३१ असार, काठमाडौं । सम्पत्ति छानबिन आयोग विरुद्धको मुद्दामा विशेषज्ञ रायका लागि नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले दुई/दुई जना कानुनविदहरूको नाम सिफारिस गरेका छन् ।
नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की र टीकाराम भट्टराईलाई एमिकस क्युरी(अदालतको सहयोगी)मा मनोनयन गरेको हो ।
सर्वोच्च अदालत बार एसोसिएसनले वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेल र अधिवक्ता रमण कर्णको नाम मनोनयन गरेको छ ।
नेपाल बारले मनोनयन गरेका वरिष्ठ अधिवक्ता कार्की पूर्वमहान्यायाधीवक्ता हुन् । उनी यसअघि पनि विभिन्न विवादमा एमिकस क्युरीको रूपमा मनोनीत भएका थिए । नेपाल बारका पूर्वअध्यक्ष भइसकेका वरिष्ठ अधिवक्ता भट्टराई संवैधानिक कानुनको क्षेत्रमा क्रियाशिल छन् ।
एमिकस क्युरीमा सर्वोच्च अदालत बार एसोसिएसनबाट मनोनीत डा. दिनमणि पोखरेल पूर्वमहान्यायाधीवक्ता समेत हुन् । उनी यसअघि पनि विभिन्न संवैधानिक विवादका मुद्दाहरुमा बहस-पैरवी गर्दै आएका थिए । रमण कर्ण कर्पोरेट कानुनका ज्ञाता एवं सर्वोच्च अदालत बारका सचिव समेत हुन् ।
दुवै बारले मनोनीत गरेका चार जनाले अब सम्पत्ति जाँचबुझ आयोग विरुद्ध परेको रिट निवेदनमा विशेषज्ञको रुपमा आफ्नो राय दिनेछन् ।
आयोग गठन गैरसंवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा करिब आधा दर्जन रिट निवेदन दर्ता भएका छन् । तर सर्वोच्च अदालतले डा. प्रेमराज सिलवालको रिट निवेदनमा एमिकस क्युरी मगाएको हो ।
प्रतिक्रिया 4