२४ असार, काठमाडौं । ४८ टोलीको ऐतिहासिक र रोमाञ्चक प्रतिस्पर्धालाई चिर्दै फिफा विश्वकप २०२६ को ‘अन्तिम आठ’ को समिकरण पूरा भइसकेको छ ।
साविक विजेता अर्जेन्टिनाको संघर्षपूर्ण बचाउ, ब्राजिललाई स्तब्ध पार्ने नर्वेको सनसनीपूर्ण उदय, र आयोजक टोलीहरूको बिदाइले यसपटकको नकआउट यात्रालाई निकै नाटकीय बनायो ।
अपराजित स्पेन र फ्रान्सको बलियो लयदेखि मोरक्को र स्विट्जरल्याण्डको कडा रक्षात्मक रणनीतिसम्मले विश्वकपको उपाधि होडलाई थप रोमाञ्चक मोडमा पुर्याएको छ ।
फुटबल इतिहासकै सबैभन्दा कठिन र लामो बाटो तय गर्दै यी आठ बलिया टोलीहरू अब सुनौलो ट्रफीको कडा भिडन्तका लागि आमनेसामने हुँदैछन् ।
यस्तो छ हरेक टोलीको समूह चरणदेखि क्वाटरफाइनलसम्मको यात्रा:
फ्रान्स

फ्रान्सले समूह ‘आई’ मा आफ्नो आधिपत्य जमाउँदै समूह विजेताको रूपमा नकआउट यात्रा तय गर्यो । फ्रान्सले सेनेगलमाथि ३-१, नर्वेमाथि ४-१ र इराकमाथि ३-० को जित निकालेको थियो ।
राउन्ड अफ ३२ मा फ्रान्सले स्वीडेनलाई ३-० ले पराजित गर्यो भने राउन्ड अफ १६ मा बलियो रक्षापङ्क्ति भएको पाराग्वेविरुद्ध कप्तान किलियन एम्बाप्पेको निर्णायक पेनाल्टी गोलको मद्दतमा १–० को कठिन जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो ।
मोरक्को

सन् २०२२ को सेमिफाइनलिस्ट मोरक्कोले यसपटक पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै समूह ‘सी’ को उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको थियो ।
समूह चरणमा मोरक्कोले ब्राजिलसँग १-१ को बराबरी खेल्दा स्कटल्यान्डलाई १-० अनि हाइटीलाई ४-२ गोलअन्तरले पराजित गर्यो ।
राउन्ड अफ ३२ मा मोरक्कोले नेदरल्यान्ड्सलाई टाइब्रेकरमा पराजित गर्यो । राउन्ड अफ १६ मा मोरक्कोले आयोजक क्यानाडाविरुद्ध पूर्ण रूपमा हाबी हुँदै ३–० को सहज र शानदार जित दर्ता गर्यो ।
अब सेमिफाइनल प्रवेशका लागि उसले फ्रान्ससँग सन् २०२२ को सेमिफाइनल बदला लिने सुनौलो अवसर पाएको छ ।
स्पेन

स्पेनले समूह ‘एच’ को विजेताका रूपमा नकआउटमा स्थान बनाएको थियो । स्पेनले जारी विश्वकपमा हालसम्म एक गोल पनि बेहोरेको छैन ।
समूह चरणमा स्पेनले केप भर्डेसँग गोलरहित बराबरी खेल्दा साउदी अरेबियालाई ४-० अनि उरुग्वेलाई १-० ले पराजित गर्यो ।
राउन्ड अफ ३२ मा स्पेनले अस्ट्रियामाथि ३-० को जित हासिल गरेको थियो ।
राउन्ड अफ १६ मा छिमेकी प्रतिद्वन्द्वी पोर्चुगलविरुद्धको तनावपूर्ण ‘इबेरियन डर्बी’ मा मिकेल मेरिनोको इन्जुरी समयको थप गोलले स्पेनलाई १–० को रोमाञ्चक जित दिलायो।
बेल्जियम

समूह ‘जी’ मा रहेको बेल्जियम सुरुवातमा केही सुस्त देखिए पनि अन्त्यमा विजेता बन्दै नकआउटमा स्थान बनायो ।
समूह चरणमा बेल्जियमले इजिप्टसँग १-१ अनि इरानसँग गोलरहित बराबरी खेलेको थियो । अन्तिम खेलमा न्युजिल्यान्डमाथि ५-१ को फराकिलो जित निकाल्दै समूहविजेता बन्यो ।
राउन्ड अफ ३२ मा बेल्जियमले सेनेगलमाथि २-० ले पछि परेको अवस्था उल्टाउँदै ३-२ को जित हासिल गर्न सफल भयो ।
राउन्ड अफ १६ मा आयोजक अमेरिकालाई उसैको दर्शकमाझ ४–१ को भारी गोलअन्तरले पराजित गर्दै बेल्जियमले आफ्नो आक्रामक लय फिर्ता पाएको संकेत दियो ।
नर्वे

फ्रान्स सम्मिलित समूह ‘आई’ बाट उपविजेता बन्दै नर्वेले अन्तिम ३२ मा स्थान बनाएको थियो ।
समूह चरणमा नर्वेले फ्रान्ससँग ४-१ को हार बेहोरेपनि सेनेगललाई ३-२ अनि इराकलाई ४-१ गोलअन्तरले पराजित गरेको थियो ।
राउन्ड अफ ३२ मा नर्वेले आइभरी कोस्टमाथि २-१ को जित हासिल गर्यो । राउन्ड अफ १६ मा पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वेले इतिहास रच्यो ।
विश्वप्रसिद्ध स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्तिम समयमा दुई गोल गर्दै आफ्नो टोलीलाई क्वाटरफाइनल पुर्याए ।
इंग्ल्यान्ड

इंग्ल्याण्डले समूह ‘एल’ मा आक्रामक फुटबल खेल्दै शीर्ष स्थान हासिल गरेको थियो । इंग्ल्यान्डले क्रोएसियालाई ४-२ ले हराउँदा घानासँग गोलरहित बराबरी खेल्यो भने पानामालाई २-० ले पराजित गर्यो ।
राउन्ड अफ ३२ मा इंग्ल्यान्डले कङ्गोलाई २-१ ले पराजित गर्यो । १-० ले पछि परेको अवस्थामा इंग्ल्यान्डका ह्यारी केनले २ गोल गर्दै टोलीलाई जित दिलाए ।
राउन्ड अफ १६ मा अर्को सह-आयोजक मेक्सिकोको घरेलु मैदान र प्रतिकूल वातावरणमा, १० जनामा समेटिए पनि इंग्ल्यान्डले ३–२ को साहसिक जित निकाल्यो ।
अर्जेन्टिना

लियोनेल मेसीको कप्तानीमा रहेको साविक विजेता अर्जेन्टिनाले समूह ‘जे’ मा विजेता बन्दै नकआउट यात्रा सुरु गर्यो ।
समूह चरणमा अर्जेन्टिनाले अल्जेरियालाई ३-० ले हरायो भने अस्ट्रियालाई २-० अनि जोर्डनलाई ३-१ गोलअन्तरले पराजित गर्यो ।
राउन्ड अफ ३२ मा अर्जेन्टिनाले केप भर्डेमाथि अतिरिक्त समयमा ३-२ को रोमाञ्चक जित निकाल्दै अगाडि बढेको थियो ।
राउन्ड अफ १६ मा इजिप्टविरुद्ध २–० ले पछि परेको अवस्थालाई उल्टाउँदै अर्जेन्टिनाले ३–२ को चमत्कारिक पुनरागमन गर्यो र प्रतियोगितामा आफ्नो बलियो उपस्थिति कायम राख्यो ।
स्विट्जरल्यान्ड

स्विट्जरल्यान्डले समूह ‘बी’ मा निकै अनुशासित र रक्षात्मक खेल खेल्दै शीर्ष स्थान हासिल गर्यो । कतारसँग १-१ को बराबरी खेलेको स्विस टोलीले बोस्निया एन्ड हर्जगोभिनालाई ४-१ ले अनि क्यानडालाई २-१ ले हराएको थियो ।
राउन्ड अफ ३२ मा स्विट्जरल्यान्डले अल्जेरियालाई २-० ले पराजित गर्यो ।
राउन्ड अफ १६ मा कोलम्बियाविरुद्धको १२० मिनेटको कठिन र गोलरहित बराबरीपछि, पेनाल्टी सुटआउटमा ४–३ को जित निकाल्दै स्विट्जरल्यान्ड सन् १९५४ पछि पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा पुग्न सफल भयो ।
अबका खेलहरू
फ्रान्स भर्सेस् मोरक्को : २६ असार (पहिलो क्वाटरफाइनल)
इंग्ल्यान्ड भर्सेस् नर्वे : २७ असार (दोस्रो क्वाटरफाइनल)
स्पेन भर्सेस् बेल्जियम : २८ असार (तेस्रो क्वाटरफाइनल)
अर्जेन्टिना भर्सेस् स्विट्जरल्यान्ड : २८ असार (चौथो क्वाटरफाइनल)
प्रतिक्रिया 4