+
+
Shares

एमाले पुनर्गठनको प्रतिवेदन लेख्दै शंकर पोखरेल

नेकपा एमालेमा चासोका साथ हेरिएको पुनर्गठन प्रतिवेदन लेख्न महासचिव शंकर पोखरेलले सुरु गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते १४:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको पुनर्गठनबारे सुझाव समेटिएको प्रतिवेदन लेख्ने काम महासचिव शंकर पोखरेलले सुरु गरेका छन्।
  • प्रतिवेदन तयार गर्न एक हप्ता लाग्ने अनुमान गरिएको छ र यसले पार्टीको भावी कार्यदिशा तय गर्नेछ।
  • पार्टीभित्रको शक्ति–संघर्षका कारण निर्धारित समयमा केन्द्रीय कमिटीको बैठक बस्न सकेको छैन।

 ३१ असार, काठमाडौं । नेकपा एमालेमा चासोका साथ हेरिएको पुनर्गठन प्रतिवेदन लेख्न महासचिव शंकर पोखरेलले सुरु गरेका छन् ।

गत २५ असारमा बसेको कार्यदलको बैठकले प्रतिवेदन लेख्ने जिम्मा उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव पोखरेललाई दिएको थियो । थापा कार्यदलका संयोजक हुन् भने महासचिव पोखरेल सदस्य सचिव छन् ।

‘कार्यदलको निर्णय अनुसार उपाध्यक्ष कमरेड र महासचिव कमरेड प्रतिवेदन लेख्न जुट्नुभएको छ,’ प्रचार विभाग प्रमुख निरज आचार्यले भने, ‘प्रतिवेदन तयार भएपछि पार्टीको थप कार्यक्रम बन्छ ।’

हिजोबाट लेख्न शुरु भएको प्रतिवेदन टुंग्याउन एक हप्ता लाग्ने अनुमान गरिएको छ । ‘असाध्यै धेरै सुझावहरु संकलन गरिएको छ । त्यसलाई व्यवस्थित तरिकाले निष्कर्ष निकाल्न अलिक समय लाग्छ नै,’ स्रोत भन्छ ।

स्रोतका अनुसार संकलित सुझावको ड्राफ्ट अध्यक्ष केपी शर्मा ओलीले एकपटक पढिसकेका छन् । ओलीले अध्ययन गरिसकेको ड्राफ्टलाई महासचिव पोखरेलले प्रतिवेदको ढाँचामा तयार पारिदैछ ।

एमालेमा यो प्रतिवेदनलाई पार्टीको भावी कार्यदिशा तयार पार्ने दस्तावेजकै रुपमा लिइएको छ । ‘प्रतिवेदनका आधारमा पार्टीको थप निर्णय गरिदैछ, त्यसअर्थमा यसलाई आम पंक्तिले चासोका साथ हेर्नु स्वभाविकै हो,’ एक पदाधिकारी भन्छन् ।

उनका अनुसार प्रतिवेदनको मुख्य प्रस्ताव नै एमाले पुनर्गठनको मोडालिटी तस्तुत गर्नु हुनेछ । ‘निर्वाचन किन हारियो भन्ने कुरा त लगभग प्रष्ट भइसकेको छ । अब कसरी अगाडि जाने भन्ने सुझाव प्रतिवेदनले दिनुपर्छ,’ उनी भन्छन् ।

एमालेभित्र अध्यक्ष ओलीले विदा लिएर पुनगर्ठन गर्नुपर्छ भन्ने ठूलो जनमत देखिन्छ । सचिवालयमै पनि ओलीलाई साथ दिने पदाधिकारीको संख्या थोरै छ । खुलेर साथ दिने पदाधिकारी भनेको उपाध्यक्ष थापा र सचिव महेश बस्नेत मात्रै हुन् । लेखराज भट्ट र भानुभक्त ढकालले मध्यमार्गी विचार राखिरहँदा बाँकी सबै पदाधिकारी ओलीलाई विदा गर्ने पक्षमा छन् ।

उच्च स्रोतका अनुसार मधेश प्रदेश बाहेक अरु प्रदेशमा पनि पुनगर्ठनकै पक्षमा माहोल देखिएको छ । ‘मधेशबाट सुझाव पुनगर्ठनको विपक्षमा धेरे सुझाव आएको छ । बागमतीमा अलिअलि छ,’ उनी भन्छन्, ‘बाँकी प्रदेशहरुमा पुनगर्ठनकै पल्लाभारी छ ।’

गत १० असारमा सम्पन्न सचिवालय बैठकले पुनगर्ठनबारे सुझाव लिएर थप छलफल गर्ने निर्णय भएको थियो । सोही अनुसार सातै प्रदेशम पदाधिकारीहरु पुगेर सुझाव संकलन गरेका छन् ।

भूगोल बाहेक जनसंगठन, सम्पर्क समन्वय, राजधानी विधेष प्रदेश, केन्द्रीय विभाग तथा निकाय, सल्लाहकार र प्रवास गरी १३ ठाउँबाट सुझाव संकलन भएको छ । संकलित सुझावहरुको आधारमा सचिवालयले प्रस्ताव तयार पार्ने र केन्द्रीय कमिटीबाट निर्णय लिने एमालेको योजना छ ।

यद्यपि सचिवालय बैठकको कार्यसूची भने प्रभावित भइसकेको छ । सचिवालयले असार तेस्रो साता केन्द्रीय कमिटी राख्नेगरी सुझाव संकलन गर्ने भनेको थियो ।

तर पार्टीभित्र देखिएको शक्ति–संघर्षकै कारण निर्धारित समयमा केन्द्रीय कमिटी बैठक बस्ने स्थिति बनेनन् । अझैपनि केन्द्रीय कमिटी बस्ने टुंगो लागेको छैन ।

महासचिव पोखरेलले सुझाव संकलन प्रतिवेदन तयार भएपछि सचिवालय बसेर मात्रै केन्द्रीय कमिटीबारे निर्णय हुने प्रचार विभाग आचार्य बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?