News Summary
Generated by OK AI. Editorially reviewed.- यूएईस्थित नेपाली राजदूतावासले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आफ्ना आवश्यक कागजातका प्रतिलिपि परिवारसँग सुरक्षित राख्न आग्रह गरेको छ ।
- इमिरेट्स आईडी, मोबाइल सिम वा बैंक विवरण अरूलाई दिँदा ठगी र बैंकिङ अपराधमा फस्ने जोखिम बढेको भन्दै दूतावासले सचेत गराएको छ ।
- आफ्नो बैंक खातामा स्रोत नखुलेको रकम जम्मा भएमा तत्काल सम्बन्धित बैंकमा सम्पर्क गर्न समेत दूतावासले अनुरोध गरेको छ ।
२६ जेठ, काठमाडौं । संयुक्त अरब इमिरेट्सस्थित नेपाली राजदूतावासले आफ्ना कागजात परिवारलाई सुरक्षित राख्न दिन तथा इमिरेट्स आईडी अरूलाई नदिन अनुरोध गरेको छ। पछिल्लो समय कागजात हराएको भन्दै खोजीका लागि आउने गरेको तर, आवश्यक कागजात नहुँदा समस्या हुने गरेको दूतावासले जनाएको छ।
यूएई आउँदा श्रम स्वीकृति, पासपोर्ट, भिसा लगायत कागजातका फोटोकपी घर परिवारलाई दिन दूतावासले अनुरोध गरेको छ ।
महावाणिज्यदूतावासले जारी गरेको सूचनाअनुसार यूएईमा कार्यरत नेपाली सम्पर्कविहीन हुने वा हराउने घटनामा खोजतलास गर्न आवश्यक कागजात अभाव हुने समस्या देखिएको छ।
दूतावासले रोजगारीका लागि यूएई जाने नेपालीलाई आफ्नो राहदानी, भिसा, श्रम स्वीकृतिलगायतका कागजात प्रतिलिपि परिवारसँग सुरक्षित रूपमा राख्न आग्रह गरेको छ।
यस्तै, यूएई पुगेपछि काम गर्ने कम्पनीको नाम, ठेगाना, सम्पर्क व्यक्ति, बसोबास गर्ने स्थानको विवरण, क्याम्प व्यवस्थापकको सम्पर्क नम्बर तथा इमिरेट्स आईडीको प्रतिलिपी समेत परिवारलाई उपलब्ध गराउन दूतावासले सुझाव दिएको छ। यस्ता विवरण नहुँदा सम्पर्कविहीन व्यक्तिको खोजी कार्य जटिल हुने दूतावासको भनाइ छ।
दूतावासले इमिरेट्स आईडी र मोबाइल सिमको दुरुपयोगबारे पनि चेतावनी दिएको छ। नेपाली नागरिकको नाममा रहेको इमिरेट्स आईडी वा मोबाइल नम्बर प्रयोग गरी ठगी, बैंकिङ अपराध तथा अन्य आर्थिक अपराधका घटनामा वृद्धि भएको उल्लेख गर्दै आफ्नो इमिरेट्स आईडी, मोबाइल सिम, बैंक कार्ड नम्बर वा ओटीपी कसैलाई पनि नदिन आग्रह गरेको छ।
सूचनामा केही व्यक्तिले बैंकबाट ऋण मिलाइदिने, भिसा लगाइदिने वा नेपाल पैसा पठाइदिने बहानामा इमिरेट्स आईडी माग्ने र त्यसको दुरुपयोग गरी आर्थिक ठगी गर्ने गरेको उल्लेख गरिएको छ। यस्ता प्रलोभनमा परेमा कानुनी झन्झट र आर्थिक नोक्सानी बेहोर्नुपर्ने जोखिम रहेको दूतावासले जनाएको छ।
त्यसैगरी, आफ्नो बैंक खातामा स्रोत नखुलेको रकम जम्मा भएको जानकारी पाएमा तत्काल सम्बन्धित बैंकमा सम्पर्क गरी जानकारी गराउन पनि दूतावासले आग्रह गरेको छ। समयमै जानकारी नदिए कानुनी कारबाहीमा समेत पर्न सकिने चेतावनी दिइएको छ।

प्रतिक्रिया 4