काठमाडौं । कमेडियन सुमन कोइराला ‘दले दाई’ ले हाँस्यव्यंग्य कथाको फिल्म ‘तिरिमिरी झ्याइँ’बाट फिल्म अभिनयमा डेब्यू गर्ने भएका छन् । होराइजन मोसन पिक्चर्सले विहिबार शुभसाइत पूजा गर्दै फिल्मको घोषणा गरेको छ ।
छायांकन २९ असारदेखि सुरु हुने जनाइएको छ । ‘कमेडी च्याम्पियन’ टिभी कार्यक्रमबाट उदाएका कोइराला पछिल्लो समय ‘कमेडी नाइट विथ च्याम्पियन’ टिभी शोमा ब्यस्त छन् ।
शोमा ‘दले दाई’ पात्र निर्वाह गरेका उनी त्यसपछि एकाएक चर्चामा आए । फिल्मलाई समीरले निर्देशन गर्दैछन् । शुभसाइत कार्यक्रममा बोल्दै उनले फिल्मले दर्शकलाई हाँस्यव्यंग्यसहित मनोरञ्जन दिने बताए ।
निर्माता प्रद्युम्न बोगटीले पारिवारिक कमेडी कथामा उत्कृष्ट फिल्म बनाउने आफूहरूको उद्देश्य रहेको बताए । पटकथा लेखक आभास अधिकारीले समाजका रमाइला र ठट्यौली घटनाक्रमलाई पर्दामा उतार्ने प्रयास गरिएको बताए ।
फिल्ममा कोइरालाको शीर्ष भूमिका हुनेछ । सहायक कलाकारहरूमा धीरेन शाक्य, सरोज अर्याल, रिअर राई, सुमन कोइराला, सुरज चौलागाईं, राज न्यौपाने, जयराम ढकाल, पुष्कर खतिवडा, राजश्री थापा, घनश्याम जोशी छन् ।
सह–निर्मातामा भूपेन्द्र सिटौला, शम्भु कार्की, विनोद बुढाथोकी, पुष्कर खतिवडा, दिनेश श्रेष्ठ र अनिल शर्मा छन् ।
प्रतिक्रिया 4