+
+
Shares

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुक्खा क्षेत्रमा सिँचाइ

वडाध्यक्ष कुमार थापाले बर्सेनि खडेरीका कारण कृषि उत्पादनमा गिरावट आउन थालेपछि योजनाबद्ध सिँचाइ पोखरी निर्माण गरिएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २४ गते १५:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारमा ६ वटा पोखरी निर्माण भएसँगै करिब १,५०० रोपनी सुख्खा जमिनमा सिँचाइ सुविधा पुगेको छ ।
  • वडाध्यक्ष कुमार थापाले सुख्खा क्षेत्रमा पानीको दिगो व्यवस्थापन र कृषि विकासका लागि मुहानसहितका ठूला पोखरी निर्माण गरिएको बताए ।
  • सिँचाइ सुविधा विस्तार भएपछि स्थानीय किसान तरकारी, फलफूल र आलुजस्ता नगदेबाली खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

२४ जेठ, भोजपुर । पोखरी निर्माणपछि भोजपुरकाे अरुण गाउँपालिका–७ सिक्रेटारको सुख्खाग्रस्त क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ । पानीको अभावका कारण वर्षौँदेखि खेतीयोग्य जमिन बाँझै रहने समस्या समाधान गर्ने उद्देश्यसहित स्थानीय तहले पोखरी निर्माणको काम अघि बढाएको थियो ।

वडाध्यक्ष कुमार थापाले बर्सेनि खडेरीका कारण कृषि उत्पादनमा गिरावट आउन थालेपछि योजनाबद्ध सिँचाइ पोखरी निर्माण गरिएको बताए । हालसम्म यहाँ छ वटा पोखरी निर्माण गरिएका र त्यसबाट सिक्रेटार क्षेत्रका करिब एक हजार ५ सय रोपनी जमिनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सिँचाइ सुविधा विस्तार भएको उनले जानकारी दिए ।

वडाध्यक्ष थापाले भने, ‘सुख्खा क्षेत्रमा पानीको दिगो व्यवस्थापन नगरी कृषि विकास सम्भव हुँदैन । त्यसैले मुहानसहितका ठूला पोखरी निर्माण गरेका छौँ । यस कार्यले किसानलाई केही राहत भएको छ ।’

उनका अनुसार निर्माण गरिएका पोखरीलाई सिँचाइमा मात्र सीमित नराखी बहुउपयोगी बनाइएको छ । आगलागीजस्ता विपद्का समयमा पानीको स्रोतका रूपमा प्रयोग गर्न सकिने गरी संरचना तयार गरिएको छ । साथै, पोखरीबाट खेतबारीसम्म पानी पुर्‍याउन वडाले पाइप वितरण गर्दै आएको छ । यसले किसानलाई सिँचाइ पहुँचमा सहज बनाएको छ ।

‘पोखरी निर्माण अभियानलाई बहुआयामिक विकाससँग जोडेर अगाडि बढाइएको छ । पोखरी वरपरका क्षेत्र संरक्षण गर्दै वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको छ । भविष्यमा यी क्षेत्रलाई पर्यटकीय तथा मनोरञ्जन स्थलका रूपमा विकास गर्ने योजना छ’, वडाध्यक्ष थापाले भने ।

वडासचिव अशोक अधिकारीले यहाँको मैदानेमा दुई, दुंगेमा एक, सिक्रेटारमा एक र बेलटारमा दुई वटा पोखरी निर्माण सम्पन्न भएको बताए । यसबाहेक थप दुई वटा पोखरी निर्माणाधीन अवस्थामा रहेका उनले जानकारी दिए।

विशेषगरी हिउँदे बाली उत्पादनमा यसले प्रत्यक्ष प्रभाव पारेको छ । हाल यहाँका किसान बदाम, फलफूल तथा तरकारी, आलु, प्याज, टमाटरलगायत नगदेबालीतर्फ आकर्षित हुन थालेका छन् । स्थानीय प्रदीप थापाले पोखरी निर्माणसँगै गाउँको कृषि प्रणालीमा परिवर्तन आएको बताए ।

यसका साथै, पोखरी निर्माणले भू–क्षय नियन्त्रण, वातावरण संरक्षण र जैविक विविधता जोगाउन पनि सहयोग पुग्ने स्थानीय अम्बर थापाको विश्वास छ । सिँचाइ पोखरीले पानीको समस्या समाधान मात्र नभई कृषकको आयआर्जन वृद्धि, वातावरण संरक्षण तथा सम्भावित पर्यटन विकासका लागि नयाँ आधार तयार पारेको उनले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?