतलाई रिझाउने हिसाबले प्रधानमन्त्रीले अभिव्यक्ति दिएको हुनसक्ने शंका राईले व्यक्त गरे।
१९ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र साहले संसदमा आएर माफी माग्नुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री साहले दिएको अभिव्यक्ति राष्ट्रहित विपरित भएकोले माफी माग्नुपर्ने बताएका हुन् ।
भारतलाई रिझाउने हिसाबले बोलेको हो की भन्ने शंका उत्पन्न भएको उनको भनाइ छ ।
‘उहाँले बोल्नुभएको सरासर गलत छ, कार्यकारी प्रमुखले त्यो तरिकाले बोल्न हुन्न । उहाँले जे बोल्नु भएको छ, त्यसले हाम्रो देशको भौगोलिक अखण्डता, सार्वभौम सत्ता, सुरक्षामाथी नै खतरा हुने देखिन्छ,’ उनले भने, ‘त्यो बोलिसकेपछि विभिन्न ठाउँहरूमा भारतीय सेनाहरू हातहतियार लिएर प्रवेश गरे, विभिन्न खालको योजनाहरू रोकिए, भन्ने कुराहरू आइरहेको छ । उहाँले आफ्नो गलत भनाइलाई सच्याउँदै सदनमा माफी माग्नुपर्छ ।’
प्रधानमन्त्री साहको ‘नेपालले भारतको सीमा मिचेको रहेछ’ भन्ने अभिव्यक्तिले देशको भौगोलिक अखण्डता, सार्वभौम सत्ता, सुरक्षामाथि नै खतरा हुने देखिएको उनको भनाइ छ ।
‘प्रधानमन्त्रीजस्तो मान्छे कसरी चिप्लिनुभयो होला र ? त्यसरी चिप्लिन पाइन्छ र भन्ने कुरा हो । अर्को कुरा मलाइ अचम्म लाग्छ, तालिकामा हाम्रो बैठक थिएन, १७ गते थिएन, आइतबार विदाको दिन संसद राख्नुभएछ, उहाँ बोल्नुभएछ । सायद रविजी १८ गते भारत जाँदै गर्ने कारणले पनि आकस्मिक बैठक बोलाउनुपर्ने भयो की ? त्यो पनि हुनसक्छ,’ उनले भने ।
प्रतिक्रिया 4