News Summary
Generated by OK AI. Editorially reviewed.- रौतहटको इशनाथ नगरपालिकास्थित एक पोखरीमा हामफालेका भारतीय युवकको शव बुधबार बिहान फेला परेको छ ।
- मृतकको पहिचान भारतको मोतिहारी जिल्ला निवासी २३ वर्षीय मोहम्मद वजिरका रूपमा भएको प्रहरीले जनाएको छ ।
- जिल्ला प्रहरी कार्यालय रौतहटले शवको मुचुल्का गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएर थप अनुसन्धान सुरु गरेको छ ।
३१ असार, रौतहट। रौतहटको इशनाथ नगरपालिकाको एक पोखरीमा हामफालेका युवकको शव फेला परेको छ ।
इशनाथ नगरपालिका- ४ ठूलो लतममरी स्थित मठिया माध्यमिक विद्यालयको माछा पोखरीमा मंगलबार राति एक पुरुष हामफाल्दा बेपत्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मंगलबार राति साढे ९ बजेको समयमा पोखरीमा एक व्यक्ति हामफालेको सूचना आएपछि प्रहरीले राति नै उनको खोजतलास समेत गरेको थियो ।
अन्दाजी २५–३० वर्षीय पुरुष पोखरीमा हामफालेको भन्ने सूचना आएपछि हिजो नै मठिया प्रहरी चौकी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर खोजतलास सुरु गरेको थियो,’ रौतहटका प्रहरी नायव उपरीक्षक बसन्त गौतमले भने, ‘आज बिहान करिब पौने १० बजे खोजीका क्रममा सोही पोखरीबाट युवकको शव फेला परेको छ ।’
मृतक युवक भारतीय नागरिक रहेको उनले बताए ।
मृतकका दाजु जहिर अहमदले शवको सनाखत गर्दै मृतक भारतको बिहार राज्य, मोतिहारी जिल्ला, ढाका ग्राम पञ्चायत-३० निवासी लाल मोहम्मदका २३ वर्षीय छोरा मोहम्मद वजिर रहेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक विश्वनाथ यादवको नेतृत्वमा टोली घटनास्थलमा पुगेर आवश्यक मुचुल्का तथा अनुसन्धान प्रक्रिया पूरा गरेपछि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको गौतलले बताए ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया 4