३० जेठ, सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिकामा पर्ने थाग्णामा कर्णाली करिडोरको भिरबाट खसेको ढुङ्गाले लागेर एक किशोरीको मृत्यु भएको छ ।
सर्केगार्ड गाउँपालिका–४ गैरीसाँयाकी १५ वर्षीया पवित्रा साउद शनिबार बिहान गाईवस्तु चराउन जङ्गल गएकी थिइन् । बिहान करिब १०:३० बजे करिडोरको माथिल्लो भागबाट अचानक खसेको ढुङ्गा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए ।
घटनाको जानकारी बिहान ११:५० बजे प्रहरी चौकी सर्केगाडमा पुगेपछि प्रहरी हबल्दार गोबर्द्धन परियारको नेतृत्वमा चार सदस्यीय टोली घटनास्थलमा खटिएको थियो ।
थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक जङ्गबहादुर सिंहको नेतृत्वमा अर्को प्रहरी टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
कर्णाली करिडोर आसपासका भिरालो क्षेत्रमा बर्सेनि ढुङ्गा खस्ने जोखिम रहँदै आएको छ । यस घटनाले पुन: सडकमाथिका जोखिमयुक्त भिरहरूको व्यवस्थापन, नियमित अनुगमन तथा यात्रु र स्थानीय बासिन्दाको सुरक्षाका लागि प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याएको छ । –रासस
प्रतिक्रिया 4