+
+
Shares
विचार :

हामी कहाँ चुक्यौं ? किन यस्तो निरीह बन्यौं ?

हामीले रणनीतिलाई छोड्यौं, बिर्सियौं वा अवमूल्यन गर्‍यौं। विचारको महत्त्व, निरन्तर स्कुलिङको आवश्यकता तथा विचारको विकास र परिमार्जनलाई पर्याप्त ध्यान दिएनौं।

पुष्पकमल दाहाल प्रचण्ड पुष्पकमल दाहाल प्रचण्ड
२०८३ साउन ८ गते १६:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वाधीनता र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूबीच सहकार्य र साझा न्यूनतम कार्यक्रमको आवश्यकता औंल्याएका छन् ।
  • उनले पछिल्लो समय देखिएको प्रतिक्रान्ति र वैदेशिक हस्तक्षेपको सामना गर्न वैचारिक स्कुलिङसहित युवा पुस्तालाई सामाजिक सञ्जालको प्रभावबाट मुक्त गर्नुपर्नेमा जोड दिएका छन् ।
  • प्रचण्डले सरकार बनाउने खेलभन्दा राष्ट्रिय हितका मुद्दामा केन्द्रित भई सडक र सदनबाट दबाब सिर्जना गर्न सम्पूर्ण वामपन्थी दलहरूलाई आह्वान गरेका छन् ।

अहिले देश निकै ठूलो अप्ठ्यारोमा छ। राष्ट्रिय स्वाधीनतामाथि ठूलो दबाब र हस्तक्षेप छ। प्रतिक्रान्ति र प्रतिगमनले टाउको उठाएको छ र त्यो निरन्तर अगाडि बढिरहेको छ। त्यसकारण सबै कम्युनिस्ट र वामपन्थी शक्ति सहकार्यमा आउनुपर्छ भन्ने नै सबै नेता कमरेडहरूको भनाइको सार रहेको मैले महसुस गरेको छु।

यद्यपि त्यसमा सबैको जोड र कोण एउटै छैन। त्यो परिस्थिति कसरी निर्माण गर्ने भन्ने विषयमा पनि अझै एकरूपता बनिसकेको छैन।

अब प्रश्न हो—हामीले गर्नुपर्ने के हो?

के अहिले हामी मार्क्सवाद, लेनिनवाद, माओवाद वा अन्य सैद्धान्तिक विषयमाथि विमर्श सुरु गर्ने अवस्थामा छौं ? ती विषयको आफ्नै महत्त्व र ऐतिहासिकता छ, त्यसलाई कम आँक्ने कुरा हुँदैन ।

तर ‘आजको देशको राजनीतिक परिस्थिति र वामपन्थी दलहरूको भूमिका’ भन्ने सन्दर्भमा अहिले जुन संकट देखिएको छ, त्यसको सामना कसरी गर्ने र समाधान कसरी खोज्ने भन्ने विषयमा केन्द्रित भएर छलफल गर्नु बढी उचित हुन्छ भन्ने मलाई लागेको छ।

अहिले अन्य कुराले हामीलाई धेरै काम दिँदैन।

गएको २३ र २४ भदौ जुन प्रतिक्रान्तिकारी परिघटना हामीले देख्यौं, जुन प्रकारको वैदेशिक दबाब र हस्तक्षेप देख्यौं, नेपालको सुरक्षा निकायको जुन निरीहता आफ्नै आँखाअगाडि देख्नुपर्‍यो—त्यसको समीक्षा गर्न आवश्यक छ।

सायद नेपालको इतिहासमा सुगौली सन्धिपछि यति ठूलो निरीहता हामी कसैले इतिहासका किताबमा पनि पढ्नुपरेको थिएन।

अंग्रेजसँग वीरतापूर्वक लड्ने नेपाली, नेपाली सेना र त्यसका कमाण्डरहरू भएको शक्ति आज आएर यस्तो निरीह अवस्थामा कसरी पुग्यो?

हिजो सामन्ती निरंकुशताका दमन र अत्याचारविरुद्ध विद्रोह र क्रान्ति गर्ने, कहिले सशस्त्र रूपमा, कहिले शान्तिपूर्ण रूपमा, कहिले जनयुद्ध र कहिले जनआन्दोलनका रूपमा नेपाली जनताको विद्रोही तागत प्रदर्शन गर्ने वामपन्थी दलहरू २३ र २४ भदौसम्म आइपुग्दा किन निरीह र शक्तिहीन देखिए?

यसको समुचित, यथोचित र वैज्ञानिक समीक्षा नगरी आजका चुनौतीको सामना गर्न सकिँदैन।

विगतमा हामीले थुप्रै कमी–कमजोरीको समीक्षा र आत्मालोचना पनि गरेका छौं। तर यसपटक सामान्य समीक्षा र सामान्य आत्मालोचनाले पुग्ने स्थिति छैन। हामीले कहीँ न कहीँ ठूलै त्रुटि गरेका छौं।

हाम्रै आँखाअगाडि यस्तो भयानक परिस्थिति सिर्जना भयो। नेपालका ऐतिहासिक धरोहरहरू जलाइए। राजनीतिक दलका पार्टी कार्यालयहरू जलाइए। त्यहाँ रहेका इतिहाससँग सम्बन्धित सामग्री नष्ट गरिए। एकै दिनमा यति ठूलो विध्वंस हुने परिस्थिति किन बन्यो ?

हामीले ‘साम्राज्यवादले हस्तक्षेप गर्‍यो’ भनेर मात्रै पुग्दैन।

हस्तक्षेप भयो, ठीक हो। तर हामीले के गर्‍यौं? त्यसविरुद्ध किन केही गर्न सकेनौं? यसको जवाफ चाहिन्छ।

यसको सही विश्लेषण नगरी फेरि कसैले जडसूत्रवादी ढंगले पुरानै नारा दोहोर्‍याउने र कसैले आत्मसमर्पणवादी बाटो समात्ने हो भने समस्याको समाधान हुँदैन।

अहिले लामो व्याख्या गर्न सम्भव छैन। तर आफ्नो र हाम्रो पार्टीको अनुभवका आधारमा भन्नुपर्दा, इतिहासमा निरंकुश पञ्चायती तानाशाहीविरुद्ध गरिएका संयुक्त आन्दोलनको अनुभव हामीसँग छ। त्यतिबेला सबै वामपन्थी दलका नेताहरू अहोरात्र खट्थ्यौं, संवाद र सहकार्यमा हुन्थ्यौं र पञ्चायती तानाशाहीविरुद्ध संयुक्त संघर्षमा होमिन्थ्यौं। अन्ततः एउटा सीमासम्म हामी विजयी पनि भयौं।

यति ठूला ऐतिहासिक विद्रोह, क्रान्ति र परिवर्तनको प्रतिनिधित्व गर्न सक्ने, जनतालाई हकअधिकार दिलाउन सक्ने पार्टी र नेताहरू आज विक्षिप्तजस्तो हुने अवस्था किन बन्यो?

हामीले सामन्तवाद र साम्राज्यवादविरुद्ध नेपाली जनताको, अझ विशेष गरी सबैभन्दा उत्पीडित वर्ग र समुदाय—मजदुर, किसान, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, थारूलगायत—को हकअधिकारका निम्ति विद्रोहको झण्डा उठायौं।

१० वर्ष जनयुद्ध भयो। हजारौंको बलिदान भयो।

त्यसको नेतृत्वकर्ताको हैसियतले म स्मरण गराउन चाहन्छु—एकातिर युद्ध चलिरहेको थियो, अर्कोतिर हामी विभिन्न वामपन्थी राजनीतिक दलसँग निरन्तर संवाद र सहकार्य गरिरहेका थियौं। कहिले देशभित्र, कहिले देशबाहिर नेताहरूसँग बसेर छलफल गर्थ्यौं—निरंकुश राजतन्त्रविरुद्ध गणतन्त्रको आन्दोलन कसरी अगाडि बढाउने?

त्यो अनुभव हामीसँग छ।

अन्ततः १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौतासम्म आइपुग्दा जनयुद्ध र जनआन्दोलन जोडिएर एउटा विशाल राजनीतिक आन्दोलन सिर्जना भयो। त्यसले राजतन्त्रको अन्त्य गर्‍यो र देशमा लोकतान्त्रिक गणतन्त्रको नयाँ युगको सूत्रपात गर्‍यो।

सयौं वर्षदेखि दबाइएका, उत्पीडन र विभेदमा पारिएका जाति, समुदाय र वर्गलाई शिर ठाडो गरेर अगाडि बढ्ने अवस्था बन्यो। राज्यमा आफ्नो पनि अपनत्व र स्वामित्व छ भन्ने अनुभूति भयो।

सबैभन्दा ठूलो कुरा, नेपालको इतिहासमा पहिलो पटक संविधानले नेपाली जनतालाई सार्वभौमसत्तासम्पन्न भनेर सम्मानित गर्‍यो।

संविधानको सुरुमै सार्वभौम नेपाली जनताले आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर आफूबाट निर्वाचित जनप्रतिनिधिमार्फत यो संविधान जारी गरेका छौं भन्ने भाव छ। यो आफैंमा युगान्तकारी परिवर्तन हो।

हामी कोही भ्रममा नपरौं- यो त्यत्तिकै सजिलै भएको होइन। ठूलो संघर्ष, बलिदान र मेहनतपछि यो अवस्था सिर्जना भएको हो।

शान्ति सम्झौतापछि संविधानसभाको निर्वाचन हुँदा पनि हामीले कम चुनौती सामना गर्नुपरेको होइन।

एकातिर संविधान बन्न नदिने, गणतन्त्रको संविधान बन्न नदिने देशभित्र र बाहिरका प्रतिक्रियावादी तथा पूँजीवादी शक्तिहरू निकै सक्रिय थिए।

म जनयुद्धको कमाण्डरको हैसियतले यो कुरा प्रत्यक्ष रूपमा अनुभूति गरेको छु। नेपालमा शान्ति सम्झौता नहोस् भनेर विश्वशक्तिका प्रतिनिधिहरू समेत सक्रिय थिए। एकातिर हामी राजनीतिक दलहरू शान्ति प्रक्रिया अगाडि बढाउन समझदारीका दस्तावेज तयार पार्दै थियौं, अर्कोतिर कुनै हालतमा शान्ति सम्झौता हुन दिन हुँदैन भनेर महाशक्तिका प्रतिनिधिहरू हामी जहाँ–जहाँ जान्थ्यौं, त्यहीँ–त्यहीँ पुगिरहेका थिए।

म यहाँ उपस्थित र यस मञ्चमार्फत देशभरका जनतालाई स्मरण गराउन चाहन्छु।

त्यसको हामीले सामना गर्‍यौं।

राजनीतिक दलहरूले नेपाली जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्दै ‘हाम्रो बारेमा निर्णय हामी आफैं गर्छौं’ भन्ने मान्यताका साथ आफ्नै मौलिक विशेषतासहितको विस्तृत शान्ति सम्झौता गर्‍यौं।

हामीले संविधानसभाको निर्वाचन गर्‍यौं। संविधानसभाबाट संविधान बन्न नदिन अनेक प्रयास भए।

म शान्ति सम्झौताको हस्ताक्षरकर्ता र संविधानसभा प्रक्रियामा प्रत्यक्ष संलग्न व्यक्ति हुनुका नाताले भन्न सक्छु—संविधान निर्माण प्रक्रिया रोक्न ममाथि ठूलो दबाब थियो।

तर हामी हिजैदेखि जनता र राष्ट्रका निम्ति मृत्यु स्वीकार गरेर हिँडेका मान्छे हौं। कुनै शक्तिको दबाब र हस्तक्षेपका अगाडि नेपाली जनताको निर्णय गर्ने अधिकारलाई चुनौती दिन दिँदैनौं भन्यौं र दिएनौं।

संविधान बनेपछि हामीले ठूलो नाकाबन्दीको सामना गर्नुपर्‍यो।

संविधान बनाएकै कारण नेपाल र नेपाली जनताले नाकाबन्दी बेहोर्नुपर्‍यो। आफ्नो अधिकार प्रयोग गरेबापत त्यो अवस्था आयो।

तर हामीले भन्यौं- नाकाबन्दीको सामना गर्छौं। नेपाली जनता बरु आधा पेट खाएर बस्न तयार छन्।

मैले त्यतिबेला भनेको थिएँ—तेल नपाए गाडी नचलाऔंला, साइकल चढौंला वा पैदल हिँडौंला, तर विदेशी शक्तिको अगाडि झुक्दैनौं।

हामी झुकेनौं पनि। अन्ततः उनीहरूलाई झुकाएरै छोड्यौं। हामीले जित्यौं, नेपाली जनताले जिते।

राष्ट्रिय स्वाधीनताको प्रश्नमा नेपालको मिचिएको भूमि फिर्ता गर्ने सन्दर्भमा हामीले नक्सा सच्याउने काम संसद्‍बाट सर्वसम्मत रूपमा गर्‍यौं। त्यतिबेला कति ठूलो दबाब थियो होला, तपाईंहरू कल्पना गर्न सक्नुहुन्छ। तर हामी झुकेनौं। अगाडि बढ्यौं र सफल भयौं।

यसरी श्रृंखलाबद्ध रूपमा नेपाली जनताका एकपछि अर्को विजयको नेतृत्व गर्ने हामी पार्टीहरू २३ र २४ भदौमा आइपुग्दा यस्तो निरीह हुने परिस्थिति किन बन्यो?

मेरो प्रश्न यही हो— हामी कहाँ चुक्यौं?

यति ठूला ऐतिहासिक विद्रोह, क्रान्ति र परिवर्तनको प्रतिनिधित्व गर्न सक्ने, जनतालाई हकअधिकार दिलाउन सक्ने पार्टी र नेताहरू आज विक्षिप्तजस्तो हुने अवस्था किन बन्यो?

मैले यी आन्दोलनको एउटा नेताको हैसियतले भन्नुपर्दा, मेरो एउटा निष्कर्ष बन्दै गएको छ।

जनयुद्ध र जनआन्दोलन चलाउँदासम्म हामी सामन्तवाद र साम्राज्यवादविरुद्ध संघर्षको स्कुलिङ गर्थ्यौं। विचारलाई निरन्तर परिमार्जन र स्पष्ट गर्ने कुरालाई उच्च प्राथमिकता दिन्थ्यौं।

विद्यालय र क्याम्पसका विद्यार्थी, युवा पुस्तालाई विचार र परिवर्तनको स्कुलिङ गर्थ्यौं। नेपाल किन पछाडि पर्‍यो भन्ने विषयमा सामन्तवाद, साम्राज्यवाद, शोषण, दमन र हस्तक्षेपका बारेमा बहस गर्थ्यौं। देशभर युवालाई संगठित गरेर अभियान चलाउँथ्यौं।

तर शान्ति सम्झौता र संविधानसभापछि हामीले त्यसो गर्न छोड्यौं।

हामी काठमाडौंमै केन्द्रित भयौं। सरकार र सत्ताको समीकरणमा केन्द्रित भयौं।

म सरकार र सत्ताको कामै होइन भन्दिनँ। त्यो पनि काम हो। तर त्यो कार्यनीतिक कुरा थियो, ट्याक्टिकल कुरा थियो।

हामीले रणनीतिलाई छोड्यौं, बिर्सियौं वा अवमूल्यन गर्‍यौं। विचारको महत्त्व, निरन्तर स्कुलिङको आवश्यकता तथा विचारको विकास र परिमार्जनलाई पर्याप्त ध्यान दिएनौं।

दिनदिनैका सानातिना सुधार, सरकारको समीकरण, प्रधानमन्त्री बनाउने, मन्त्री बनाउने, पालिका र प्रदेशमा निर्वाचित हुने कुरालाई नै हामीले रणनीतिजस्तो बनाउन पुग्यौं। यही नै सबै हो जस्तो गर्‍यौं।

समग्रमा भन्नुपर्दा, कम्युनिस्टहरूको मुख्य गल्ती त्यहीँ भयो भन्ने मलाई लाग्छ।

हामीले युवा पुस्तामा निरन्तर वैचारिक स्कुलिङ गर्नुपर्ने कुरामा ध्यान दिएनौं। हामी अर्कैतिर लाग्यौं। तर नेपाल राष्ट्र र नेपाली जनताका बैरीहरू भने रणनीतिमा लागे।

उनीहरूले सोचे—नेपालमा कम्युनिस्टहरू धेरै बलिया भए, यिनीहरूलाई जसरी पनि कमजोर बनाउनुपर्छ।

त्यसकारण उनीहरूले २० वर्षसम्मका योजना बनाए। रणनीतिक, वैचारिक र प्राविधिक रूपमा यहाँका क्रान्तिकारी तथा जनतालाई कसरी ‘डिमोरलाइज’ गर्ने, कसरी भ्रमित गर्ने, कसरी निस्तेज पार्ने भन्ने ठूला योजना बनाए।

हामीलाई बैरीहरू लागिरहेका छन् भन्ने त थाहा थियो। तर यही स्तरमा, यही रूपमा, एकै दिनमा नेपाललाई विध्वंस पार्ने गरी तयारी गरिरहेका होलान् भन्ने लागेन।

सायद ‘त्यो स्तरसम्म आउँदैनन् होला’ भन्ने भ्रम हामीले पाल्यौं।

अरू थुप्रै गल्ती–कमजोरी होलान्। तर मेरो विचारमा चुरो कुरा के हो भने नेपाल राष्ट्रको स्वाधीनता रक्षाका निम्ति निरन्तर चनाखो हुनुपर्ने, शक्ति सञ्चय र आर्जन गरिरहनुपर्ने, जनताको बीचमा गइरहनुपर्ने र जनतालाई आन्दोलित गरिरहनुपर्ने प्रमुख कामबाट हामी केही न केही विमुख भयौं।

यही नै मुख्य कमजोरी भयो।

त्यसैको परिणाम, उनीहरूले बाकायदा तयारी गरे। हाम्रा युवाको दिमाग कसरी ‘क्याप्चर’ गर्ने भन्नेमा उनीहरूको ठूलो ध्यान केन्द्रित भयो। हामीले त्यसमा ध्यान दिन छोड्यौं।

मैले अस्ति एउटा कार्यक्रममा चिनियाँ क्रान्तिको इतिहास र अफिम युद्धको सन्दर्भ उल्लेख गरेको थिएँ।

साम्राज्यवादीहरूले चिनियाँ जनतालाई कसरी कमजोर बनाउने र त्यहाँका साधनस्रोत कसरी कब्जा गर्ने भन्ने योजनाअन्तर्गत जनतालाई अफिमको लतमा पार्ने काम गरे। जनता लट्ठ परेपछि न राष्ट्रिय स्वाधीनताको चिन्ता रह्यो, न क्रान्ति र परिवर्तनको।

यसपटक हाम्रो कमजोरी र नयाँ पुस्तालाई निरन्तर स्कुलिङ गर्न नसकेको अवस्थामाथि टेकेर नेपाली जनतालाई पनि एउटा प्रकारको ‘अफिम’ खुवाइएको छ।

मैले जनताको अपमान गर्न खोजेको होइन।

त्यो अफिम के हो? सामाजिक सञ्जालमार्फत हुने ‘अल्गोरिदमिक म्यानिपुलेसन’।

त्यसले ठूलो संख्यामा मानिसलाई प्रभावित र लट्ठ बनायो।

अब हामीले पनि एक प्रकारको ‘अफिम युद्ध’ चलाउनुपर्ने अवस्था आएको छ।

जसरी अफिमको नशाबाट चिनियाँ जनता मुक्त भएपछि क्रान्ति अगाडि बढ्यो, त्यसरी नै सामाजिक सञ्जालको यो ‘अफिम’बाट नेपाली युवालाई मुक्त गर्न सक्यौं भने युवाहरू फेरि राष्ट्रको स्वाधीनताका निम्ति बलिदान गर्न तयार हुनेछन्। नेपाली जनताले त्यो आँट गर्नेछन्।

त्यो काम हामीले गर्नुपर्छ। गर्नैपर्छ।

इतिहास साक्षी छ—२००६ सालमा कमरेड पुष्पलालको नेतृत्वमा कम्युनिष्ट पार्टी स्थापना भएदेखि राष्ट्रिय स्वाधीनताको पक्षमा दृढ भएर उभिने शक्ति कम्युनिस्ट आन्दोलन नै रह्यो।

अहिले पनि राष्ट्र जसरी संकटमा छ, त्यसको रक्षा गर्ने प्रमुख जिम्मेवारी कम्युनिस्ट पार्टी र वामपन्थी शक्तिहरूकै हो।

यो परिवर्तन ल्याउन यति ठूलो विद्रोह, आन्दोलन, संविधानसभा लगायतका प्रक्रियाबाट यहाँसम्म आइपुगेका कारण पनि सबैभन्दा बढी चिन्ता तपाईं–हामीलाई नै छ।

२४ भदौबाट अगाडि बढेको कुरा प्रतिक्रान्ति नै हो। यसमा भ्रम हुनुपर्दैन।

तर त्यो प्रतिक्रान्ति अझै पूर्ण भएको छैन।

साम्राज्यवादी, विदेशी प्रतिक्रियावादी र देशभित्रका तिनका दलालहरू त्यो प्रतिक्रान्तिलाई पूर्णता दिने मिसनमा अहिले पनि छन्।

निर्वाचनपछि सरकारले यहाँका उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायविरुद्ध गरेका गतिविधि झन् उदांगो हुँदै गएका छन्।

पहिलो काम, हजारौं–लाखौं सुकुम्बासीलाई बिचल्ली पार्ने देखियो।

दोस्रो, सीमामा दुःख गरेर जीविका चलाउने गरिब मधेशी जनतामाथि प्रहार भयो। सय रुपैयाँभन्दा बढीको सामानमा कर लाग्छ भनेर मधेश र मधेशी जनतामाथि प्रहार गरियो।

तेस्रो, विश्वव्यापी रूपमा स्थापित ट्रेड युनियन अधिकारमाथि प्रहार गरियो। विद्यार्थी आन्दोलनमाथि प्रहार गरियो।

नेपालको इतिहासमा यो चुनाव थियो कि अर्कै केही थियो भन्ने प्रश्नसमेत उठेको छ। विभिन्न ठाउँबाट विभिन्न रिपोर्ट आएका छन्। के–के भयो भन्ने विषयमा म अहिले धेरै जान चाहन्नँ।

यसबाहेक नेपाल चीन र भारतबीच रहेको संवेदनशील भूराजनीतिक अवस्थामा हाम्रा केही आधारभूत मान्यता र मूल्य छन्- असंलग्नता, एक चीन नीति र चीनविरोधी गतिविधि हुन नदिने नीति। सबै राजनीतिक दलले दशकौंदेखि भन्दै आएको होइन र?

तर योपटक त्यसको उल्लंघन भएको छ। दलाई लामाको जन्मोत्सवमा बधाई दिनेदेखि अर्को दलाई लामासम्बन्धी विभिन्न चर्चा चलिरहेका छन्।

यी सामान्य कुरा होइनन्, धेरै गम्भीर विषय हुन्।

अब यसको सामना वामपन्थीहरूले नै गर्नुपर्छ।

त्यसकारण अहिले म ठूला दार्शनिक कुरा गरेर दिमाग खराब गर्न चाहन्नँ। द्वन्द्वात्मक भौतिकवादको व्याख्या गर्न सकिन्छ, मार्क्सवाद–लेनिनवाद–माओवादबारे भन्न सकिन्छ, अरू धेरै कुरा गर्न सकिन्छ।

तर मलाई मार्क्ससँग जोडेर भनिने एउटा प्रसंग जहिले पनि याद आउँछ।

संविधान कस्तो हुनुपर्छ भनेर बुद्धिजीवीहरूले धेरै छलफल, अध्ययन र बौद्धिक बहस गरेर जनतालाई अनेक अधिकार दिनुपर्ने कुरा लेखिरहेका बेला मूल प्रश्न जनताको वास्तविक शक्ति र संगठन हो भन्ने सन्देश मार्क्सले दिएको प्रसंग सम्झन्छु।

कागजमा अधिकार लेखेर मात्रै अधिकार प्राप्त हुँदैन। त्यसका लागि संगठित जनता र शक्ति चाहिन्छ।

अहिले पनि हामीलाई ठूल्ठूला दर्शनका कुराले मात्र धेरै काम दिँदैन।

राष्ट्र संकटमा छ। जनताले प्राप्त गरेका अधिकार खोसिने खतरा छ। उपलब्धिमाथि प्रहार भइरहेको छ। उत्पीडित वर्ग र समुदायमाथि फेरि उत्पीडन र निरंकुशता लाद्ने जमर्को भइरहेको छ।

यसबाट नेपाली जनतालाई फेरि संगठित गरेर अगाडि ल्याउनुपर्छ।

त्यसका निम्ति के चाहिन्छ?

साझा न्यूनतम कार्यक्रम चाहिन्छ।

राष्ट्रिय स्वाधीनताका निम्ति कसरी आन्दोलन गर्ने भन्ने साझा कार्यक्रम बनाऔं।

यसमा कसैलाई आपत्ति हुनुपर्ने कारण छैन। कसैले मार्क्सवाद–लेनिनवाद–माओवाद भनिरहनुस्, आफ्नो विचार र सिद्धान्त मानिरहनुस्। तर राष्ट्रिय स्वाधीनताका निम्ति लड्न तयार हुने साझा कार्यक्रममा एक ठाउँमा आउन सकिन्छ।

नेपालका गरिब, मजदुर, किसान र उत्पीडित वर्ग–समुदायका अधिकार खोस्ने दुस्साहसविरुद्ध जनतालाई संगठित र आन्दोलित गरौं।

सदनमा लडौं। सडकमा लडौं। आउने निर्वाचनमा लडौं। चारैतिरबाट दबाब सिर्जना गरौं।

उनीहरूले जसरी लड्छन्, हामी त्यसरी लड्दैनौं।

माओले भन्ने गर्नुहुन्थ्यो— ‘यु फाइट योर वे, वी फाइट आवर वे’

हामी हाम्रै तरिकाले लड्छौं।

तर, एकै दिनमा पनि उल्ट्याउन सकिँदो रहेछ भन्ने त उनीहरूले हामीलाई सिकाएका छन्।

अब मानौं, वामपन्थी पार्टीहरूले एउटा निश्चित साझा न्यूनतम कार्यक्रम बनाए। हरेक पार्टीले आफ्नो गच्छे र क्षमताअनुसार देशभरबाट पाँच–सात लाख जनता काठमाडौंमा उतार्‍यो र हरेक सदरमुकाममा एक–डेढ लाख जनता परिचालन गर्‍यो भने एकै दिनमा परिस्थिति उल्ट्याउन सकिँदैन त?

उनीहरूले सिकाए—एकै दिनमा पनि हुँदो रहेछ। धर्ती–आकाश नै फेरबदल हुन सक्दो रहेछ।
हामीले यतातर्फ किन नसोच्ने ?

सबैले एकपटक सोच्नुपर्छ। नत्र बर्बाद हुन सक्छ।

मैले पहिले नै भने—प्रतिक्रान्तिको प्रक्रिया अझै पूर्ण भएको छैन। त्यसलाई पूर्ण गर्ने तयारी उनीहरूले पनि गरिरहेका छन्।

हामी पहिले जस्तै सरकार बनाउने र गिराउने खेलतिर मात्रै लाग्यौं भने अर्को प्रतिक्रान्तिको क्रममा हामी सबै उठ्नै नसक्ने गरी थचारिन पनि सक्छौं।

त्यसकारण अहिले समय छ। यही समय हो।

अब ठूल्ठूला गफ गर्न छोडौं। हामीलाई एकताबद्ध गरौं र एक्सनमा जाने तयारी गरौं। त्यो सम्भव छ र सम्भव बनाउनैपर्छ।

त्यसकारण राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग–समुदायका हकअधिकारको रक्षा, संविधानको रक्षा र गणतन्त्रको रक्षालाई केन्द्रमा राखेर साझा न्यूनतम कार्यक्रम बनाऔं।

यसका निम्ति सबैको साझा पहल चाहिन्छ।

अहिले नै पार्टी एउटै हुने अवस्था छैन। त्यतातिर टाउको दुखाएर झमेला नगरौं। अहिले नै पार्टी एकता गर्छौं भन्यौं भने फेरि झगडा सुरु भइहाल्छ।

मैले यसअघि पनि भनेको थिएँ—विगतको पार्टी एकताको समीक्षा नगरी र अब फेरि उही समस्या दोहोरिँदैन भन्ने एक हदसम्म सुनिश्चित नगरी हतारमा पार्टी एकता गरेर फुर्सदमा पछुताउनु हुँदैन।

तर सहकार्य र कार्यगत एकता तत्काल सम्भव पनि छ, आवश्यक पनि छ।

आजै–भोलिदेखि त्यसमा जान कुनै कारणले रोक्दैन।

इमानदारीपूर्वक साझा आन्दोलनमा गयौं भने भविष्यमा पार्टी एउटै बन्ने आधार पनि त्यहीँबाट बन्न सक्छ।

साझा सहकार्य, साझा आन्दोलन, साझा कर्म र प्रतिक्रियावादीसँगको साझा संघर्षले हामीबीच एकताको भावना पैदा गर्न सक्छ।

अब अन्तिममा एउटा कुरा।

योपटक चुनाव सकियो। परिणाम हामी सबैले सोचेभन्दा बिल्कुल उल्टो आयो। कसरी आयो, के भयो—यसको अध्ययन र अनुसन्धान हुँदै जाला।

नेपालको इतिहासमा यो चुनाव थियो कि अर्कै केही थियो भन्ने प्रश्नसमेत उठेको छ। विभिन्न ठाउँबाट विभिन्न रिपोर्ट आएका छन्। के–के भयो भन्ने विषयमा म अहिले धेरै जान चाहन्नँ।

तर हामीले एउटा गल्ती गरेका छौं।

कहिले कांग्रेससँग सहकार्य, कहिले एमालेसँग सहकार्य, कहिले मधेशी दलसँग सहकार्य—यसो गर्दागर्दै हाम्रो दिन त्यसैमा बित्यो। जनता पनि भ्रमित भए।

त्यसकारण अब हाम्रो प्राथमिकता सरकार होइन।

हाम्रो प्राथमिकता साझा न्यूनतम कार्यक्रम बनाउने र आन्दोलनमा जाने हो।

हामी अहिले सरकारतिर छैनौं।

साम्राज्यवाद र प्रतिक्रियावादबाट पैदा भएको संकटको सामना गर्न साझा कार्यक्रम बनाएर अगाडि बढ्नु नै आजको मुख्य आवश्यकता हो।

अहिले हामीलाई एउटा झमेला भने आइपरेको छ—प्रदेश सरकारको।

हामीले सुरुदेखि नै भनेका थियौं—कांग्रेस र एमालेको सरकार सबै प्रदेशमा छ, तपाईंहरू चलाइराख्नुस्, हामीलाई चाहिएको छैन।

तर बजेटका बेला कांग्रेस र एमालेबीच यस्तो विवाद आयो कि बजेट नै पास गर्न नसक्ने अवस्था बन्यो। त्यसपछि प्रदेशलाई नै बर्बाद हुन त दिनु भएन भनेर हामीले ध्यान दिनुपर्ने परिस्थिति आयो।

म यहाँ तपाईंहरूलाई साक्षी राखेर र पत्रकार साथीहरूलाई पनि स्पष्ट भन्न चाहन्छु—

हामीलाई अहिले सरकार चाहिएको छैन। नेपाली कम्युनिष्ट पार्टीको प्राथमिकता सरकार हुँदै होइन।

राष्ट्रिय स्वाधीनता र जनताको हकअधिकारका निम्ति आन्दोलन गर्नु आजको आवश्यकता हो।

कांग्रेस र एमालेले आलोपालो सरकार चलाउने भन्नुभएको थियो, चलाउनुस्। हामी बाधा दिँदैनौं।

वामपन्थी सहकार्य सरकारमा हुँदा मात्रै हुने र सरकारमा नभए नहुने होइन। सरकारमा भए पनि सहकार्य हुन्छ, नभए पनि हुन्छ।

तर संविधानमै गाँठो पर्ने वा प्रदेशका कारण मूल राजनीतिक प्रक्रियामै गाँठो पर्ने अवस्था आयो भने नेपाली कम्युनिष्ट पार्टी त्यो गाँठो फुकाउन सहयोग गर्न तयार छ।

हामी जिम्मेवारीबाट पन्छिएको आरोप पनि नलागोस्।

गाँठो फुकाउनैपर्ने अवस्था आयो भने सहयोग गर्न सक्छौं। तर हामीलाई हैरान नपार्नुस्। सरकार नखोजेको पार्टीलाई सरकार खोजिरहेको छ भनेर नबनाइदिनुस्।

नखोजेको कुरा भोलि स्थानीय, प्रदेश वा अन्य निर्वाचनपछि खोजौंला।

अहिले गाँठै पर्‍यो र ‘नेपाली कम्युनिस्ट पार्टी चाहियो’ भन्नुभयो भने गाँठो फुकाउन सहयोग गरौंला।

अन्त्यमा, आज वामपन्थी दलहरूको आवश्यकता के हो भन्ने कुरा फेरि दोहोर्‍याउन चाहन्छु।

साम्राज्यवाद र प्रतिक्रियावादबाट पैदा भएको संकटको सामना गर्न साझा कार्यक्रम बनाएर अगाडि बढ्नु नै आजको मुख्य आवश्यकता हो।

(पुष्पलाल मित्रता केन्द्रले शुक्रबार राजधानीमा पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा नेकपाका संयोजक  दाहालले व्यक्त गरेको विचारको सम्पादित अंश )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?