२१ असार, रुकुमपूर्व । पुथा उत्तरगंगा गाउँपालिका–११ र भूमे गाउँपालिका–१ को संगमस्थलमा पर्छ, चौरीखर्क । केही वर्षअघिसम्म गोठाला, भेडीगोट र चौँरी चराउनेहरूबाहेक यहाँ खासै चहलपहल हुँदैन थियो ।
बुकीफूलले ढाकिएका विशाल लेक, छिनछिनमै बदलिने बादल, नीलो आकाश र उत्तरतर्फ उभिएका हिमशृंखलाले यहाँ पुग्ने जो कोहीको मन लोभ्याउँछ ।
यही प्राकृतिक सौन्दर्य सामाजिक सञ्जालमा चर्चित बनेपछि अहिले यहाँ पर्यटकको भिड लाग्न थालेको छ । समुद्री सतहदेखि करिब ४ हजार ३ सय मिटरभन्दा बढी उचाइमा चौरीखर्क अवस्थित छ ।
यो लेकमा अहिले दैनिक दुई हजारसम्म आन्तरिक तथा केही विदेशी पर्यटक पुग्ने गरेको स्थानीयहरू बताउँछन् ।

अहिले यहाँ पर्यटकहरू क्यामेरा बोकेर पुग्छन् । विशेषगरी बुकीफूल फुल्ने मौसममा चौरीखर्कको दृश्य कैद गर्नै पर्यटकहरू पुग्ने गर्छन् ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ–रुकुमपूर्व जोड्ने पातीहाल्नेसम्म सडक विस्तार भएपछि चौरीखर्क पुग्न सहज भएको छ । पातीहाल्नेदेखि करिब एक घण्टा सवारी यात्रा र त्यसपछि करिब दुई घण्टाको पैदल यात्रापछि पर्यटकहरू चौरीखर्क पुग्छन् ।
बागलुङबाट घुम्न पुगेकी सीता पुन भन्छिन्, ‘यहाँ आएपछि शब्दले बयान गर्न नसकिने प्राकृतिक सौन्दर्य देख्यौँ । बुकीफूल, हिमाल र बादलको दृश्य साँच्चै अविस्मरणीय रहेछ ।’
यस्तै गुल्मीकी ज्योती मगरले सामाजिक सञ्जालमा भिडियो हेरेपछि चौरीखर्क पुगेको सुनाइन् । ‘प्रत्यक्ष देख्दा त भिडियोभन्दा पनि धेरै सुन्दर लाग्यो । यस्तो ठाउँको प्रचार अझ व्यापक हुनुपर्छ,’ उनले भनिन् ।

जाजरकोटका दिनेश रोकाय सडक स्तरोन्नति, बसोबास र आधारभूत सुविधा विस्तार गर्न सके पर्यटक अझ धेरै आकर्षित हुने बताउँछन् ।
दाङको घोराहीबाट पुगेकी अदिका रोका मगर पनि चौरीखर्क पुगेर दंग परिन् । ‘यदि यहाँ पूर्वाधार राम्रो बनाइयो भने चौरीखर्क नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्छ,’ उनको बुझाइ छ ।
सुविधा नहुँदा समस्या
पर्यटकको संख्या बढ्दै गए पनि चौरीखर्कमा अझै होटल, होमस्टे, शौचालय, सूचना केन्द्र, विश्रामस्थल, खानेपानी, फोहोर व्यवस्थापन र उद्धार–सुरक्षाजस्ता आधारभूत सुविधा पर्याप्त छैनन् ।
पर्यटकको चाप बढिरहेको अवस्थामा आवश्यक पूर्वाधार नबने प्राकृतिक सम्पदामाथि नै दबाब बढ्ने चिन्ता पनि स्थानीयले व्यक्त गर्न थालेका छन् ।
पर्यटन व्यवसायीहरूका अनुसार चौरीखर्कमा व्यवस्थित पदमार्ग, दृश्यावलोकन स्थल (भ्यू प्वाइन्ट), पर्यटक सूचना केन्द्र र स्थानीय होमस्टे सञ्चालन गर्न सकिए यसले रुकुमपूर्वको अर्थतन्त्रमा नयाँ ऊर्जा थप्न सक्छ ।


















प्रतिक्रिया 4