News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्रीले प्लाइउड निर्यातमा देखिएका नीतिगत र प्राविधिक अवरोधहरू हटाउन सम्बन्धित निकायलाई तत्काल निर्देशन दिनुभएको छ।
- व्यवसायीहरूले कच्चा पदार्थको आपूर्ति, भारतीय गुणस्तर मापदण्डसँगको समकक्षता र क्वारेन्टाइन कार्यविधि नहुँदा देखिएका निर्यात समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
- सरकारले कच्चा पदार्थको निर्यात घटाउँदै प्रशोधित काठजन्य वस्तुको निकासी बढाउन आवश्यक नीतिगत सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ।
८ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्लाइउड निर्यातका अवरोध हटाउन निर्देशन दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समितिबीच शुक्रवार सिंहदरबारमा भएको भेटवार्तामा प्लाइउड क्षेत्रका विद्यमान समस्या र निर्यातका सम्भावनाबारे विस्तृत छलफल भएको हो ।
भेटका क्रममा प्रधानमन्त्रीले प्लाइउड निर्यातमा देखिएका नीतिगत र प्राविधिक गाँठो फुकाउन तत्काल सम्बन्धित निकायलाई निर्देशन दिनुभएको नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समितिका सभापति होमप्रसाद दाहालले बताए ।
उनका अनुसार प्लाइउड व्यवसायीहरूले यस क्षेत्रलाई नेपालको निर्यात व्यापारको एक प्रमुख हिस्साका रूपमा प्रश्तुत गर्दै यसका चुनौतीहरूबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
व्यवसायीहरूले कच्चा पदार्थको आपूर्तिमा देखिएका समस्या, भारतीय गुणस्तर मापदण्ड र नेपाल गुणस्तर बीचको समकक्षता कायम गर्नुपर्ने आवश्यकता लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए ।
‘सम्माननीय प्रधानमन्त्रीज्युसँग विभिन्न क्षेत्रका प्रतिनिधिका रूपमा छलफल भयो । म प्लाइउड उद्योगको प्रतिनिधिका रूपमा सहभागी भएको थिएँ । नेपालबाट ठूलो परिमाणमा निर्यात हुनसक्ने सम्भावना भएको प्लाइउड उद्योगको वर्तमान अवस्था, लगानी, सम्भावना र समस्याबारे हामीले जानकारी गरायं ैँ। प्रधानमन्त्रीज्यूले धैर्यपूर्वक कुरा सुन्नुभयो, जिज्ञासा राख्नुभयो र समाधानका उपायबारे छलफल गर्नुभयो । हामीले कच्चा पदार्थ, भारतीय मापदण्ड (बीआईएस) र नेपाली मापदण्ड (एनएस) बीचको समकक्षता तथा अन्य नीतिगत समस्याबारे ध्यानाकर्षण गरायौं,’ दाहालले भने ।
विशेषगरी प्लाइउड, ढोका (डोर) र काठजन्य सामग्री निर्यातका लागि आवश्यक फाइटो स्यानिटरी र फ्युमिगेसन सर्टिफिकेटसम्बन्धी कार्यविधि नहुँदा निकासी प्रक्रिया रोकिएको विषयमा व्यवसायीहरूले जोड दिएका थिए ।
सरकारले अघि सारेको काठ निर्यातको योजनालाई सफल बनाउन सल्लो र अन्य हार्डउडजन्य सामग्रीको निर्यातका लागि आवश्यक कार्यविधि तत्काल तयार गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।
‘तत्काल समाधान गर्न सकिने विषयमा उहाँले सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । विशेषगरी, क्वारेन्टाइन कार्यविधि नबन्दा प्लाइउडका ढोका तथा काठजन्य सामग्रीको निर्यात रोकिएको विषयमा आवश्यक कार्यविधि तत्काल तयार गरी प्रक्रिया अघि बढाउन निर्देशन भएको छ । त्यसैगरी, कच्चा पदार्थ मात्रै निर्यात गर्ने अवस्थालाई अन्त्य गरी प्रशोधित वस्तु निर्यात बढाउने विषयमा पनि सरकारले आवश्यक नीति र सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ,’ उनले भने ।
यसैगरी, स्वदेशमा तयारी वस्तु उत्पादन गर्ने सम्भावना हुँदाहुँदै ठूलो परिमाणमा कच्चा पदार्थ बाहिरिरहेको विषयमा पनि छलफल भएको छ । यस सम्बन्धमा सरकारले आवश्यक परामर्श गरी ठोस कदम चाल्ने आश्वासन दिएको दाहालले बताए ।
प्रतिक्रिया 4