+
+
Shares

नागढुंगा–मुग्लिन सडकखण्डको कामले पुन: पायो तीव्रता

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २४ गते १३:५३

२४ जेठ, काठमाडौं । चर्को मूल्यवृद्धि र निर्माण सामग्रीको चरम अभावका कारण रोकिएको नागढुंगा–मुग्लिन सडकखण्ड विस्तारको काम पुन: सुरु भएको छ ।

राजधानी काठमाडौंको मुख्य ‘लाइफलाइन’ मानिने नागढुंगा–मुग्लिन सडक विस्तारको जिम्मा पाएको शर्मा एण्ड कम्पनीका डाइरेक्टर सौरभ शर्माले निर्माणका लागि अत्यावश्यक बिटुमिन ल्याइसकिएको र काम पुन: सुरु गरिएको जानकारी दिए । ‘१०२ टन बिटुमिन झरिसकेको छ । दुई–तीन दिनमा अरु पनि झर्छ र कामले झन् बढी तीव्रता पाउँछ,’ शर्माले भने ।

पश्चिम एसियामा जारी द्वन्द्वका कारण चर्को मूल्य वृद्धि भएको र भारतबाट ल्याइने बिटुमिन अभाव भएको भन्दै निर्माण कार्य प्रभावित भएको थियो ।

यसबीच निर्माण व्यवसायीहरुले भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल लगायतलाई भेटेर चर्को मूल्यवृद्धिका कारण परेका समस्या समाधानका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए । मन्त्री लम्सालले मूल्य समायोजनको आश्वासन दिएपछि निर्माण कार्य थाल्न निर्माण व्यवसायीहरु तयार भएका थिए ।

‘मन्त्रीज्यूले समायोजन हुने भनेर दिएको आश्वासनमा पूर्णविश्वास गरेर हामीले पुन: कामलाई तीव्रता दिएका छौं,’ शर्माले भने ।

नागढुंगादेखि मुग्लिनसम्मको ९५ किलोमिटर लामो सडकखण्डलाई पूर्व र पश्चिम खण्डमा विभाजन गरी लगाइएको ठेक्कामा अलग–अलग निर्माण कम्पनीहरुले काम गर्दै आएका छन् ।

मलेखुदेखि मुग्लिनसम्म (३८.८६ किलोमिटर) पश्चिम खण्ड र मलेखुदेखि नागढुंगासम्म (५५.७ किलोमिटर) पूर्वी खण्ड मानेर सडक विस्तार थालिएको हो । पूर्वी खण्डलाई पनि पहिलो र दोस्रो गरी दुई खण्डमा बाँडेर ठेक्का लगाइएको छ ।

पूर्वीखण्ड अन्तर्गत पहिलो खण्ड नागढुंगादेखि नौबिसेसम्मको १२.३४ किलोमिटरको भौतिक प्रगति ८५ प्रतिशत छ । यो खण्डको सबै भागमा पहिलो तहको कालोपत्र गरिएको छ, तर अन्तिम तह कालोपत्र गर्न बाँकी छ । यो खण्डमा पर्ने दुई वटा पुल नौबिसे र खत्रीपौवाको काम सकिएको छ । पहुँच मार्ग बनाउने काम जारी छ ।

पूर्वी खण्ड अन्तर्गत दोस्रो खण्ड नौबिसेदेखि मलेखुसम्मको भौतिक प्रगति करिब ६० प्रतिशत छ ।

पश्चिम खण्ड अन्तर्गत मलेखुदेखि मुग्लिनसम्मको ३८.८६ किलोमिटरलाई तेस्रो खण्ड मानेर सडक विस्तारको काम थालिएको थियो । यो खण्डको प्रगति करिब ४४ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?