२५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को पहिलो क्वार्टरफाइनलमा आज राति फुटबल इतिहासकै एउटा बहुप्रतिक्षित र ‘हाई-भोल्टेज’ भिडन्त हुँदैछ ।
लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने ऐतिहासिक कीर्तिमानको खोजीमा रहेको युरोपेली पावरहाउस फ्रान्स र अफ्रिकी फुटबलको गौरव मोरक्को सेमिफाइनल प्रवेशका लागि आमनेसामने हुँदैछन् ।
सन् २०२२ को कतार विश्वकपको सेमिफाइनलमा बेहोरेको हारको बदला लिँदै पुनः इतिहास रच्ने दाउमा मोरक्को छ भने कप्तान किलियन एम्बाप्पेको नेतृत्वमा रहेको फ्रान्स आफ्नो आक्रामक लयलाई कायम राख्दै उपाधितर्फ पाइला बढाउन चाहन्छ ।
मैदानभित्र विश्वस्तरीय स्टारहरूको भिडन्त र मैदानबाहिर मोरक्कन समर्थकहरूको गजबको ऊर्जाले गर्दा यो खेल निकै रोमाञ्चक र तनावपूर्ण हुने निश्चित छ ।
हालसम्मको यात्रा
फ्रान्स : फ्रान्सले समूह ‘आई’ मा आफ्नो आधिपत्य जमाउँदै समूह विजेताको रूपमा नकआउट यात्रा तय गरेको हो । समूह चरणमा फ्रान्सले सेनेगलमाथि ३-१, इराकमाथि ३-० र नर्वेमाथि ४-१ को शानदार जित निकाल्दै शतप्रतिशत अंक जोडेको थियो । त्यसपछि राउन्ड अफ ३२ मा फ्रान्सले स्वीडेनलाई ३-० ले सहजै पराजित गर्यो ।
तर, राउन्ड अफ १६ मा बलियो रक्षापङ्क्ति भएको पाराग्वेविरुद्ध फ्रान्सले कडा संघर्ष गर्नुपर्यो, जहाँ कप्तान किलियन एम्बाप्पेको निर्णायक पेनाल्टी गोलको मद्दतमा १–० को कठिन तर परिपक्व जित निकाल्दै फ्रान्सले क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्यो ।

मोरक्को : सन् २०२२ को सेमिफाइनलिस्ट मोरक्कोले यसपटक पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै समूह ‘सी’ को उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको थियो । समूह चरणमा मोरक्कोले बलियो ब्राजिलसँग १-१ को बराबरी खेल्दा स्कटल्यान्डलाई १-० अनि हाइटीलाई ४-२ गोलअन्तरले पराजित गर्यो । नकआउट चरणको यात्रा मोरक्कोका लागि निकै रोमाञ्चक रह्यो ।
राउन्ड अफ ३२ मा नेदरल्यान्ड्सविरुद्ध इसा डियोपको नाटकीय लेट गोलको मद्दतले खेललाई अतिरिक्त समयमा पुर्याउँदै मोरक्कोले टाइब्रेकरमा डच टोलीलाई स्तब्ध पार्यो । त्यसपछि राउन्ड अफ १६ मा मोरक्कोले आयोजक क्यानाडाविरुद्ध पूर्ण रूपमा हाबी हुँदै एजेदिन उनाहीको दुई गोल र सुफियान रहिमीको गोलको मद्दतमा ३–० को सहज र शानदार जित दर्ता गर्यो ।
हेड टु हेड
विश्वकपको मञ्चमा यी दुई टोलीबीच यसअघि मात्र एक पटक भेट भएको छ। सन् २०२२ को कतार विश्वकपको सेमिफाइनलमा भएको उक्त ऐतिहासिक भिडन्तमा थिओ हर्नान्डेज र रन्डल कोलो मुआनीको गोलको मद्दतले फ्रान्सले मोरक्कोलाई २-० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । मोरक्को आज सोही कतारको चोटको बदला लिने सुनौलो अवसरको पर्खाइमा छ ।
समग्र अन्तर्राष्ट्रिय खेलहरूमा पनि फ्रान्सको नतिजा बलियो छ, तर मोरक्कोको वर्तमान टोली जुनसुकै ठुलो टोलीलाई निराश पार्न माहिर मानिन्छ । हालसम्म भएका कुल ६ भेटमा फ्रान्सले ४ खेल जितेको छ भने मोरक्कोले एक खेल जित्दा एक खेल बराबरीमा सकिएको छ । फ्रान्सले १४ गोल गर्दा मोरक्कोले ६ गोल गरेको छ ।

टिम न्युज
फ्रान्स : फ्रान्सेली क्याम्प आत्मविश्वासले भरिएको छ । टोलीमा कप्तान एम्बाप्पे, ओसमान डेम्बेले र माइकल ओलिसे जस्ता खतरनाक आक्रामक खेलाडीहरू उच्च लयमा छन् भने ब्राडली बारकोलाले बेन्चबाट आएर लगातार प्रभाव पारिरहेका छन् ।
पाराग्वेविरुद्धको कठिन जितले टोलीको मानसिक परिपक्वता बढाएको फ्रान्सेली सहायक प्रशिक्षक गुइ स्टेफानले बताएका छन् ।
मोरक्को : मोरक्कोका लागि इस्माइल साइबारी उपलब्ध हुने छैनन् । साइबारी ह्यामस्ट्रिङको चोटबाट पूर्ण रूपमा निको नभएकाले बिहीबार बोस्टनमा हुने फ्रान्सविरुद्धको खेल खेल्ने छैनन् । उनीबाहेक अन्य चोटको समस्या नरहेको बताइएको छ । कप्तान अचराफ हाकिमी र डिफेन्डर इसा डियोपको रक्षापङ्क्ति बलियो देखिएको छ । मिडफिल्डमा उनाही र अग्रपङ्क्तिमा रहिमीको लय टोलीका लागि मुख्य हतियार हुनेछ ।
प्रशिक्षक मोहम्मद उहबीले टोली क्वार्टरफाइनल पुगेर मात्र सन्तुष्ट नरहेको स्पष्ट पारे । ‘हाम्रो लक्ष्य भोलिको खेल जितेर सेमिफाइनल पुग्नु हो। यहाँसम्म आइपुग्नु नै पर्याप्त हो भन्ने सोच हामीलाई स्वीकार्य छैन,’ उनले भने।
सम्भावित सुरुवाती ११
फ्रान्स (४-२-३-१) : माइक मेनान (गोलकिपर), जुलियस कोन्डे, डायोट उपामेकानो, विलियम सालिबा, लुकास डिग्ने, मानु कोने, एड्रिएन राबियट, माइकल ओलिसे, ओस्मान डेम्बेले, ब्राड्ली बार्कोला, किलियन एम्बाप्पे
मोरक्को (४-२-३-१) : यासिन बोनो (गोलकिपर), अचरफ हाकिमी, इसा डियोप, ओसाम्मा हाल्हाल्, नुआसेर माजराउई, अयुब बुआदी, नेइल एल आयनाउई, ब्राहिम डियाज, एजेदिन उनाही, बिलाल एल खानौस, सुफियान रहिमी
***
खेल : फ्रान्स भर्सेस् मोरक्को, क्वाटरफाइनल
मिति र समय : २६ असार, बिहान १:४५ बजे
स्थान : बोस्टन स्टेडियम
प्रत्यक्ष प्रसारण : हिमालय स्पोर्ट्स
प्रतिक्रिया 4