२० असार, हुम्ला । मुगु र हुम्ला जोड्ने कर्णाली नदी माथिको दोमुख पक्की पुलको निर्माण सम्झौता भएको पाँच वर्षसम्म अलपत्र परेको छ । सम्झौताअनुसार निर्माण सकिनुपर्ने समय घर्किसक्दा पनि अझै राम्ररी कामसमेत सुरु हुनसकेको छैन ।
१४ मंसिर २०७८ मा १५ करोड ९३ लाख रुपैयाँ लागतमा पुल निर्माणका लागि श्री मृत सञ्जीवनी सेवा प्रालि, हेटौंडाले ठेक्का सकारेको थियो ।
सम्झौताअनुसार २०८३ जेठ ३० गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । तर, हालसम्म पनि पुलको भौतिक प्रगति शून्य रहेको जिल्ला पूर्वाधार विकास कार्यालय, मुगुका प्रमुख कृष्ण चापागाईंले जानकारी दिए ।
निर्माण सम्पन्न गर्ने सम्झौता अवधि सकिँदा समेत काम अघि नबढेपछि निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया थालिएको छ । अहिले कम्पनीसँग १५ दिनभित्र स्पष्टीकरण पेस गर्न सार्वजनिक सूचना जारी गरिएको छ ।
जिल्ला पूर्वाधार विकास कार्यालय, मुगुले सार्वजनिक सूचनामार्फत मृत सञ्जीवनी सेवा प्रालिलाई प्रमाणसहित चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
तोकिएको अवधि भित्र सन्तोषजनक जवाफ नआए ठेक्का तोडेर प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने कार्यालयले जनाएको छ ।
दोमुख पुल निर्माणमा भएको चरम ढिलासुस्ती, अनियमितता तथा जिम्मेवार निकायको लापरबाहीविरुद्ध मुगुका युवाहरूले खबरदारी अभियान पनि थालेका छन् ।
अभियन्ताहरूकै दबाबका कारण जिल्ला पूर्वाधार विकास कार्यालयले ठेकेदार कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाएको उनीहरूको दाबी छ ।
यसैबीच, सोरु गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमा दोमुख क्षेत्रमा स्थायी पुल निर्माण नहुँदासम्म आवतजावत सहज बनाउन बेलीब्रिज निर्माणका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
दोमुख पुल निर्माण नहुँदा मुगु र हुम्लाका बासिन्दा लामो समयदेखि मर्कामा पर्दैआएका छन् । यस्तै, यहाँ पुल नहुँदा कर्णाली कोरिडोर हुँदै रारा पुग्ने छोटो मार्ग प्रयोग गर्न पर्यटकलाई पनि कठिनाइ हुने गरेको छ ।
प्रतिक्रिया 4