+
+
Shares
विचार :

ग्राहकबिनाको पसल खोल्दैनौँ, विधि-पद्धतिको पक्षमा उभिन्छौं

पार्टी छाडेर होइन, ग्राहकबिनाको पसल खोलेर होइन, माओ र पुष्पलालका विचारका अनुयायी बनेर विजयको झन्डा गाडिनेछ।

हरिबोल गजुरेल हरिबोल गजुरेल
२०८२ फागुन ९ गते ११:३६

नेपालको कम्युनिस्ट आन्दोलनको आधारभूत मूल्य भनेकै विधि–पद्धति, सामूहिक निर्णय र संस्थागत प्रक्रियाप्रतिको सम्मान हो। तर पछिल्लो समय पुष्पकमल दाहाल र माधवकुमार नेपालका गतिविधिले केन्द्रीय समितिलाई औपचारिकताको खोल मात्र बनाइँदै गएको अनुभूति हुन थालेको छ। मनपरी निर्णय लिने प्रवृत्ति तीव्र हुँदै गएको देखिन्छ।

सतहमा यो विषय प्राविधिकजस्तो देखिए पनि यसको जरो गहिरो वैचारिक विचलनमा छ। नेतृत्वले आफैँले बनाएको नियमलाई आफूअनुकूल तोडमोड गर्न थालेपछि प्रश्न केवल प्रक्रियामाथि मात्र होइन- सम्पूर्ण राजनीतिक संस्कारमाथि उठ्छ।

आफूले निर्माण गरेको विधि–पद्धति आफैँले उल्ट्याउनु सामान्य त्रुटि होइन; यो सङ्गठनात्मक नैतिकताको पतनको सङ्केत हो। विधि कमजोर भयो भने व्यक्ति बलियो हुन्छ, संस्था कमजोर भयो भने गुट बलियो हुन्छ। यही बाटोले पार्टीलाई सिद्धान्तबाट विचलित गर्दै अवसरवादको दलदलमा धकेल्ने जोखिम बढाउँछ।

यति नाङ्गो र भद्दा केन्द्रीकरण भइरहँदा पनि झलनाथ खनालबाहेक अन्य नेताहरू मौन बस्नु केवल सहमति मात्र होइन- शक्ति सन्तुलनको भय, व्यक्तिगत भविष्यको गणित र मनोवैज्ञानिक दबाबको परिणाम पनि हो। लोभ–लालच, आस–त्रास, अतिसंशय र अतिविश्वासबाट मुक्त हुन नसक्दा नेतृत्व र कार्यकर्ता पङ्क्ति यथार्थ मूल्याङ्कन गर्न असफल हुन्छन्, र त्यसको प्रतिफल सङ्गठनात्मक विचलनका रूपमा देखिन्छ।

मूल प्रश्न सरल छ- पार्टी विधि र सिद्धान्तअनुसार चल्ने हो कि व्यक्तिको इच्छाअनुसार? यदि समयमै आत्मसमीक्षा भएन भने विधि–पद्धतिको खिल्ली उडाउने यही प्रवृत्तिले सङ्गठनको नैतिक मेरुदण्ड नै भाँच्नेछ।

निर्वाचन प्रक्रियामा देखिएको स्वेच्छाचारिता

२०८२ को सङ्घीय निर्वाचनको सन्दर्भमा यो प्रवृत्ति अझ स्पष्ट रूपमा प्रकट भएको छ। प्रचण्ड–माधवको सर्कुलरअनुसार कार्यदल निर्माण गरेर सिन्धुलीमा उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाइएको थियो। निर्वाचन क्षेत्र नं. १ मा राजन दाहाल, चित्रबहादुर लुङ्गेली, डेकेन्द्र सुवेदी, जानुका तिमल्सिना र विजय खड्काको नाम सर्वसम्मत सिफारिस भयो भने क्षेत्र नं. २ मा पुष्पकमल दाहाल, हरिबोल गजुरेल, पानीराज बम्जन, महेश्वर दाहाल, अनिता राई र सुमन रानाको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको थियो।

पछि पुष्पकमल दाहालले रुकुम पूर्वबाट उम्मेदवारी दिने निर्णय गरेपछि स्वाभाविक रूपमा क्षेत्र नं. २ का सिफारिस गरिएका व्यक्तिमध्येबाट कसैलाई टिकट दिनु प्रक्रियासम्मत कदम हुनुपर्ने थियो। तर जिल्ला कार्यदल र सिफारिस भएका उम्मेदवारसँग परामर्शको त कुरै छाडौँ, जानकारीसमेत नगराई क्षेत्र नं. १ बाट सिफारिस भएका राजन दाहाललाई प्रदेश कमिटीमार्फत अनधिकृत सिफारिस गराएर २०८२ माघ ४ गते सिन्धुली–२ को टिकट दिइयो। यो निर्णयले विधि र प्रक्रियाको गरिमा मात्र घटाएन- जिल्लाका नेता–कार्यकर्ताको आत्मसम्मानमाथि पनि ठाडो प्रहार गर्‍यो।

यस स्वेच्छाचारी निर्णयलाई २०८२ माघ ५ गते बसेको जिल्ला कार्यदल बैठकले अस्वीकार गर्दै सच्याउन माग गर्‍यो; गल्ती नसच्याए स्वतन्त्र उम्मेदवार उठाउने निर्णयसमेत गरियो। सोही आधारमा क्षेत्र नं. २ बाट मैले प्रस्तावकको भूमिका लिएपछि महेश्वर दाहालको उम्मेदवारी दर्ता भयो, जुन जिल्ला संयोजक पानीराज बम्जन समर्थक बसेर सम्पन्न गरिएको थियो।

आज मैदानमा मूलतः दुई धार स्पष्ट छन्- जिल्ला पार्टी कार्यदलको निर्णयअनुसारको उम्मेदवारी र केन्द्रबाट थोपरिएको उम्मेदवारी। यो व्यक्ति चयनको विवाद होइन; विधि र स्वेच्छाचारिताबीचको प्रत्यक्ष टकराव हो।

ऐतिहासिक सन्दर्भ र राजनीतिक सन्देश

यो अवस्थालाई महाभारतको युद्धपूर्वको अवस्थासँग तुलना गर्न सकिन्छ। युधिष्ठिरले पाँच भाइ पाण्डवका लागि पाँच गाउँ मात्र माग्दा पनि दुर्योधनले ‘सियोको टुप्पोबराबर जमिन पनि दिन्नँ’ भन्ने अहङ्कार देखाएपछि अन्यायविरुद्ध न्यायको पक्षमा समाज उभिएको प्रसङ्ग स्मरणीय छ। अन्ततः सत्यको विजय भयो र अन्यायको पतन भयो।

आज वरिष्ठ साहित्यकार खगेन्द्र सङ्ग्रौला, डा. विद्यानाथ कोइराला र घनश्याम भूसाल जस्ता व्यक्तित्वहरूले सार्वजनिक रूपमा बोल्नुपर्ने अवस्था सिर्जना हुनु आफैँमा गम्भीर सङ्केत हो। इतिहासको सन्देश स्पष्ट छ- शक्ति दुरुपयोग टिकाउ हुँदैन। इतिहासको जगमा उभिएको वर्तमान र भविष्यले अन्ततः हिसाबकिताब गर्छ।

नेपाल र चिनियाँ कम्युनिस्ट आन्दोलनमा पनि यस्ता सङ्घर्ष नयाँ होइनन्। पुष्पलाल श्रेष्ठको वैचारिक सङ्घर्ष होस् वा चिनियाँ कम्युनिस्ट पार्टीभित्रको सङ्घर्ष, अन्ततः सन् १९३५ मा माओत्से–तुङ र २०२५ सालमा पुष्पलाल पुनः स्थापित भए। यसले विचार र विधिको पक्षमा उभिने नेतृत्व अन्ततः टिक्ने देखाउँछ। यसको विपरीत विचार, विधि र पद्धतिविरुद्ध उभिने नेतृत्वको पतन पनि अवश्यम्भावी हुन्छ, जसको उदाहरण केशरजङ्ग रायमाझीको राजनीतिक अवसान हो।

निष्कासन र विधिको प्रश्न

म र महेश्वर दाहाललाई गरिएको निष्कासन तथा बुद्धिमान माझी र पानीराज बम्जनलाई जिम्मेवारीबाट हटाउने निर्णयले अर्को गम्भीर प्रश्न उठाएको छ। विधि–पद्धतिको भाषण गरेर नथाक्ने माधव नेपालको अवस्था टिठलाग्दो देखिन्छ, र प्रचण्डको शैली दुर्योधनको अडानभन्दा कम प्रतीत हुँदैन।

बिनास्पष्टीकरण निष्कासन गर्ने अधिकार कुन विधानको कुन धाराले दिएको हो? पार्टीबाट निष्कासन गर्ने अधिकार संयोजक–सहसंयोजकलाई छ कि केन्द्रीय समितिलाई? प्रश्न गम्भीर बनेको छ।

अनधिकृत निष्कासनको कारबाही फिर्ता लिन र मापदण्डविपरीत गरिएको उम्मेदवार चयन सच्याउन माग राखेर संयोजक र सहसंयोजकलाई मैले पठाएको पत्रको जवाफ अझै आएको छैन। पार्टीलाई निजी कम्पनीझैँ सञ्चालन गर्ने प्रवृत्तिले खतरनाक दिशातर्फ सङ्केत गर्दछ। बुद्धिमान माझी र पानीराज बम्जन केन्द्रीय सदस्य हुँदा बागमती प्रदेश कमिटीले उहाँहरूलाई जिम्मेवारीबाट हटाउने अधिकार राख्छ कि राख्दैन? यो पनि स्पष्ट हुनुपर्ने विषय हो।

यदि व्यक्तिको इच्छालाई नै विधान मान्ने हो भने त्यो सङ्गठन होइन, जङ्गली शासनको अभ्यास हो। यस्तो प्रवृत्तिले पार्टीलाई मात्र होइन, गणतन्त्र र लोकतान्त्रिक मूल्यकै उपहास गर्छ।

विद्रोहको पृष्ठभूमि र व्यापक सङ्केत

विद्रोह पार्टीभित्रको होस् वा बाहिरको- त्यो सधैँ परिस्थितिजन्य हुन्छ। राजनीतिक विस्फोटका सामग्रीहरू लामो समयदेखि थुप्रिँदै आएको असन्तोष र आक्रोशको परिणाम हुन्छन्। सिन्धुलीको घटना पनि त्यसैको प्रतिफल हो- टिकट वितरणको सन्दर्भमा प्रकट भएको असन्तोषको प्रतीकात्मक विस्फोट। पार्टीले समयमै संवाद र समाधान खोजेको भए यस्तो अवस्था आउँदैनथ्यो।

सिन्धुलीमै विद्रोह किन उत्कर्षमा पुग्यो भन्ने प्रश्नको विश्लेषण हुँदै जाला, तर यसले एउटा सन्देश भने स्पष्ट दिएको छ- स्वेच्छाचारिता, परिवारवाद र विकृति–विसङ्गतिप्रति देश–विदेशमा रहेका नेता-कार्यकर्ताको आक्रोश अब दबाएर राख्न सकिने अवस्थामा छैन।

निष्कर्ष : विचार, विधि र रूपान्तरणको लडाइँ

विचार र विधिको प्रश्न एमाले-माओवादी एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माणकालदेखि नै उठ्दै आएको हो। आजको सङ्घर्ष व्यक्ति वा पदका लागि होइन; विचार, विधि, मूल्य र राजनीतिक नैतिकताका लागि हो। समयमै उपचार र सुधार भए पार्टी सङ्गठन बलियो हुन्छ; नभए पतनको गति तीव्र हुन्छ। यतिखेर नेतृत्वले सत्यलाई तोडमोड गरेर प्रस्तुत गरिरहेको देखिए पनि इतिहासको अर्को सत्य पनि उत्तिकै स्पष्ट छ- सत्य र विधिको पक्षमा उभिनेहरू अन्ततः पराजित हुँदैनन्।

यो वैचारिक विद्रोहको पहल प्रचण्डसँगका विभिन्न चरणका अन्तरविरोध तथा मोहन वैद्य, सीपी गजुरेल, रामबहादुर थापा, नेत्रविक्रम चन्द, धर्मेन्द्र बास्तोला, ईश्वरी दाहाल (असारे काका), बाबुराम भट्टराई, विश्वभक्त दुलाल (आहुति), घनश्याम भुसाल र जनार्दन शर्मा–राम कार्कीसम्म आइपुग्दा प्राप्त अनुभव र शिक्षाबाट निष्कर्ष निकाल्दै अघि बढेको हो।

साथै ‘पर्ख र हेर’ को नीति अवलम्बन गर्दै भूमिका निर्वाह गरिरहेका लोकेन्द्र विष्ट, कुमार दाहाल, रमेश गुरागाईं र विनोद दाहाललगायत कमरेडहरूको सुझावलाई गम्भीरतापूर्वक आत्मसात् गर्दै पार्टीलाई नयाँ सिराबाट रूपान्तरण गर्ने तथा समग्र कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र ध्रुवीकृत गर्ने सङ्कल्पमा यो अभियान आधारित रहनेछ।

पार्टी छाडेर होइन, ग्राहकबिनाको पसल खोलेर होइन, माओ र पुष्पलालका विचारका अनुयायी बनेर विजयको झन्डा गाडिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?