६ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डले गोरखापत्रमा सूचना प्रकाशित गरेर कक्षा १२ को पूरक परीक्षाको तालिका सार्वजनिक गरेको हो ।
परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षा दुई दिनमात्र सञ्चालन हुने जनाएको छ । जसअनुसार २ र ३ साउनमा पूरक परीक्षा हुने भएको छ ।
सार्वजनिक तालिकाअनुसार एक विषयको मात्र परीक्षामा सहभागी हुने परीक्षार्थीले जुन सुकै विषय भए पनि पहिलो दिन सहभागी हुनु पर्नेछ ।
अनिवार्य अंग्रेजी विषयको परीक्षामा सम्मिलत हुने परीक्षार्थीहरूका लागि पहिलो दिनमात्र परीक्षा हुने बोर्डले जनाएको छ ।
तर, अनिवार्य अंगे्रजी र अनिवार्य नेपाली विषयको परीक्षामा सम्मिलत हुने परीक्षार्थीहरूले नेपाली विषयको परीक्षा दोस्रो दिन दिनुपर्ने छ ।
बोर्डका अनुसार दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि दोस्रो दिन (३ साउन) परीक्षा हुने छ । परीक्षा बिहान ११ बजेदेखि सुरू हुने छ । परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको थियो ।
कक्षा १२ को मौका परीक्षामा सहभागी हुनका लागि १९ असारभित्र बोर्डको सम्बन्धित कार्यालयको खातामा परीक्षा शुल्क बापत प्रति विद्यार्थी आठ सयका दरले हुन आउने रकम बुझाइसक्नुपर्ने सूचनामा उल्लेख छ ।
‘उक्त अवधिभित्र रकम दाखिला गर्न छुट भएका परीक्षार्थीहरूका लागि २६ असारभित्र विलम्ब शुल्कसहितको रकम प्रति विद्यार्थी एक हजार छ सय बुझाई सम्बन्धित विद्यालयमार्फत २८ असार २८ कार्यालय समयभित्र रकम दाखिला गरेको भौचर वा अनलाइन भुक्तानी गरेको प्रमाणसहित बोर्डका सम्बन्धित कार्यालयहरूमा आवेदन फाराम बुझाइसक्नुपर्नेछ,’ सूचनामा भनिएको छ ।

प्रतिक्रिया 4