+
+
Shares

साढे ३८ लाख घुस लिएको ठहरसहित प्रदेश सांसदलाई चार वर्ष कैद सजाय

विशेष अदालतले प्रदेश सांसद सिंहले आफ्नो खातामा बुझेको ३८ लाख ५० हजार रुपैयाँ पनि जफत गर्नुपर्ने आदेश गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १४:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विशेष अदालतले घुस मुद्दामा मधेश प्रदेशका सांसद सरोज सिंहलाई चार वर्ष एक महिना कैद र ३८ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।
  • सांसद सिंहले उपभोक्ता समितिको विकास बजेट मिलाइदिएबापत एक तिहाइ हिस्सासम्म घुस लिएको पुष्टि भएको छ ।
  • विशेष अदालतले उनीबाट १ लाख ५४ हजार रुपैयाँ क्षतिपूर्ति असुल गरी पीडित राहत कोषमा बुझाउनसमेत आदेश दिएको छ ।

२१ जेठ, काठमाडौं । योजना छनोटमा बजेटको एक तिहाइसम्म घुस मागेको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका मधेश प्रदेशसभाका सांसद सरोज सिंह दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू उमेश कोइराला र विदुर प्रसाद कोइरालाको इजलासले घुस लेखदेनको मुद्दामा सिंहलाई दोषी ठहर गरेको हो ।

दुई साताअघि नै दोषी ठहर भएका सिंहमाथि सजाय निर्धारण गर्दै विशेष अदालतले चार वर्ष कैद एक महिना कैद र ३८ लाख ५० हजार रुपैंया जरिवानाको फैसला सुनाएको हो ।

उनलाई कसुरबापत चार वर्षको कैद सजाय तोकिएको हो भने विशिष्ट पदमा बसेर कसुर गरेको आरोपमा थप एक महिनाको कैद फैसला भएको हो ।

विशेष अदालतले प्रदेश सांसद सिंहले आफ्नो खातामा बुझेको ३८ लाख ५० हजार रुपैयाँ पनि जफत गर्नुपर्ने आदेश गरेको हो । विशेष अदालतले उनीबाट एक लाख ५४ हजार रुपैंया क्षतिपूर्ति शुल्क असुलेर पीडित राहत कोषमा दाखिला गर्न आदेश दिएको छ ।

के आरोप थियो ?

विभिन्न क्षेत्रका उपभोक्ताहरूलाई बजेट मिलाइदिन भूमिका खेलेका मधेश प्रदेशसभाका सदस्य सरोजकुमार सिंहको त्यसबापत उनीहरूसँग बजेटको एक तिहाई हिस्सासम्म घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

अख्तियारले आठवटा उपभोक्ता समितिको हिसाबकिताब र कारोबारको परीक्षण गर्दा विकास बजेटको एक तिहाई हिस्सा सोझै घुसको रुपमा खातामा ट्रान्सफर भएको भेटेको हो । सिंहको सहजीकरणमा गठन भएका र उनले नै बजेट मिलाइदिएको आठ वटा उपभोक्ता समितिमाथि अख्तियारले सुरुमा अनुसन्धान गरेको थियो ।

मधेश प्रदेशको कञ्चनियमाई मन्दिर निर्माणका लागि उपभोक्ता समितिमा ६ लाख ५ हजार रुपैयाँ विनियोजन भएको थियो । भोलिपल्ट नै प्रदेश सांसद सरोज कुमार सिंहले १ लाख ५१ हजार र उनका स्वकिय सचिव विनोद लाल कायस्थले ४ लाख ५४ हजार आफ्नो नाममा निकालेको भेटिएको थियो ।

अधुरो कमलामाई मन्दिर निर्माणमा ९ लाख ३१ हजार रुपैयाँ विनियोजन भएकोमा २ करोड १४ लाख रुपैयाँ घुस बापत सांसद सिंहको खातामा जम्मा भएको छ । धर्मशाला निर्माणमा १४ लाख ५५ हजार छुट्याइएकोमा एक लाख ८५ हजार घुस छुट्याएको भेटिएको थियो ।

महरा सिस्वा–४ मा अधुरो बर्थिङ सेन्टर निर्माण गर्दा उनीहरूले ४ लाख ५८ हजार रुपैयाँ कमिसन लिएको अख्तियारको दाबी थियो । अर्को बर्थिङ सेन्टर निर्माणमा आउने २४ हजार रुपैयाँ कमिसन समेत उनीहरूले छाडेका छैनन् । मन्दिर निर्माण, सडक मर्मत र बर्थिङ सेन्टर(स्वास्थ्य चौकीको स्तरोन्नती) जस्ता सामाजिक तथा धार्मिक कामबाट समेत उनीहरूले आफ्नो खातामा कमिसन लिएको अख्तियारको आरोप थियो ।

अख्तियारको दाबी अनुसार, २०७४ सालदेखि ८२ सालसम्म सरोज कुमार सिंहको खातामा करिब पाँच करोड रुपैयाँ जम्मा भएको छ भने उनले ७४ हजार बाँकी राखेर सबैजसो पैसा निकालेका थिए । अख्तियारले शंकास्पद १२ करोड रुपैंयाको कारोवारको स्रोत नखुलेको भन्दै बाँकी ७१ वटा उपभोक्ता समितिको कारोवारमाथि अनुसन्धान थालेको थियो ।

अख्तियारले प्रदेश सांसद सरोजकुमार सिंहका स्वकिय सचिव(पीए) विनोदकुमार लाल कायस्थको घरमा छापा मारेको थियो । सांसद सिंहले कमिसन लिएको विवरण र बैंकमा डिपोजिट गरिएको भौचरहरू फेला परेको थियो ।

उपभोक्ता समितिका पदाधिकारीहरूले खोल्नुपर्ने बैंक खाता नै कायस्थले खोलिदिएको भेटिएको थियो । कतिपय कमिसन उनले आफैले नगद लिएर बैंकमा डिपोजिट गरेको भेटिएको थियो । बैंक खातामा आएको रकम सांसद सिंहले पाटनढोका, जनकपुर र भारतमा पुगेर एटीएमबाट निकालेको अनुसन्धानबाट खुलेको थियो ।

राष्ट्रबैंकको वित्तिय जानकारी ईकाई(एफआइयु)ले ‘११ वटा उपभोक्ता समितिहरू मध्ये ८ वटा उपभोक्ता समितिहरूको खाताबाट सरोज कुमार सिंह/सरिता कुमारी महतो सिंहको संयुक्त खातामा रकम देखिन्छ’ भनी त्यस्तो कारोबारलाई शंकास्पद भनेको थियो ।

अख्तियारले प्रदेश सांसद सिंह, उनका पीए कायस्थ लगायतको मोवाइल नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । कुनै बेला बढी र कुनैमा कम दररेट तोकिएपनि औसतमा कुल बजेटको ३० प्रतिशत हिस्सा सांसद सिंहलाई घुसका रुपमा भुक्तानी भएको अख्तियारको दाबी थियो ।

विशेष अदालतले गत ४ जेठमा नै सिंहलाई दोषी ठहर गरेको थियो । तर तीन वर्षभन्दा बढी सजाय हुने कसुरमा छुट्टै सुनुवाइ गर्नुपर्ने व्यवस्था अनुसार दुई दिनअघि सजाय निर्धारण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?