News Summary
Generated by OK AI. Editorially reviewed.- वर्ल्ड अफ डान्स नेपालको ग्रान्ड फिनालेमा सेलिब्रेटी जजका रूपमा सहभागी हुन चर्चित बलिउड कोरियोग्राफर टेरेन्स लुइस काठमाडौं आइपुगेका छन् ।
- विमानस्थलमा सञ्चारकर्मीसँग उनले सीमित स्रोतसाधनका बीच नेपाली कलाकारले विश्वस्तरीय नृत्य प्रस्तुत गर्ने क्षमता विकास गरेको भन्दै प्रशंसा गरे ।
- आज हुने ग्रान्ड फिनालेमा लुइससँगै किरण थापा र जेडी तमु निर्णायक रहनेछन् भने विभिन्न शहरका अडिसनबाट छानिएका प्रतिभाले प्रतिस्पर्धा गर्नेछन् ।
काठमाडौं । नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स नेपाल’ को ग्रान्ड फिनालेमा सेलिब्रेटी जजका रूपमा सहभागी हुन चर्चित बलिउड नृत्य निर्देशक तथा कोरियोग्राफर टेरेन्स लुइस काठमाडौं आइपुगेका छन्।
कार्यक्रमका कला निर्देशक जेडी तमु, राष्ट्रिय निर्देशक रोशन गहतराज लगायत आयोजक टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागत गरेको थियो।
विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै लुइसले नेपाल आउन पाउँदा आफूलाई निकै गर्व महसुस भएको बताए। उनले जेडी तमु आफ्नो उत्कृष्ट विद्यार्थी तथा एकेडेमीका ब्याच टपर रहेको स्मरण गर्दै नेपालमा आयोजना हुन लागेको ग्रान्ड फिनालेबाट उत्कृष्ट अनुभव प्राप्त हुने विश्वास व्यक्त गरे।
भारतमा रहँदा धेरै नेपाली नर्तकसँग काम गरेको अनुभव सुनाउँदै उनले नेपाली प्रतिभाको खुलेर प्रशंसा गरे। नेपाली कलाकारहरूले सीमित स्रोतसाधनका बीच पनि विश्वस्तरीय नृत्य प्रस्तुत गर्ने क्षमता विकास गरेको देख्दा आफू सधैँ प्रभावित हुने गरेको उनको भनाइ थियो।

भारतमा ‘कन्टेम्पररी डान्स’लाई लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेलेका मुम्बई निवासी लुइस बलिउडका सफल कोरियोग्राफरमध्ये एक मानिन्छन्। उनले ‘लगान’ र ‘झन्कार बिट्स’ जस्ता चर्चित चलचित्रमा कोरियोग्राफी गरेका छन्। साथै ‘डान्स इन्डिया डान्स’ र ‘इन्डियाज बेस्ट डान्सर’ जस्ता लोकप्रिय रियालिटी शोका निर्णायकका रूपमा पनि उनले व्यापक चर्चा कमाएका छन्।
सन् २००८ मा अमेरिकाको दक्षिणी क्यालिफोर्नियाबाट सुरु भएको ‘वर्ल्ड अफ डान्स’ हाल ५० भन्दा बढी देशमा विस्तार भइसकेको विश्वस्तरीय नृत्य मञ्च हो। यसलाई नेपालमा भित्र्याएर नेपाली प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा परिचित गराउने उद्देश्य आयोजकको रहेको छ।
आज हुने ग्रान्ड फिनालेमा लुइससँगै नेपालका चर्चित ‘वाइल्ड रिपर्ज क्रु’ का सदस्य किरण थापा र जेडी तमु निर्णायक मण्डलमा रहनेछन्। नेपालगञ्ज, बुटवल, पोखरा, काठमाडौं र इटहरीमा सम्पन्न अडिसनबाट छनोट भएका उत्कृष्ट प्रतिभाहरूले ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया 4