News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहाको गोलबजारमा खेल्न गएका तीन बालबालिकाको पशुहाट बजारस्थित पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ।
- मृत्यु हुनेमा १२ वर्षीया सबनम खातुन, १० वर्षीया रुबिना खातुन र ७ वर्षीय साइफुल शेख रहेका छन्।
- स्थानीय र प्रहरीले उद्धार गरी अस्पताल पुर्याए पनि चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका हुन्।
२८ असार, सिरहा । दैनिकजस्तै आइतबार बिहान पनि सबिना खातुनले आफ्ना छोराछोरीलाई उठाइन्, खाना खुवाइन् र जीविकोपार्जनका लागि फोहोर तथा प्लास्टिक संकलन गर्न जाने तयारी गरिरहेकी थिइन् ।
विद्यालय बिदा भएकाले छोराछोरीलाई घरमै छाडेर जेठी छोरी सबनमसँग बाहिर जाने योजना थियो। तर बिहानै वर्षा सुरु भएपछि उनी छोराछोरीसँगै घरमै बसिन्।
दिउँसो करिब २:३० बजे आमा सबिनालाई जानकारी नदिई जेठी छोरी सबनमसहित पाँचै जना छोराछोरी खेल्न भन्दै घरबाट नजिकैको पशुहाट बजारतर्फ गएका थिए ।
केहीबेरपछि खाल्डोमा डुबेका बालबालिकालाई स्थानीय युवाले मोटरसाइकलमा उपचारका लागि लैजाँदै गरेको देखेका एक छिमेकीले सबिनालाई उनका छोराछोरी डुबेको खबर सुनाए ।
खबर सुन्नासाथ समिना अचेत भइन् । सबिनाकी बहिनी कुलसुम खातुनका अनुसार, सुरुमा एउटा बालिकालाई अस्पताल लगिएको देखेपछि परिवारका सदस्यहरू बजारतर्फ दौडिएका थिए ।
घरबाट निस्केका पाँच बालबालिकामध्ये दुई जना मात्र फर्किएको थाहा पाएपछि स्थानीयको सहयोगमा खोजी गरिएको थियो ।
खोजतलासका क्रममा बाँकी दुई जना बालबालिका खाल्डोमा मृत अवस्थामा फेला परेका थिए। समिनाका श्रीमान् अवास शेख शारीरिक रूपमा अशक्त भएकाले विगत दुई वर्षदेखि आफ्नै गृह जिल्ला रौतहटको जिगरवा गाउँमा बसेर सामान्य रोजगारी गर्दै आएका छन्।
परिवारको अधिकांश जिम्मेवारी सबिनाकै काँधमा रहेको र उनी नै छोराछोरीको पालनपोषण गर्दै आएकी थिइन् । श्रीमानले समय–समयमा थोरै आर्थिक सहयोग पठाउने गरे पनि परिवारको दैनिकी मुख्यतः सबिनाकै श्रममा निर्भर रहेको बहिनी कुलसुमले बताइन्।
मृतकहरू अवास शेखका छोरी १२ वर्षीया सबनम खातुन र १० वर्षिया रुबिना खातुन तथा छोरा -७ वर्षीय साइफुल शेख रहेका छन् ।
रौतहट जिल्लाको जिगरवा स्थायी घर भएका अवास शेख करिब तीन दशकदेखि गोलबजार नगरपालिका–७ मा परिवारसहित बसोबास गर्दै आएका थिए।
सोही खाल्डो गाई-गोरु र भैंसी लगायतका पशुहरूका लागि पानी खानका लागि बनाइएको थियो । घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्याए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया 4