+
फिफा विश्वकप २०२६ :

अयुब बुआदीः जसले फ्रान्समा जन्मिएर मोरक्को रोजे, फ्रान्सविरुद्ध नै खेल्दैछन्

२०८३ असार  २५ गते १२:३७ २०८३ असार २५ गते १२:३७

जारी फिफा विश्वकपको क्वार्टरफाइनलमा मोरक्कोले फ्रान्सको सामना गर्दा यी युवा स्टारका लागि यो खेल आफ्नो छोटो खेल जीवनकै सबैभन्दा भावनात्मक र ऐतिहासिक मोड बन्ने निश्चित छ ।

२५ असार, काठमाडौं । फ्रान्समा जन्मिएर मोरक्कोबाट फ्रान्सविरुद्ध नै खेल्दैछन्—१८ वर्षीय मिडफिल्डर अयुब बुआदी ।

जारी फिफा विश्वकपको क्वार्टरफाइनलमा मोरक्कोले फ्रान्सको सामना गर्दा यी युवा स्टारका लागि यो खेल आफ्नो छोटो खेल जीवनकै सबैभन्दा भावनात्मक र ऐतिहासिक मोड बन्ने निश्चित छ । फ्रान्सको उमेर समूहबाट खेलिसकेका बुआदीले फ्रान्सलाई छाडेर मोरक्को रोजेका हुन् ।

फ्रान्सको सेन्लिसमा जन्मिएका र फ्रान्सेली क्लब लिलको एकेडेमीबाट व्यावसायिक फुटबल सुरु गरेका बुआदीले फ्रान्सको विभिन्न उमेर समूहको टोलीबाट खेलिसकेका छन् ।

१७ वर्षको उमेरमा फ्रान्सको यू–२१ टोलीको कप्तानी समेत गरिसकेका उनले सिनियर टोलीमा अवसर पाउन थप पर्खन नचाहेपछि आफ्ना आमाबुबाको देश मोरक्कोबाट खेल्ने निर्णय गरे । उनको यो निर्णयले यतिबेला युरोपेली र अफ्रिकी फुटबल जगतमा ठूलो बहस सिर्जना गरेको छ ।

बुआदी जस्तो असाधारण प्रतिभालाई गुमाउन फ्रान्सेली फुटबल संघ चाहँदैनथ्यो । उनलाई फ्रान्सकै सिनियर टोलीका लागि पर्खन मनाउन धेरै प्रयासहरू भए ।

विश्वकप लगत्तै फ्रान्सको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्न लागेका फुटबलका महान् खेलाडी जिनेदिन जिदानले समेत बुआदीलाई व्यक्तिगत रूपमा फोन गरेका थिए । जिदानले उनको खेलको प्रशंसा गर्दै फ्रान्सकै टोलीमा रहन आग्रह गरे पनि भविष्यको ग्यारेन्टी भने दिन सकेका थिएनन् ।

मोरक्कोका प्रशिक्षकले उनलाई विश्वकप टोलीको सुरुवाती–११ मै खेलाउने आश्वासन दिएपछि बुआदीले आफ्नो मोरक्कन विरासतलाई रोजे । विश्वकपमा बुआदीको प्रदर्शनले उनको निर्णयलाई सहि साबित गरिदिएको छ ।

मोरक्को ऐतिहासिक विश्वकप यात्राको सपना बुनिरहँदा भाग्यले बुआदीलाई त्यही देशविरुद्ध उभ्याएको छ । जसले उनलाई फ्रान्सकै निलो जर्सीमा हेर्न चाहेको थियो । बिहीबार बोस्टनमा हुने फ्रान्स र मोरक्कोबिचको यो क्वार्टरफाइनल भिडन्त खेल कौशलका हिसाबले मात्र नभई बुआदीका लागि भावनात्मक रूपमा पनि एकदमै महत्वपूर्ण छ ।

बीइन स्पोर्ट्सबाट 

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय