१९ असार, काभ्रेपलाञ्चोक । काठमाडौं विश्वविद्यालय (केयू) मा १ हजार ५२७ जना विद्यार्थी दीक्षित भएका छन् ।
यस अघिका दीक्षान्त समरोहको अध्यक्षता कुलपति एवं प्रधानमन्त्रीले गर्ने प्रचलन थियो । तर पहिलोपटक प्रधानमन्त्रीको अनुपस्थितिमा शिक्षा तथा खेलकुद मन्त्री तथा सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा विद्यार्थी दीक्षित भएका हुन् ।
पोखरेल काठमाडौं विश्वविद्यालयबाट चार वर्षअघि दीक्षित भएका पूर्व विद्यार्थी हुन् भने कुलपति प्रधानमन्त्री बालेन शाह समेत हाल केयूमै अध्यनरत छन् ।
शुक्रबार केयू परिसरमा भएको दीक्षान्त कार्यक्रममा स्कुल अफ आर्ट्सका १६१, स्कुल अफ एजुकेसनका ११२, स्कुल अफ इन्जिनियरिङका ३५५, स्कुल अफ लका ४२, स्कुल अफ मेनेजमेन्टका १४६, स्कुल अफ मेडिकल साइन्सेजका ५०४ तथा स्कुल अफ साइन्सका २०७ गरी जम्मा १ हजार ५२७ जना विद्यार्थी दीक्षित भए ।
दीक्षित मध्ये विद्यावारिधि तहका २१ जना, एमफिल तथा रिसर्च तहका ९३ जना, स्नातकोत्तर तहका २७९ जना, पीजीडीई तहका २ जना तथा स्नातक तहका १ हजार १३२ जना रहेका छन् ।
दीक्षित विद्यार्थीमध्ये ८०० जना (५२.३९ प्रतिशत) पुरुष तथा ७२७ जना (४७.६१ प्रतिशत) महिला छन् ।
अष्ट्रेलिया, बंगलादेश, चीन, भारत, श्रीलंका, संयुक्त अधिराज्य तथा संयुक्त राज्य अमेरिका गरी सात देशका १७९ जना विदेशी विद्यार्थी दीक्षित भएका छन् । जुन कुल दीक्षित विद्यार्थीको ११.७२ प्रतिशत हो, यो सङ्ख्या यसअघिको दीक्षान्तको भन्दा झन्डै ५० प्रतिशत बढी हो ।
विश्वविद्यालयले पहिलो पटक ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स, डाक्टर मेडिसिने इन नियोनाटोलोजी तथा मास्टर अफ साइन्स इन मेडिकल बायोकेमिस्ट्री एन्ड मोलेकुलर बायोलोजी कार्यक्रमका ४ जना विद्यार्थीलाई उपाधि प्रदान गरिएको उपकुलपति हृषिकेश वाग्लेले जानकारी दिए ।
कार्यक्रममा सहकुलपति पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको उल्लेख गर्दै उनले समृद्ध समाज निर्माणका लागि शिक्षित युवाको सक्रिय भूमिका आवश्यक रहेको बताए ।
प्रतिक्रिया 4