News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा भारतका प्रधानन्यायाधीश सूर्यकान्तको निमन्त्रणामा पाँच दिने औपचारिक भारत भ्रमणका लागि बिहीबार प्रस्थान गरेका छन् ।
- भारतमा प्रधानन्यायाधीश सूर्यकान्तको विवादास्पद अभिव्यक्तिको विरोधमा भइरहेको प्रदर्शनले त्यहाँको राजनीतिक वातावरण तताएको छ ।
- वरिष्ठ अधिवक्ता इन्द्र अर्यालका अनुसार यो भ्रमण व्यक्तिगत नभई संस्थागत प्रकृतिको भएकाले यसलाई विकसित घटनाक्रमसँग जोडेर हेर्न आवश्यक छैन ।
८ साउन, काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा भारतका प्रधानन्यायाधीश सूर्यकान्तको निम्तोमा पाँच दिने भारत भ्रमणमा गएका छन् ।
बिहीबार भारत प्रस्थान गरेको प्रधानन्यायाधीश शर्मा सहितको टोली सोमबार नेपाल फर्कनेछ । सर्वोच्च अदालतका अनुसार, त्यसक्रममा प्रधानन्यायाधीश डा. शर्माले भारतको सर्वोच्च अदालतको समेत भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।
तर प्रधानन्यायाधीश डा. शर्माका लागि तय भएको भारत भ्रमणको समय भने उनका लागि अनुकूलको देखिँदैन ।
उनलाई निमन्त्रणा गर्ने भारतका प्रधानन्यायाधीश सूर्यकान्तको अभिव्यक्तिको प्रतिक्रियास्वरुप स्थापना भएको दल क्रकोच जनता पार्टीको आह्वानमा केही दिनदेखि भइरहेको प्रदर्शनले भारतको सत्ता राजनीति समेत नराम्ररी हल्लिएको छ ।
भारतका प्रधानन्यायाधीश सूर्यकान्तले करिब साढे दुई महिनाअघि एउटा सुनुवाईका दौरान सरकारको आलोचना गर्ने बेरोजगार युवाहरुलाई कक्रोच(साङ्ला) र परजिवी भन्दै आलोचना गरेका थिए ।
आफ्नो अभिव्यक्तिको चर्को आलोचना भएपछि प्रधानन्यायाधीश सूर्यकान्तले सार्वजनिक रुपमा क्षमा माग्दै भारतीय आम युवा नभई झुटा शैक्षिक उपाधीबाट कानून व्यवसायमा प्रवेश गरेकाहरुलाई व्यंग्य गरेर त्यो शब्द बोलेको अभिव्यक्ति दिएका थिए ।
तर उनको त्यो त्रुटी सच्याई निकै ढिलाई भइसकेको थियो, त्यही अभिव्यक्तिको प्रतिक्रियामा ३० वर्षिय अभिजित दिपकेको नेतृत्वमा ‘कक्रोच जनता पार्टी’ स्थापना भएको हो । जसले दिल्लीका केही महत्वपूर्ण ठाँउमा प्रदर्शनको आह्वान गरिरहेको छ ।
केही दिन अघिमात्रै वरिष्ठ कानूनविद्हरुले दिल्लीमा भइरहेको प्रदर्शन र त्यसक्रममा भएको ज्यादतीवारे याचिका(निवेदन) दर्ता गर्न खोजेका थिए । त्यसलाई ठाडै अस्विकार गर्दै प्रधानन्यायाधीश सूर्यकान्तले ‘न्यायाधीश र कानून व्यवसायीहरुको महत्वपूर्ण समय बर्बाद नगर्न’ सुझाव दिएका थिए ।
उनले निवेदन दर्ताको प्रयास अस्विकार गर्दै ‘मेरो र तपाईहरुको महत्वपूर्ण समय बर्बाद नगर्नुहोस्’ भनी अभिव्यक्ति दिएका थिए । त्यसक्रममा कानून व्यवसायीहरुले बर्बर दमनको भिडियो हेर्न आग्रह गर्दा प्रधानन्यायाधीश सूर्यकान्तले त्यसमा आफ्नो कुनै रुची नभएको भनी अस्विकार गरेका थिए ।
न्यायको मन्दिरको सबैभन्दा उच्च आसनमा बसेका व्यक्ति सत्ताको सामू त्रसित भएको भनी सूर्यकान्तको आलोचना भइरहेको हो ।
मानव अधिकारकर्मी समेत रहेका वरिष्ठ अधिवक्ता बाबुराम गिरी दुई मुलुकको न्यायालयका प्रमुखविच अनुभव आदानप्रदान र शिष्टाचारका लागि भ्रमण हुनुलाई स्वभाविक मान्नुपर्ने बताउछन् । अर्का अधिवक्ता इन्द्र अर्यालका अनुसार, यस्तो भ्रमण व्यक्तिगत भन्दापनि संस्थागत प्रकृतिको हुन्छ । उनी भन्छन्, ‘व्यक्तिगत भन्दा संस्थागत निमन्त्रणमा भ्रमण हुन लागेकाले त्यहाँको विकसित घटनाक्रम र विषयबस्तुलाई यहाँ जोड्न आवश्यक हुँदैन ।’
प्रतिक्रिया 4