News Summary
Generated by OK AI. Editorially reviewed.- राजनीतिक नेतृत्वमा ज्ञान, इमानदारी र चातुर्य तीन गुण अपरिहार्य हुन्छन् र यी गुण बिना सक्षम नेतृत्व सम्भव छैन।
- नेतृत्व पद होइन, विचार, साहस, पहल र प्रभावबाट स्थापित हुन्छ र पदमा नभएको व्यक्ति पनि नेता हुन सक्छ।
- नेतृत्व केवल पदको अधिकार प्रयोग होइन, समाजलाई नयाँ दिशा दिने क्षमता र कठिन परिस्थितिमा सही पक्षमा उभिने प्रतिबद्धता हो।
राजनीतिक नेतृत्वमा तीन गुण— ज्ञान, इमानदारी र चातुर्य अपरिहार्य हुन्छन्। यी गुणहरूको अभावमा सबल र सक्षम नेतृत्व अगाडि आउन सक्दैन। त्यसैले यी तीनै गुणले सम्पन्न नेतृत्व विरलै पाइन्छ। माओ जे दुङ्ले चिनियाँ किंवदन्तीका पात्र ‘छुके ल्याङ’ जस्ता व्यक्तित्व व्यवहारतः पाउन कठिन हुने बताएका छन्। यही कारणले कम्युनिष्टहरू सामूहिक नेतृत्व प्रणालीमा विश्वास गर्छन्।
राजनीतिमा पद र नेतृत्व एउटै कुरा होइनन्। पद भनेको संस्थागत संरचनाभित्रको औपचारिक जिम्मेवारी हो, तर नेतृत्व भनेको समाज र इतिहासको आवश्यकतासँग जोडिएको वास्तविक भूमिका हो। त्यसैले पदमा बसेको मानिस स्वतः नेता हुँदैन, र पदमा नभएको मानिस नेता हुन सक्दैन भन्ने पनि होइन। अन्ततः नेतृत्व विचार, साहस, पहल र प्रभावबाट स्थापित हुन्छ।
नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासले पनि यही कुरा पुष्टि गर्छ। विशेषगरी जनविद्रोहको समयमा धेरै नेताहरू पदका कारण होइन; आफ्नो भूमिका, प्रतिबद्धता र जनतासँगको सम्बन्धका कारण स्थापित भएका थिए। त्यतिबेला पदभन्दा आन्दोलनको उद्देश्य र विचार नै नेतृत्वको वास्तविक आधार बनेको थियो।
विश्व राजनीतिक इतिहासमा पनि यस्ता अनेक उदाहरण छन्, जहाँ व्यक्तिहरूले औपचारिक राज्यसत्ता सम्हालेका थिएनन्, तर उनीहरूको वैचारिक र राजनीतिक प्रभाव अत्यन्त गहिरो थियो।
कतिपयले कहिल्यै सरकारको पद सम्हालेनन्, तर उनका विचारहरूले विश्व कम्युनिष्ट आन्दोलनको बौद्धिक आधार निर्माण गरे। यसले स्पष्ट देखाउँछ– नेतृत्वको वास्तविक स्रोत पद होइन, विचार र भूमिका हो।
जसरी र जे गरेर पनि पद प्राप्त गर्नु र नछाड्नु नै लक्ष्य हो भन्ने सोच गलत हो। त्यस्तै, पद र भूमिकाप्रति पूर्ण उदासीन हुनु पनि उचित होइन। स्वस्थ महत्त्वाकांक्षा सकारात्मक हुन्छ, जसले मानिसलाई ठूलो जिम्मेवारी लिन, जोखिम उठाउन र परिवर्तनका लागि पहल गर्न प्रेरित गर्छ।
कहिलेकाहीं मानिस पदमा त हुन्छ, तर उसले निभाउनुपर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्न सक्दैन।
यस्तो अवस्था नेतृत्वको संक्रमणकाल हो। यो संकट बाह्य कारणले मात्र होइन; बदलिंदो परिस्थितिलाई समयमै नबुझ्दा, वैचारिक स्पष्टता कमजोर हुँदा वा संगठनात्मक पहल कमजोर हुँदा पनि उत्पन्न हुन्छ।
नेतृत्व भनेको केवल पदको अधिकार प्रयोग गर्ने कुरा होइन। नेतृत्व भनेको समाजलाई नयाँ दिशा दिने क्षमता हो; अन्याय, विसंगति र वैचारिक विचलनका विरुद्ध आवाज उठाउने साहस हो र कठिन परिस्थितिमा पनि सही पक्षमा उभिने प्रतिबद्धता हो।
लोभ-लालच, आश-त्रास, अति विश्वास र अति शंका जस्ता प्रवृत्तिबाट मुक्त हुन नसक्ने, तथा ‘विद्रोह गर्नु अधिकार हो’ भन्ने मार्क्सवादी मान्यतालाई आत्मसात् गर्न नसक्ने व्यक्ति साँचो अर्थमा कम्युनिष्ट हुन सक्दैन। यस्ता कमजोरीहरूबाट जोगिन नसक्दा माओवादी आन्दोलन कमजोर बन्दै गएको र नेतृत्वमा पतन देखिएको तथ्य सर्वविदित छ।
आन्दोलनको जग हल्लिएको अवस्थामा नयाँ शिराबाट पहल लिनु बाँकी रहेका क्रान्तिकारीहरूको दायित्व हो। तर कसैले पनि ‘पानी माथि ओभानो छु’ भन्ने दाबी गर्न मिल्दैन। राजनीतिक जीवनमा आत्मसमीक्षा अपरिहार्य छ। आफ्ना अनुभवहरूको मूल्यांकन, कमजोरीहरूको स्वीकारोक्ति र नयाँ परिस्थितिमा नयाँ भूमिका खोज्ने प्रक्रियाबाटै नेतृत्वको पुनर्निर्माण सम्भव हुन्छ।
आजको सन्दर्भमा स्पष्ट हुनुपर्छ– नेता पदले होइन, भूमिकाले बनाउँछ। समाज, राजनीति र इतिहासले मागेको भूमिका निर्वाह गर्न सकियो भने नेतृत्व स्वतः स्थापित हुन्छ। पद त्यसको परिणाम हुन सक्छ, तर आधार सधैं भूमिका नै हो।
बारम्बार नेतृत्व गर्ने अवसर पाएर पनि पार्टी र आन्दोलनलाई बचाउन नसक्ने, तर ‘म नभए पृथ्वी घुम्दैन’ भन्ने सोच राखेर नेतृत्वमा लिसो टाँसिए जस्तै टाँसिइरहनु उचित होइन। नेतृत्वमा यस्तो सत्ता-लिप्सा जनविद्रोहपछि देखिनु चिन्ताजनक छ। आन्दोलनको मर्मलाई आत्मसात् गर्न नसक्दा यस्तो नियति उत्पन्न भएको हो।
अन्ततः राजनीति पदको प्रतिस्पर्धा मात्र होइन; यो विचार, जिम्मेवारी र इतिहासप्रतिको उत्तरदायित्वको क्षेत्र हो। पद क्षणिक हुन सक्छ, तर भूमिका इतिहासमा दर्ता हुन्छ। नेतृत्व कसैलाई टिको लगाएर दिइने वस्तु होइन। जो मानिसले समयले मागेको भूमिका पूरा गर्न सक्छ, इतिहासले अन्ततः नेतृत्वको मान्यता पनि उसैलाई दिन्छ।
गजुरेल, नेपाली कम्युनिष्ट पार्टीको पूर्वनेता हुन्।
प्रतिक्रिया 4