0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

सर्वोच्चलाई छानबिन आयोगको जवाफ : अख्तियारको कार्यशैलीले भ्रष्टाचार बढ्यो

सम्पत्ति छानबिन आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यशैलीले मुलुकमा भ्रष्टाचार बढेको आरोप लगाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २८ गते १९:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सम्पत्ति छानबिन आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीले अख्तियारको कार्यशैलीले मुलुकमा भ्रष्टाचार बढेको आरोप लगाएका छन् ।
  • भण्डारीले लिखित जवाफमा ‘उजुर नपरेका ज्यादै कम पदाधिकारीहरूको हकमा मात्र अख्तियारले अनुसन्धान गरी मुद्दा दायर गरेको पाइन्छ’ भनी उल्लेख गरे ।
  • आयोग गठनले अवैध सम्पत्ति आर्जन गर्ने समूहका पदाधिकारीमाथि छिटोछरितो अनुसन्धान हुने उनले दाबी गरे ।

२९ जेठ, काठमाडौं । सम्पत्ति छानबिन आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यशैलीले मुलुकमा भ्रष्टाचार बढेको आरोप लगाएका छन् ।

सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा दायरा भएको मुद्दाको लिखित जवाफ पेश गर्दै भण्डारीले ठूलो राजनीतिक पदाधिकारी र कर्मचारीहरूको भ्रष्टाचार र सम्पत्ति अनुसन्धानमा उजुरी खोज्ने प्रवृतिले अख्तियारले काम गर्न नसकेको दाबी गरेका हुन् ।

‘उजुर नपरेका ज्यादै कम पदाधिकारीहरूको हकमा मात्र अख्तियारले अनुसन्धान गरी मुद्दा दायर गरेको पाइन्छ’ अध्यक्ष भण्डारीले सर्वोच्च अदालतमा लिखित जवाफमार्फत भनेका छन्, ‘परिणामतः मुलुकमा भ्रष्टाचार र अकूत सम्पत्ति अवैध तरिकाले आर्जन गर्ने र त्यस्तो आर्जन लुकाउने समूह मौलाएको छ ।’

भ्रष्टाचार गर्ने र गैरकानूनी सम्पत्ति लुकाउनेहरुमाथि राज्यले अनुसन्धान गर्न नसकेको भन्दै भण्डारीले त्यसकै लागि आफ्नो नेतृत्वमा आयोग बनेको जिकिर गरेका हुन् । आफूले नेतृत्व गरेको आयोगले विभिन्न व्यक्तिले लुकाएको गैरकानूनी सम्पत्ति खोज्नेमा सीमित रहेको भन्दै त्यसबाट कसैको अधिकार हनन नहुने जिकिर गरेका छन् ।

उनले सर्वोच्च अदालतलाई जवाफ पठाउँदै भनेका छन्, ‘सिफारिस सहित प्रतिवेदन पेस गर्नेसम्मको अख्तियारी पाएको सम्पत्ति छानबिन आयोग, २०८३ लाई अख्तियारको अधिकारमाथि हस्तक्षेप गरेको भनी आक्षेप लगाउने काम संविधान र प्रचलित नेपाल कानून समेतको बर्खिलापमा छ ।’

आयोग गठनले अवैध सम्पत्ति आर्जन गर्ने वर्ग र समूहका पदाधिकारीमाथि छिटोछरितो अनुसन्धान हुने र त्यसबाट अनुसन्धान गर्ने निकायलाई मुद्दा चलाउन अझै प्रभावकारी हुने उनको दाबी छ ।

सम्पत्ति छानबिन आयोगका अध्यक्ष भण्डारी र प्रधानमन्त्री बालेन शाहले आयोग विरुद्ध परेको रिट निवेदनमा सर्वोच्चमा पठाएको लिखित जवाफको आशय मिल्दोजुल्दो छ ।

प्रधानमन्त्री शाहले पनि अख्तियारको कामकारबाहीको आलोचना गर्दै भ्रष्टाचारको अनुसन्धानका लागि आयोग गठन गर्नुपरेको जवाफ लेखेका थिए ।

अख्तियारले छोटो अवधिमा देशभर लामो समयसम्म सत्तामा रहेका राजनीतिक पदाधिकारी र उच्चपदस्थ कर्मचारीको सम्पत्ति संकलन, छानबिन र अनुसन्धान गर्न नसक्ने भन्दै आयोगका अध्यक्ष भण्डारीले राज्यका नियमित निकायको कामलाई थप प्रभावकारी बनाउन आयोगले काम गर्ने भनी जवाफ लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?