+

सम्पत्ति शुद्धिकरणको आरोपमा अर्जेन्टिना फुटबल संघमाथि एफबीआईको अनुसन्धान

२०८३ असार  २४ गते १७:४२ २०८३ असार २४ गते १७:४२

२४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनामाथि मैदानबाहिर ठूलो विवाद सिर्जना भएको छ । अर्जेन्टिना फुटबल संघ (एएफए) अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) को प्रारम्भिक अनुसन्धानको घेरामा परेको छ ।

अर्जेन्टिनी सञ्चारमाध्यम ला नासियोन मा प्रकाशित रिपोर्ट अनुसार एफबीआईले एएफएको अमेरिकाभित्र सञ्चालन भएका व्यावसायिक कारोबार र आर्थिक गतिविधिमाथि अनुसन्धान थालेको हो । अनुसन्धानको केन्द्रमा तारमार्फत हुने आर्थिक ठगी, कर छली र सम्पत्ति शुद्धिकरण सम्बन्धी आशंका रहेका छन्।

प्रतिवेदनअनुसार एफबीआई र वासिङ्टन डीसी तथा मियामीका संघीय अभियोजकहरूले एएफएका अन्तर्राष्ट्रिय प्रायोजन तथा व्यावसायिक सम्झौताबाट आएको करोडौँ डलर अमेरिकी बैंकिङ प्रणालीमार्फत कसरी प्रवाह भयो भन्ने विषयमा अनुसन्धान गरिरहेका छन् ।

अनुसन्धानको केन्द्रमा फ्लोरिडामा दर्ता भएको टुरप्रोडएन्टर एलएलसी नामक कम्पनी रहेको बताइएको छ । एएफएको अन्तर्राष्ट्रिय मार्केटिङ र आर्थिक कारोबार व्यवस्थापनका लागि नियुक्त उक्त कम्पनीमार्फत कम्तीमा ४ करोड २० लाख अमेरिकी डलर फ्लोरिडास्थित कर्मचारी वा व्यावसायिक गतिविधि नै नभएका ‘शेल कम्पनी’हरू हुँदै स्थानान्तरण गरिएको आरोप छ ।

अमेरिकी अनुसन्धानकर्ताहरूले अहिले खेल व्यवसायसँग सम्बन्धित विज्ञ तथा विभिन्न व्यक्तिहरूको बयान लिइरहेका छन्। यी कारोबारहरू अवैध रकम लुकाउन वा कर छली गर्न प्रयोग गरिएको हो वा होइन भन्ने विषयमा अनुसन्धान केन्द्रित रहेको जनाइएको छ ।

अर्जेन्टिनामै पनि चलिरहेको छ अनुसन्धान

एफबीआईको अनुसन्धान सुरु हुनुअघि नै अर्जेन्टिनामा पनि एएफएविरुद्ध छुट्टै अनुसन्धान भइरहेको थियो ।

देशको कर तथा भन्सार निकाय (एआरसीए) को अनुसन्धानका क्रममा एएफएको मुख्यालय, राष्ट्रिय प्रशिक्षण केन्द्र तथा रासिङ क्लब र सान लोरेन्सो सहित १७ व्यावसायिक फुटबल क्लबमा एकैपटक ३० भन्दा बढी स्थानमा छापा मारिएको थियो ।

यसैबीच, अर्जेन्टिनाका संघीय न्यायाधीशले एएफए अध्यक्ष क्लाउडियो तापिया र कोषाध्यक्ष पाब्लो तोबिगिनो विरुद्ध करिब १ करोड ३० लाख अमेरिकी डलर बराबरको कर छली प्रकरणमा मुद्दा दर्ता गर्दै उनीहरूको सम्पत्ति रोक्का गर्नुका साथै केही समय विदेश यात्रा गर्न पनि प्रतिबन्ध लगाएका थिए ।

एएफएबाट आरोप अस्वीकार

एएफएले भने आफूमाथि लागेको सबै आरोप अस्वीकार गरेको छ ।

गत डिसेम्बरमा जारी विज्ञप्तिमा संघले सञ्चारमाध्यममा आएका विवरणलाई ‘पूर्वाग्रही र आधारहीन’ भन्दै खण्डन गरेको थियो ।

एएफएले टुरप्रोडएन्टर एलएलसीसँग भएको सम्झौता कानुनी प्रक्रिया अनुरूप भएको दाबी गर्दै उक्त सम्झौताको अर्जेन्टिना र अमेरिकाका अदालतहरूले समेत समीक्षा गरिसकेको र कुनै अनियमितता नभेटिएको जनाएको छ ।

संघले यी कानुनी प्रक्रिया र समाचारहरूलाई संस्थालाई अस्थिर बनाउने उद्देश्यले सञ्चालन गरिएको अभियानको हिस्सा भएको आरोपसमेत लगाएको छ ।

यसैबीच, विश्वकपमा उपाधि रक्षा अभियान जारी राखिरहेको अर्जेन्टिनाका लागि मैदानभित्रको चुनौतीसँगै मैदानबाहिरको यो अनुसन्धानले पनि थप दबाब सिर्जना गरेको छ ।

अर्जेन्टिना फुटबल एसोसिएसन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय