News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिष्ट आन्दोलनका मुख्य नेताहरू व्यक्तिगत हित र सत्ता प्राप्तिमा केन्द्रित हुँदा मार्क्सवादी सिद्धान्त र आदर्शबाट विचलित भएको विश्लेषण गरिएको छ ।
- जेन–जी आन्दोलन र पछिल्ला निर्वाचन परिणामहरूले कम्युनिष्ट नेतृत्वको अवसरवादी चरित्र उजागर गर्दै परम्परागत पार्टी एकताको भ्रम चिरिदिएका छन् ।
- नेपाललाई अहिले गणितीय पार्टी एकताको सट्टा विचार, नयाँ राजनीतिक संस्कृति र युवा नेतृत्वमा आधारित क्रान्तिकारी पुनर्जागरणको आवश्यकता छ ।
‘दार्शनिकहरूले अहिलेसम्म संसारको विभिन्न तरिकाले व्याख्या गरेका छन्, तर मुख्य कुरा त्यसलाई बदल्नु हो।‘
– कार्ल मार्क्स
मार्क्सवाद एक गतिशील परिवर्तनकेन्द्रित सामाजिक विज्ञान हो। विज्ञान, प्रविधि, उत्पादक शक्ति, उत्पादन सम्बन्ध तथा मानव समाजका समग्र पक्षमा निरन्तर परिवर्तन र विकास भइरहेका छन्। त्यसैले यी परिवर्तनहरूको मार्गदर्शन गर्ने मार्क्सवादी सिद्धान्त पनि समयानुकूल निरन्तर सिर्जनात्मक प्रयोग, परिमार्जन र विकास हुँदै जानुपर्छ। अन्यथा, मार्क्सवादलाई जस्ताको तस्तै बोकेर संसारको व्याख्यामै सीमित रहने कमरेड मोहन वैद्य (किरण) जस्तो आदर्श पात्र बन्न त सकिएला, तर नेपाल वा संसारलाई रूपान्तरण गर्न सकिंदैन।
सोभियत सङ्घमा लेनिनले र चीनमा माओले ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा आफ्ना देशका विशिष्टता अनुसार मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्नुभयो। फलस्वरूप, रूस र चीनमा क्रान्ति सम्पन्न मात्र भएन, मार्क्सवादको थप विकास समेत भयो। यही ऐतिहासिक र वैचारिक परम्पराको निरन्तरतामा नेपाली माओवादी धाराले पनि नेपालको ठोस परिस्थिति अनुसार मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्ने प्रयास गर्यो।
नेपालमा पनि दशवर्षे युद्धका क्रममा मार्क्सवाद–लेनिनवाद–माओवादलाई नेपाली विशेषता अनुरूप प्रयोग गरियो र सापेक्षिक रूपमा सफल पनि भयो। तर शान्ति प्रक्रियामा प्रवेश गरेपछि परिस्थिति बदलियो।
मेरो व्यक्तिगत अनुमान, मनोवैज्ञानिक दृष्टिले हेर्दा प्रधानमन्त्री बनेपछि प्रचण्डका लागि कम्युनिस्ट आन्दोलनमा लाग्नुको मूल उद्देश्य (अवचेतन रूपमा निर्माण भएको राजनीतिक लक्ष्य) पूरा भएको जस्तो देखियो।
उता संविधानसभाबाट संविधान बनेपछि, बाल्यकालदेखि नै राजतन्त्रका कट्टर विरोधी मनोविज्ञान बोकेका बाबुराम भट्टराईको प्रधानमन्त्री बन्ने अर्थात् सधैं पहिलो भूमिकामा रहने चाहना संविधान जारी भई गणतान्त्रिक व्यवस्था संस्थागत भएपछि (३ असोज २०७२) पूरा भयो।
राष्ट्र र जनताको आवश्यकता तथा आकाङ्क्षा पूरा गर्ने समाजवादी लक्ष्यभन्दा व्यक्तिगत अहम्, सुखसुविधा, सानमान, व्यक्तिगत करिअर (पद–प्रतिष्ठा) तथा शक्तिको जोड–घटाउ प्राथमिकतामा पर्दै जाँदा, उहाँहरूका लागि जीवनको उत्तरार्धमा कम्युनिस्ट सिद्धान्त र मार्क्सवादी आदर्श नै बोझिलो बन्दै गएको अनुभूत हुन्छ।
कालान्तरमा कम्युनिस्ट पार्टीका मुख्य नेताहरू गणतान्त्रिक संविधानको कार्यान्वयनका सन्दर्भमा सारतः वर्गविरोधी शक्तिहरूका सेवक तथा पार्टी पङ्क्ति र जनतामाथि शासकका रूपमा रूपान्तरित भएको परिदृश्य अत्यन्त विडम्बनापूर्ण र टिठलाग्दो छ।
त्यसपछि मार्क्सवादी सिद्धान्त र आदर्श अनुसार चल्न खोज्ने पात्र, प्रवृत्ति र शक्तिहरू पनि उहाँहरूलाई असहज लाग्नु स्वाभाविक थियो। पार्टीमा वैचारिक, सङ्गठनात्मक, कार्यशैली तथा विधि–पद्धतिको विषय उठाउँदै आएका नेता–कार्यकर्ताहरूलाई ‘नो इन्ट्री’ जस्ता शब्दहरूको प्रयोग हुनु पनि त्यसैको एउटा प्रमाण होइन र ?
संविधानसभा र गणतन्त्रको ऐतिहासिक यात्रा पूरा भएपछि उहाँहरूलाई नेतृत्वबाट बिदाइ नगर्दाका दुष्परिणाम आज पार्टी पङ्क्ति र जनताले भोग्न बाध्य भइरहेका छन्। किनकि उहाँहरूको प्रधानमन्त्री र गणतन्त्रसम्मको यात्रा पूरा भइसकेको थियो। अन्तिम लक्ष्य प्राप्त भएपछि उहाँहरूको च्याप्टर क्लोज हुनु नै थियो, भयो पनि।
यो यथार्थलाई समय छँदै बुझ्न र देख्न नसक्नु अन्य नेता–कार्यकर्ताहरूमा दूरदर्शिताको अभाव खड्कियो। यसर्थ क्रान्तिकारी शक्तिहरूले पार्टी पङ्क्ति र जनसमुदायमाझ आत्मालोचना र क्षमायाचना सहित गम्भीर आत्मसमीक्षा गर्नु आवश्यक छ।
मुख्य नेतृत्वको अवचेतन मनमा परेको गहिरो प्रभाव तथा अन्य नेताहरूमा रहेको आदर्शवाद, उदारता र सङ्कीर्णताको मिश्रित प्रभावका कारण २०६३ जेठ १५ (राजतन्त्रको व्यावहारिक अन्त्य) पछिका दिनमा वैचारिक आवरणभित्र हुर्किरहेको अस्वस्थ मनमुटावको सही निरुपण हुन सकेन। परिणामतः सङ्ख्याको भद्दा खेलमा प्रवेश गरियो।
जनताको त्याग र बलिदानको उचाइको तुलनामा परम्परागत संसदीय प्रणालीलाई मूलतः यथावत् राख्ने शासकीय स्वरूप, उत्पीडित जाति–समुदायहरूको पहिचान पर्याप्त रूपमा नझल्किने सङ्घीय संरचना तथा प्रकृतिप्रदत्त जमिनलाई मौलिक अधिकारको रूपमा निजी सम्पत्तिकै दायरामा राखेर भूमिसुधारको उपहास गर्ने एउटा कमजोर संविधान नेपाली जनताले प्राप्त गरे।
यस असफलताको प्रमुख कारणमध्ये एउटा- पार्टीभित्र मूल नेतृत्वप्रति कसैको आवश्यकताभन्दा बढी शङ्का र खोइरो खन्ने प्रवृत्ति तथा कसैको आवश्यकताभन्दा बढी तारिफ, बचाउ र अन्धविश्वासले आन्तरिक सन्तुलनलाई नराम्ररी खलबल्याउनु पनि थियो। यही अस्वस्थ अन्तरसङ्घर्षको फाइदा उठाउँदै विरोधी वर्गले एक नेतालाई अर्को नेताविरुद्ध प्रयोग गर्ने अवसर प्राप्त गर्यो।
पार्टीभित्र विरोध गर्ने नेताहरूको मनसाय मुख्य नेतृत्वलाई उत्तरदायी बनाउने भए पनि उनीहरू ‘विरोधी कित्ता’ र समर्थन गर्नेहरूको मनसाय पवित्र र सहयोग गर्ने भए पनि उनीहरू ‘चाकरीबाजको कित्ता’ मा जस्तो देखिनु विडम्बनापूर्ण परिवेश हो। फलस्वरूप रचनात्मक संश्लेषण र रचनात्मक निषेध अवरुद्ध भयो। यो सिलसिला रोकिएन।
यो अस्वस्थ माहोलमा समयसँगै पार्टीमा ख्रुश्चेभ र लिनपियाओ शैलीका गैरसर्वहारा प्रवृत्तिहरू हावी भए। परिणामतः शक्ति सङ्घर्षमा साधन–स्रोत जुटाइदिने, नेतृत्व रक्षाको बहानामा चरम चाकडी गर्ने, अवसरवादी र व्यक्तिगत महत्त्वाकाङ्क्षाले प्रेरित व्यक्तिहरू नेतृत्वका सबैभन्दा प्रिय पात्र बन्न पुगे।
विडम्बना के रह्यो भने, कम्युनिस्ट पार्टी र तिनका प्रमुख नेताहरूले भाषणमा मार्क्सवादको वकालत गरे पनि व्यवहार, आचरण र राजनीतिक अभ्यासमा भने वर्गसमन्वयका नाममा पूँजीवादी मूल्यमान्यतालाई अँगाल्न पुगे। विभिन्न बहाना देखाउँदै वर्गसङ्घर्षलाई भविष्यको विषय बनाइयो र मार्क्सवादका आधारभूत मान्यताबाट विचलित हुन कुनै आइतबार कुर्नुपरेन। अल्पकालीन हितका लागि दीर्घकालीन हितलाई बलि चढाइयो।
जोसँग, जतिखेर पनि गठजोड गर्न तयार रहने गैरसर्वहारा प्रवृत्तिलाई ‘गतिशील नेतृत्व’ को पगरी गुताइयो। परिणामतः मार्क्सवादको सही कार्यान्वयन र जीवन्त अभ्यास हुन सकेन। अभ्यासबाट परीक्षण, परिमार्जन र विकास हुने अवसर गुम्दा मार्क्सवाद नेपालमा गतिशील विज्ञानका रूपमा विकसित हुन पाएन। अन्ततः युद्धका क्रममा विकासोन्मुख रहेका नयाँ वैचारिक चिचिलाहरूलाई समेत निमोठ्ने काम भयो।
यही कारण नेपालको कम्युनिस्ट आन्दोलन आज लट्टाईबाट छुटेको चङ्गा जस्तै दिशाहीन र लक्ष्यविहीन बन्न पुगेको छ। आन्दोलन आफ्नो वैचारिक तथा राजनीतिक मार्गबाट विचलित भएको छ। सिद्धान्त र व्यवहार बीचको यस गम्भीर विच्छेदले आन्दोलनलाई बरालिएको अवस्थामा पुर्याएको छ, जसलाई पुनः सही दिशामा फर्काउनु सगरमाथाको चुचुरोमा पुग्नुभन्दा पनि कठिन चुनौती बनेको छ।
यतिखेर नेपालको वाम आन्दोलन इतिहासकै एक कठिन र संवेदनशील मोडबाट गुज्रिरहेको छ। यसले विगतका धेरै नकारात्मक रेकर्डहरू पार गर्दै अभूतपूर्व स्खलनको अवस्था भोगिरहेको छ। क्रान्तिकारी वाम धाराको पछिल्लो सङ्गठित अभिव्यक्ति माओवादी आन्दोलन थियो। यसको विघटन, विचलन र कमजोर बन्दै गएको अवस्थासँगै नेपालको समग्र कम्युनिस्ट आन्दोलन गम्भीर वैचारिक, राजनीतिक र सङ्गठनात्मक सङ्कटमा फसेको छ।
कसैले भन्थे- फर्सी पूरै खान योग्य छ, यसमा कुनै दाग छैन। कसैले भन्थे- अलिअलि बिग्रिएको छ, तर खानै नहुने त होइन। र कसैले भन्थे- यो कुहिसकेको छ, अब फालिदिनुपर्छ। तर जब फर्सी फुट्यो, दुर्गन्ध आफैं फैलियो र बहसको अन्त्य भयो।
जेनजी आन्दोलन र त्यसपछिका निर्वाचन परिणामहरू सतहमा आएपछि भ्रष्ट र चरम अवसरवादी बाहेक भ्रममा बाँचेका बचाखुचा मानिसहरू समेत भ्रममुक्त भए। यतिखेर वाक्पटुता र खुराफातीपनका बलमा नेता–कार्यकर्ता तथा जनतालाई गुमराहमा राख्ने नेतृत्वका कुकर्महरू पर्दाफास भएका छन्। नेतृत्वको वास्तविक चरित्र जनतासामु उजागर हुनु र भ्रमको कुहिरो हटेर यथार्थ स्पष्ट हुनु आफैंमा एउटा महत्त्वपूर्ण उपलब्धि हो।
विगतमा वामपन्थी तथा कम्युनिस्ट पार्टीहरू एउटै झन्डामा गोलबद्ध हुनुपर्छ भन्ने आवाज जनस्तरबाट बारम्बार उठ्ने गर्थ्यो। तर जेनजी आन्दोलन र सङ्घीय निर्वाचनपछि यस्तो आवाज लगभग उठ्नै छाडेको छ। यसको अर्थ, ‘कम्युनिस्ट पार्टीहरू सारतः विघटन भइसकेका छन्’ भन्ने जनधारणाले बल पाउन थालेको यथार्थको प्रतिबिम्बन हो।
आज स्वरूपमा मात्र पार्टीहरू फरक–फरक छन्, तर सारमा प्रायः फरक देखिंदैन, उन्नाइस र बीसको फरक मात्र हो। पार्टीहरू वैचारिक र सङ्गठनात्मक रूपमा छ्यालब्याल भइसकेपछि फैलिएको दुर्गन्धले नेता–कार्यकर्ता र जनता आक्रान्त छन्। यही वर्तमान यथार्थ हो। फलस्वरूप, विचारविहीन कम्युनिस्ट पार्टीहरू र भूमिकाविहीन पदहरूको जोडघटाउबाट आफ्नो स्वार्थ पूरा गर्न खोज्ने अवसरवादी नेता–कार्यकर्ताले ‘एकता’ का नाममा चलाउँदै आएको राजनीतिक पसल क्रमशः ग्राहकविहीन बन्दै गएको छ।
तर अर्कोतर्फ, विभिन्न कम्युनिस्ट पार्टी र समग्र वाम आन्दोलनसँग आबद्ध इमानदार तथा क्रान्तिकारी शक्तिहरू गम्भीर आत्मसमीक्षा र चिन्तनमननमा जुटेका छन्। ‘चरम अवसरवाद, वैचारिक विचलन र नेतृत्वको अक्षमताले पार्टी र आन्दोलनलाई आजको सङ्कटपूर्ण अवस्थामा पुर्याएको हो’ भन्ने निष्कर्ष समाजमा व्यापक रूपमा स्थापित हुँदै गएको छ।
यस परिप्रेक्ष्यमा, समग्र कम्युनिस्ट आन्दोलनले व्यहोरेको यस अकल्पनीय क्षतिको क्षतिपूर्ति गर्न विभिन्न पार्टीहरूमा बाँकी रहेका क्रान्तिकारी शक्तिहरूको ध्रुवीकरण र केन्द्रीकरण आवश्यक भएको आवाज जनस्तरबाट उठ्न थालेको छ। जनताको यस प्रकारको चाहना र आवाजलाई सम्मान गर्दै क्रान्तिकारी शक्तिहरूले त्यस दिशामा पहल लिनु आजको एक अत्यन्त ज्वलन्त कार्यभार बनेको छ।
हामीले स्पष्ट गर्नैपर्छ- हाम्रो उद्देश्य केवल पार्टीहरूको अङ्कगणितीय एकता हो वा कम्युनिस्ट आन्दोलनलाई वैचारिक र सङ्गठनात्मक पुनर्जागरण प्रदान गर्ने ऐतिहासिक पहल ?
नेपाललाई आज अर्को यान्त्रिक पार्टी एकताको होइन, विचार, संस्कृति, नैतिकता र नयाँ पुस्ताको नेतृत्वमा आधारित क्रान्तिकारी पुनर्जागरणको आवश्यकता छ। पार्टीहरू जोड्नु ठूलो कुरा होइन, आन्दोलनलाई नयाँ जीवन दिनु ठूलो कुरा हो। सबै पार्टीहरूमा अवसरवादी प्रवृत्ति हावी भए पनि, प्रत्येक धाराभित्र अझै इमानदार र क्रान्तिकारी शक्ति बाँकी छन्। ध्रुवीकरणको आधार तिनै शक्ति हुनुपर्छ।
तर यहाँ केही आधारभूत प्रश्नहरूमा स्पष्ट हुनु अनिवार्य छ- हामी कस्तो ध्रुवीकरण खोजिरहेका छौं ? तत्काल यसको नेतृत्व कसले गर्छ ? यसको वैचारिक आधार के हुन्छ ? र यो प्रक्रिया कस्तो विधि, राजनीतिक संस्कृति तथा सङ्गठनात्मक अभ्यास मार्फत अगाडि बढाइन्छ ?
यी प्रश्नहरूको स्पष्ट उत्तर विनाको ध्रुवीकरण केवल अर्को अङ्कगणितीय एकतामा सीमित हुन सक्छ। त्यसैले वाम ध्रुवीकरणको आवश्यकता, वैचारिक आधार, कार्यविधि र सम्भावनाबारे गम्भीर राष्ट्रिय बहस प्रारम्भ गर्नु आजको ऐतिहासिक आवश्यकता बनेको छ।
२००८ सालको भीमदत्तको सशस्त्र विद्रोह, २००९/१० सालको रौतहट किसान आन्दोलन, २०२८ सालको झापा विद्रोह, २०३५/३६ सालमा सिन्धुली केन्द्रित जनकपुर अञ्चलको सङ्घर्ष, २०५२ सालमा विश्वलाई समेत तरङ्गित बनाएको महान् जनविद्रोह, जनआन्दोलन तथा अन्य विभिन्न वर्गसङ्घर्षहरू र छोटो समयमै नेपाली समाजमा व्यापक उथलपुथल ल्याएको जेनजी (२०८२) आन्दोलनका अनुभवहरूले नेपालमा मार्क्सवादको सिर्जनात्मक विकासका लागि महत्त्वपूर्ण आधार तयार गरेका छन्।
यिनै ऐतिहासिक अनुभव र उपलब्धिहरूको जगमा टेकेर अगाडि बढ्ने साहस गर्न र जेन-जी पुस्ताका युवाहरूलाई आकर्षित गर्ने वैचारिक तथा राजनीतिक वातावरण निर्माण गर्न सकियो भने नेपालमा समाजवादी क्रान्तिलाई नयाँ उचाइमा पुर्याउन मात्र होइन, नेपालको कम्युनिस्ट आन्दोलनले विश्व समाजवादी आन्दोलन र मार्क्सवादको विकासमा समेत नयाँ आयाम थप्न सक्छ।
त्यसैले निराश हुनु आवश्यक छैन। मार्क्सवादको विकास सधैं सोझो रेखामा हुँदैन; यो अन्तर्विरोध, सङ्घर्ष, सफलता र असफलताका जिगज्याग प्रक्रिया मार्फत अगाडि बढ्ने गर्दछ।
कमरेड पुष्पलालले २०१९ सालपछि विघटित र विभाजित अवस्थामा पुगेको कम्युनिस्ट आन्दोलनलाई पुनः वैचारिक आधारमा सही दिशामा उभ्याउने ऐतिहासिक भूमिका निर्वाह गर्नुभएको थियो। आज पनि, प्रतीकात्मक अर्थमा, जेन–जी युवाहरूलाई नेतृत्वको अग्रपङ्क्तिमा ल्याउन सक्ने दूरदृष्टि, साहस र वैचारिक स्पष्टता भएको ‘नयाँ पुष्पलाल’ को आवश्यकता महसुस भइरहेको छ।
यतिखेर यहीभन्दा उज्यालो र यथार्थपरक अर्को बाटो देखिएको छैन। यसको विकल्प व्यक्तिगत स्वार्थकेन्द्रित जोडघटाउमा आधारित कथित कम्युनिस्ट पार्टीहरू बीचको अङ्कगणितीय एकता हुन सक्दैन। आवश्यक कुरा वैचारिक स्पष्टता, क्रान्तिकारी शक्तिहरूको ध्रुवीकरण, नयाँ राजनीतिक संस्कृति र आन्दोलनको सङ्गठनात्मक पुनर्जागरण हो। यसको वस्तुगत आधार र जनआकाङ्क्षा आज प्रायः सबै कम्युनिस्ट पार्टीभित्र भुसको आगो झैं सल्किरहेको विद्रोही चेतनाका रूपमा सतहमा प्रकट हुन थालेको छ।
यो क्रान्तिकारी पुनर्जागरणको शुभसङ्केत हो। मार्क्सवादका असङ्ख्य सत्यहरूमध्ये एउटा आधारभूत सत्य माओ त्सेतुङले यसरी व्यक्त गरेका छन्- ‘विद्रोह गर्नु अधिकार हो।’
प्रतिक्रिया 4