३ असार, काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४७ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
बुधबार नगरपालिकाको १७ औँ नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै त्यसको कार्यान्वयनका लागि कुल ४७ करोड ४५ लाख रुपैयाँको बजेट विनियोजन गरेको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले बताए ।
नगरप्रमुख मण्डलले संघीय सरकारबाट २८ करोड ८८ लाख, राजस्व बाँडफाँडबाट १० करोड ५७ लाख, प्रदेश सरकारबाट १ करोड ४९ लाख ९५ हजार र आन्तरिक स्रोतबाट ६ करोड ५६ लाख रुपैयाँ जुटाइने उल्लेख गरे ।
आगामी वर्षको नीति तथा कार्यक्रममा कृषि, शिक्षा र स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखिएको नगरप्रमुख मण्डलले बताए । साथै मटिहानीको धार्मिक, ऐतिहासिक र पर्यटकीय पहिचानलाई आधार बनाएर विकासलाई अघि बढाइने उनले सुनाए । उनका अनुसार मटिहानी मठलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गरिने नीति लिइएको छ ।
शिक्षा क्षेत्रमा मैथिली भाषाको संरक्षण र प्रवर्द्धनका लागि कक्षा १ देखि ८ सम्मको पाठ्यक्रममा मैथिली विषय समावेश गर्ने योजना रहेको नगरप्रमुख मण्डलले बताए ।
प्रतिक्रिया 4