३ असार, बुटवल । तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम नगर सभामा पेस गरेको छ । नगर प्रमुख रामकृष्ण खाँणले नगर सभाको २१औं अधिवेशनको पहिलो बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्य ,कृषि तथा पशुपालन, पूर्वाधार विकास, सुशासन र डिजिटल सेवा, पर्यटन र वातावरण, महिला, युवा र उद्यमशीलता, रोजगार, सिप तथा उद्यमशीलता विकासलाई प्राथमिकता दिइएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख खाँणले आफ्नै सिटी कलेजमा फार्मेसी र नर्सिङ पढाइदेखि स्थानीय घाटसम्म निःशुल्क मलामी बस, सुलभ ल्याब सेवा, महिलामैत्री हाटबजार र सुलभ एग्रोभेट पसल सञ्चालनसम्मका कार्यक्रम अघि सारेको छ । नीति तथा कार्यक्रममा तिलोत्तमालाई ‘सुशासन सिकाइ केन्द्र’ का रूपमा विकास गर्ने घोषणा समेत गरिएको छ।
नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन र सुशासनलाई प्राथमिकतामा राख्दै आगामी वर्षलाई ‘शिक्षा, स्वास्थ्य र अवसरको वर्ष’ घोषणा गरेको छ ।
नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि गर्न डिजिटल एपमार्फत कृषि परामर्श, माटो परीक्षण, मौसम पूर्वानुमान र रोग पहिचान सेवा विस्तार गरिने उल्लेख छ । किसानलाई कृषक सेवा कार्डका आधारमा मल, बिउ, सिँचाइ तथा पशुपालनमा अनुदान दिने व्यवस्था गरिने भएको छ भने दूध उत्पादक किसानलाई प्रतिलिटर दुई रुपैयाँ अनुदान कार्यक्रमलाई निरन्तरता दिइनेछ।
किसानको उत्पादनको सुरक्षित भण्डारण र बजारीकरणका लागि एकीकृत सङ्कलन केन्द्र स्थापना गरिने, प्रमुख अन्नबाली न्यूनतम समर्थन मूल्यमा खरिद गरिने तथा प्रत्येक स्थानीय हाटबजारमा किसानका लागि निःशुल्क स्टल उपलब्ध गराइने नीति लिइएको छ । पशु स्वास्थ्य सेवालाई घरदैलोमा पुर्याउन पशु चिकित्सक र प्राविधिक परिचालन गरिने तथा सार्वजनिक–निजी साझेदारीमा सुलभ एग्रोभेट पसल सञ्चालन गरिने भएको छ।
पर्यटन प्रवर्द्धनतर्फ ‘भिजिट लुम्बिनी, स्टे तिलोत्तमा’ अभियान सञ्चालन गरिने भएको छ। शंकरनगर वन विहारको बहुउद्देश्यीय भ्यू टावर सञ्चालनमा ल्याइने, कुञ्ज पार्कलाई लेजर लाइटसहितको रात्रिकालीन उद्यानका रूपमा विकास गरिने र सेमरीस्थित सखिया थारू होमस्टेलाई पर्यटनसँग जोड्ने कार्यक्रम ल्याइएको छ। बाउन्नकोटी वन क्षेत्रको नन्दभाउजू ताल संरक्षण, मोक्षधाम पूर्वाधार विकास तथा कृषि पर्यटन प्रवर्द्धनका कार्यक्रम पनि समेटिएका छन्।
महिला उद्यमशीलता प्रवद्र्धनका लागि सिमानगरमा महिलामैत्री हाटबजार सञ्चालनमा ल्याइने भएको छ। महिला उद्यमीका उत्पादन बिक्रीका लागि सम्झना बाल उद्यानमा बिक्री केन्द्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने तथा एकल महिला र लैङ्गिक तथा यौनिक अल्पसंख्यकलाई सिपमूलक तालिममार्फत स्वरोजगारमा जोडिने नीति लिइएको छ।
पूर्वाधार विकासतर्फ नगरपालिकाले आगामी वर्षलाई ‘सडक मर्मत वर्ष’ घोषणा गरेको छ। रणनीतिक महत्त्वका सडकहरूको स्तरोन्नति र मर्मत अभियान सञ्चालन गरिने भएको छ। वडा नम्बर ४, ५, ६, ७, ९, १३, १४ र १५ जोड्ने ऐतिहासिक पुरानो सडकलाई बहुवर्षीय गौरवको आयोजनाका रूपमा अघि बढाइनेछ। मधवलियादेखि एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियमसम्मको सडक तथा तिलोत्तमा चक्रपथ निर्माणका लागि संघीय र प्रदेश सरकारसँग समन्वय गरिने भएको छ।
खानेपानी क्षेत्रमा वडा नम्बर १० देखि १७ सम्मका उपभोक्तालाई मासिक १० हजार लिटरसम्म पानी उपभोग गर्दा महसुलमा ५० प्रतिशत छुट दिने व्यवस्था प्रस्ताव गरिएको छ। पिउने पानीको गुणस्तर परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न पनि सहजीकरण गरिने भएको छ।
शिक्षा क्षेत्रमा नगरको सिटी कलेजमा डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ (स्टाफ नर्स) कक्षा सञ्चालनमा ल्याइने भएको छ। सबै सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास कक्षालाई वातानुकूलित बनाइने तथा स्मार्ट बोर्ड नभएका माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराइने नीति छ। ‘एक विद्यालय, एक सृजनशील कार्यक्रम’, ‘एक माध्यमिक विद्यालय, एक स्काउट युनिट’ र करियर गाइडेन्स कार्यक्रमलाई थप प्रभावकारी बनाइने भएको छ।
स्वास्थ्य क्षेत्रमा ‘कोखदेखि शोकसम्म तिलोत्तमा सरकार’ अभियानलाई थप विस्तार गरिने भएको छ। गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क भिडियो एक्स–रे सेवा, स्थानीय घाटसम्म निःशुल्क मलामी बस सेवा, सुलभ फार्मेसी र आगामी वर्षभित्र तिलोत्तमा सुलभ ल्याब सञ्चालनमा ल्याइने कार्यक्रम समेटिएको छ। आनन्दबन नगर अस्पताल र बीपी ग्राम आधारभूत अस्पताललाई गुणस्तरीय ल्याब तथा रेडियोलोजी सेवासहित सञ्चालनमा ल्याइने तथा आवश्यक औषधि निःशुल्क उपलब्ध गराइने उल्लेख छ। नगरवासीलाई आवश्यक रगत निःशुल्क उपलब्ध गराउने कार्यक्रमलाई पनि निरन्तरता दिइने भएको छ।
पर्यावरण तथा फोहोर व्यवस्थापनतर्फ निजी क्षेत्रसँग साझेदारीमा फोहोर प्रशोधन तथा व्यवस्थापन केन्द्र स्थापना गरिने भएको छ। ‘ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा’ अभियानलाई निरन्तरता दिँदै मुख्य सडकमा हरियाली क्षेत्र निर्माण गरिनेछ। वातावरणीय अनुसन्धान तथा परीक्षण ल्याब स्थापना गर्ने र व्यापक वृक्षारोपण अभियान सञ्चालन गर्ने कार्यक्रम पनि समावेश छ।
सुशासनतर्फ नगरपालिकाले ‘कार्यालयमा लाइन होइन, अनलाइन सेवा’ नीति अघि सारेको छ। वडा र नगरबाट प्रदान हुने सेवा क्रमशः अनलाइन प्रणालीमार्फत प्रवाह गरिने, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्त नागरिकलाई घरदैलोमै सेवा उपलब्ध गराइने भएको छ। ई–गभर्नेन्स, नागरिक मूल्याङ्कन प्रणाली, डिजिटल नागरिक बडापत्र र करसम्बन्धी पूर्वसूचना प्रणाली लागू गरिने कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ।
सबैभन्दा महत्वाकांक्षी घोषणामध्ये तिलोत्तमालाई ‘गुड गभर्नेन्स लर्निङ अर्गनाइजेसन’ अर्थात् सुशासन सिकाइ केन्द्रका रूपमा विकास गर्ने योजना रहेको छ। नगरपालिकाले अन्य स्थानीय तह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग साझेदारी गर्दै सुशासन, प्रविधि, सिप र पूँजी आदान–प्रदानको केन्द्र बनाउने लक्ष्य लिएको छ।
नीति तथा कार्यक्रमले कृषि आधुनिकीकरण, स्वास्थ्य तथा शिक्षामा सेवा विस्तार, पूर्वाधार निर्माण, पर्यटन प्रवर्द्धन र डिजिटल सुशासनलाई एकैसाथ जोडेको छ। तर महत्वाकांक्षी कार्यक्रमहरूको कार्यान्वयनका लागि आवश्यक स्रोत, बजेट व्यवस्थापन र परिणाममुखी कार्यसम्पादन भने आगामी वर्षको मुख्य परीक्षा हुने देखिएको छ।
प्रतिक्रिया 4