News Summary
Generated by OK AI. Editorially reviewed.- सन् १९२४ को जुन ८ मा सगरमाथा आरोहणका क्रममा हराएका ब्रिटिश आरोही जर्ज मेलोरी र एन्ड्रियु इर्भिनको रहस्यमय कथा १०२ वर्षपछि पनि उत्तिकै चासोमा छ ।
- सन् २०२४ सेप्टेम्बरमा सेन्ट्रल रोङबुक हिमनदी क्षेत्रमा फेला परेको बुट र खुट्टाको डीएनए परीक्षणबाट त्यो एन्ड्रियु इर्भिनको भएको पुष्टि भएको छ ।
- मेलोरी र इर्भिनले सगरमाथाको चुचुरो चुमेका थिए वा थिएनन् भन्ने प्रश्न अझै अनुत्तरित छ र क्यामेरा फेला परेमा मात्र इतिहास बदलिने सम्भावना जीवितै रहन्छ ।
२९ मे १९५३ । संसारकै अग्लो शिखर एभरेष्टको चुचुरोमा पहिलो पटक पाइला टेक्नेमा एडमण्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पाको नाम इतिहासमा लेखिएको दिन । जतिबेला सगरमाथा नामाकरण समेत भइसकेको थिएन् ।
१०२ वर्षसम्म नसुल्झिएको सगरमाथा आरोहणको रहस्यले संकेत गर्छ, तथ्यहरूको खोजले कुनै दिन त्यो इतिहास बदलिन पनि सक्छ।
यहाँ त्यही रहस्यमाथि चर्चा गर्दैछु, जसले इतिहास बदलिने सम्भावनालाई नकार्दैन । एडमण्ड र तेञ्जिङले सगरमाथा आरोहण गरेको समयभन्दा २९ वर्षअघि ८ जुन १९२४ मा त्यही सगरमाथाको चुचुरो नजिकैबाट हराएका ब्रिटिश आरोही जर्ज हर्बर्ट ली मेलोरी र एन्ड्रियु सान्डी इर्भिनको नसुल्झिएको आरोहणको रहस्यसँगै छन्, थुप्रै अनुत्तरित प्रश्नहरू ।
के मेलोरी र इर्भिन सगरमाथामा पहिलो पाइला टेक्ने आरोही हुन् ? उनीहरू सगरमाथामा पाइला टेकेपछि हराए वा नटेक्दै हराए ?

सगरमाथामा पाइला टेक्न सुरु भएको मानव संघर्षको कथा १०४ वर्ष लामो छ । र, त्यो कथा सुरु हुन्छ, मेलोरीसँगै । यो थाह पाउनु अघि सगरमाथाको मापन, नामाकरण र आरोहणको इतिहासतर्फ फर्किन आवश्यक छ ।
सन् १८५२ मा संसारकै सर्वोच्च शिखर घोषणा गरिएको त्यो हिमाल, जसलाई तिब्बतीहरूले चोमोलोङ्गमा भन्थे । नेपालीहरूले झ्यामोलोङ्गमा । इष्ट इण्डिया कम्पनीका महान त्रिकोणमितीय सर्भेक्षणका सर्भेयर राधानाथ सिकन्दरले झ्यामोलोङ्गलाई यो संसारको सर्वोच्च शिखर भएको पुष्टि गरेका थिए ।
पहिलो पटक नाप्दा यसको उचाई ८८४० मिटर थियो । पछि ८८४८ मिटर उचाई रहेको पुष्टि भयो । जसको हालको उचाई ८८४८.८६ मिटर अर्थात २९०३१.६९ फिट रहेको छ ।
ट्रायग्नोमेट्री र थिओडीलाइट विधिबाट नापिएको यो शिखरलाई सुरुमा पीक एक्सभी (पन्ध्रौं चुली) नाम दिइयो । पछि सन् १८६५ मा सर्वेक्षक महानिरीक्षक जर्ज एभरेष्टको नामबाट एभरेष्ट नामाकण गरियो । तत्कालीन सर्वेक्षक महानिरीक्षक एन्ड्रयु स्कट वाउले जर्ज एभरेष्टको सम्मानमा यसको नामाकरण गरेका थिए । जसलाई ८९ वर्षपछि, स्न १९५६ मा इतिहास शिरोमणी बाबुराम आचार्यले सगरमाथा नाम दिए ।
मापन र नामाकरणको श्रेय पाएका बेलायतीले नै एभरेष्टमा मान्छे पुग्न संभव भएको दावी गरे । त्यो दावी गर्ने एल्पिनिष्ट एवं चिकित्सक थिए, थोमस डेण्ट । सन् १८८५ मा डण्टले आफ्नो पुस्तक ‘एबभ द स्नो लाइट’ मा त्यो कुरा उल्लेख गरे । जुन कुरा स्न १९१६ मा बेलायतका रसायनशास्त्री एवं हिमाल आरोही अलेक्जेन्डर केल्लासको अध्ययनले पुष्टि गर्यो । उनको निष्कर्ष थियो, शारीरिक र मानसिक रुपले बलियो व्यक्तिले सगरमाथा आरोहण गर्न सक्छ ।
त्यसपछि ब्रिटिशहरूलाई लाग्यो, एभरेष्टमाथि टेकिने पहिलो पाइला आफ्नो हुनुपर्छ । दुस्साहसी जर्ज म्यालोरी ब्रिटिशहरूको त्यही सपना पुरा गर्न चाहन्थे ।
को थिए मेलोरी ?
१८ जुन १८८६ मा बेलायतको चेशायरस्थित मोबर्लीमा जन्मिएका मेलोरीका बुबा पादरी थिए । विन्चेस्टर कलेजबाट प्रारम्भिक शिक्षा पूरा गरेपछि उनी क्याम्ब्रिजबाट विश्वविद्यालय भर्ना भए । त्यहाँ उनी अध्ययनसँगै पर्वतारोही क्लबमा सक्रिय भए ।
सोही क्रममा युरोपका विभिन्न हिमालहरूको आरोहण गरे । रुचि पर्वतारोहणमा थियो । पढे इतिहास । अध्ययन पूरा गरेपछि रोजे, शिक्षण पेशा । प्रेमिका रुथसँग विवाह गरे । सन १९१४ मा पहिलो विश्वयुद्ध सुरु भयो । पढाउन छोडे । बेलायती सेनामा लेफ्टिनेन्ट भए । युद्ध लडे । युद्ध सकियो । पर्वतारोहणमा फर्किए ।
ब्रिटिशहरू एभरेष्टमा पहिलो पाइला राख्न लालायित थिए । त्यही उद्देश्यले सन १९१९ मा पर्वतारोहणको पहिलो सँगठन ‘अल्पाइन क्लब’ खुल्यो । ज्योग्राफिकल सोसाइटीको समन्वयमा अल्पाइन क्लवले ‘ब्रिटिस माउन्ट एभरेस्ट रिकोनोसेन्स एक्सिपिडिसन’ का लागि ९ सदस्यीय टोली बनायो, जसका एक सदस्य थिए, मेलोरी ।
मेलोरी आवद्ध पर्वतारोहीको टोली एभरेष्ट आरोहणमा निस्कियो । जसको उद्देश्य थियो, एभरेष्ट आरोहणको मार्ग पहिल्याउनु र जोखिम आँकलन गर्नु । नेपाली मोहडाबाट आरोहण खुला थिएन ।
दलाई लामाबाट आरोहणको अनुमति लिए । दार्जीलिङबाट सन १९२१ मे १८ मा सुरु भएको ‘ब्रिटिश माउन्ट एभरेष्ट रिकोनोडेन्स एक्सिपिडिसन’ २३ सेप्टेम्बरमा नर्थकोलको २३०३० फिट (७०१९ मिटर) सम्म पुगेर टुंगियो । उनको आरोहण दलले पहिलो पटक नर्थकोल पुग्ने कीर्तिमान कायम गर्यो । यो अभियानले उत्तर कुम्बु–उत्तरी रिजलाई शिखर पुग्ने सम्भावित मार्गका रूपमा स्थापित गर्यो । म्यालोरीको टिम सगरमाथा आरोहणको मार्ग, अनुभव र साहस बटुलेर फर्कियो ।
सन १९२२ मा ‘ब्रिटिश माउन्ट एभरेष्ट एक्सिपिडिसन’ सगरमाथाको चुचुरोमा पाइला टेक्ने उद्देश्यसहित मेलोरीकै सहभागितामा ‘ब्रिटिश माउन्ट एभरेष्ट एक्सिपिडिसन’ आरोहणमा निस्कियो । आरोहीहरू ८,१६८ मिटरसम्म पुगे । त्यसको केहीमाथि हिमपहिरोमा सात जना भरियाको मृत्यु भएपछि उनीहरूले आरोहण स्थगित गरे । र, फर्किए ।
१९२३ मा आरोहण स्थगित भयो । र, उनी अमेरिका पुगे । मार्च १८ मा न्युयोर्क टाइम्सले उनीसँग अन्तर्वार्ता लियो । अन्तर्वार्ताका क्रममा पत्रकारले मेलोरीलाई प्रश्न सोधे, ‘तपाईं किन एभरेष्ट चढ्न चाहनुहुन्छ ?’
दुई पटक असफल भएपछि तेस्रो आरोहणको तयारीमा जुटेका उनले जवाफमा भने, ‘बिकज इट्स देयर’, अर्थात् ‘किनकि यो त्यहाँ छ ।’
‘क्लाइम्बिङ माउन्ट एभरेष्ट इज वर्क फर सुपरम्यान’ शीर्षकमा छापिएको त्यो अन्तर्वार्तामा उनले दिएको यो सटिक जवाफ निकै चर्चित भयो ।
हृदयमा प्रेम र आँखामा सपना नभएको मान्छेको लक्ष्य हुँदैन । मेलोरीसँग यी दुवै कुरा थिए । र त, उनको लक्ष्य स्पष्ट थियो–एभरेष्टको चुचुरो चुम्ने ।उनी रुथलाई औंधी माया गर्थे । हिमालसँग उनको गहिरो लगाव थियो । यस्तो लाग्थ्यो, उनी रुथ र हिमालको दोहोरो प्रेममा थिए।
बेलायत छोड्दा उनको मनमा रुथ थिइन्, आँखामा एभरेष्ट । र जीवनको लक्ष्य थियो, शिखर चुम्ने ।
मेलोरी सन् १९२४ मा ‘ब्रिटिश माउन्ट एभरेष्ट एक्सिपिडिसन’ मा पुनः सहभागी भए । सगरमाथा आरोहणको तीन वटै अभियानमा सहभागी हुने उनी एक्लो थिए । टिममा उनले एन्ड्रियु सान्डी इर्भिनलाई थपे, जो अक्सिजन विज्ञ एवं इन्जिनियर थिए ।
एभरेष्ट, जसलाई थर्ड पोल भनिन्थ्यो । उत्तर र दक्षिण ध्रुवमा पहिलो पाइला राख्ने प्रयासमा असफल भएका ब्रिटिशहरू थर्ड पोलमा दोस्रो हुनचाहँदैनथे। एभरेष्ट–जसको मापन, नामारकण ब्रिटिशले गरेका थिए । र, जहाँ चढ्न सम्भव भएको कुरा पनि ब्रिटिशहरूले दावी गरेका थिए । त्यो सर्वोच्च शिखरमा ब्रिटिश पहिलो पाइला राख्न चाहन्थे । त्यो दृढ संकल्प पूरा गर्ने अठोटसहित मेलोरी बेलायतबाट निस्किएका थिए ।
दुई महिना दार्जीलिङबाट तिब्बततर्फको यात्रामा बिताएका उनीहरूले सगरमाथाको बेसक्याम्पभन्दा माथिको कठोर चिसोमा एक महिना बिताइसकेका थिए ।
दुई महिनामा दुई पटक सगरमाथा आरोहणको असफल प्रयास गरेका उनीहरू एक पटक नर्थ कोलको आधारमा रहेको क्याम्प ३ र अर्को पटक क्याम्प ४ सम्म चढेका थिए । प्रतिकूल मौसमका कारण उनीहरू दुबै पटक बेसक्याम्प फर्किन बाध्य भए ।
सगरमाथाको असफल आरोहणका क्रममा दुई दिनअघि ‘स्नो ब्लाईन्डनेस’ भएका नोर्टन १७००० फि (५३०० मिटर) मा राहतको पर्खाइमा थिए । जुन महिनाको सुरुवात उनीहरूका लागि सुखद् रह्यो । उनीहरू २५३०० फिट(७७१० मिटर) पार गरेर २७००० फिट ( ८२३० मिटर) मा रहेको क्याम्प ६ मा पुग्न सफल भए । त्यहाँ टिकिरहन सक्ने अवस्था नभएपछि क्याम्प ४ मा झरेका थिए।

समय, ६ जुन १९२४ को बिहान । स्थान, सगरमाथाको नर्थ कोल । सूर्योदय भइसकेको थियो । समुन्द्री सतहबाट ७०६६ मिटर को उचाईमा रहेको कपडाको साधारण टेण्टबाट मेलारी र इर्भिन बाहिर निस्किए । र, नोएल ओडेल र जोन दे ले हेजार्डले बिहानको ताजा खाना तयार पारेका थिए, जसमा फ्राइड स्यान्डवीच, बिस्कुट र चिया थियो ।
हावाले चिरिएका बरफ र ढुंगाका ढिस्काहरूको बीचबाट सगरमाथाको चुचुरोतर्फ जाने बाटो सुरु हुन्थ्यो । बिहानको खाजा खाएपछि मेलोरी र इर्भिन चुचुरोतर्फ अघि बढे । उनीहरूलाई ओडेल र हेजार्डले बिदाइ गरे ।
ओडेलले उनीहरूको बिदाईको तस्वीर खिचे । बिहान ८:४० बजे ८ जना तिब्बती भरियासहित अतिरिक्त अक्सिजन लिएर मेलोरी र इर्भिन नर्थ कोलको क्याम्प– ५ तर्फ अघि बढे । ८ घण्टापछि चार जना भरिया मेलोरीको पत्रसहित क्याम्प –४ मा फर्किए ।
पत्रमा मेलोरीले लेखेका थिए, यहाँ कुनै हावा चलेको छैन र सब कुरा आशाजनक देखिन्छ ।
७ जुनमा मेलोरी र इर्भिन चार जना भरिया सहित क्याम्प ६ तर्फ अघि बढे । यता शिखर आरोहण गरेर झर्ने क्रममा मेलोरी र इर्भिनलाई सहायता आवश्यक परे सहयोग गर्न सकियोस भनेर ओडेल दुई जना भरियासहित क्याम्प ४ तर्फ उक्लिए । ओडेल अक्सिजनबिना नै अघि बढेका थिए ।
क्याम्प –६ मा मेलोरी र इर्भिनका लागि टेण्ट लगाएर चारै जना भरिया तल झरे । उनीहरूको हातमा मेलोरीले पठाएका दुई वटा पत्र थिए । सानो नोटबुकका फाडिएका पानामा लेखिएका ती पत्रमा मेलोरी र कप्तान नोयललाई सम्बोधन गरिएको थियो ।
नोयल आरोहण अभियानका चलचित्र निर्देशक थिए । जो क्याम्प –३ मा बसेर मेलोरी र इर्भिनको आरोहणका दृश्य कैद गरिरहेका थिए ।
नोयललाई पठाएको पत्रमा मेलोरी लेख्छन्,
प्रिय नोयल
सायद राम्रो मौसम भेट्न भोलि साँझ ८ बजे हामी सेकेण्ड स्टेप चढिरहेका हुनेछौं । तपाईका लागि त्यो समय अलि चाँडै हुनेछ ।
पत्रमा मेलोरीले पीएम लेखेकोले त्यसको अनुवाद साँझ हुन गए पनि उनले भूलवश पीएम लेखेका थिए । किनकी मेलारी र इर्भिन बिहान ८ बजे (एएम) मा शिखर चढ्ने तयारीमा थिए ।
त्यस्तै मेलोरीले ओडेललाई पठाएको पत्रमा आफूहरूसँग दुई वटा सिलिण्डरका लागि ९० एटमस्फियर ग्याँस बाँकी रहेको उल्लेख गरेका छन् । पत्रमा उनी लेख्छन्– त्यसैले हामी सायद ती दुई सिलिन्डर लिएर अघि बढ्नेछौं तर चढाइका लागि त्यो साँच्चिकै भारी बोझ हो ।
अक्सिजनको अभावमा शिखरमा पुग्न नसक्ने अवस्था देखिँदैन् । र, अक्सिजनको अभावमा उनीहरूको मृत्यु नभएको पनि यो पत्रबाट पुष्टि हुन्छ ।
पत्रमा क्याम्प –५ भित्र छुटेको कम्पास क्याम्प –६ मा पुर्याइदिन ओडेलसँग आग्रह गरेका मेलोरीले भोलिपल्ट क्याम्प –४ मा फर्किन समेत आग्रह गरेका थिए । टेण्टमा दुई जना मात्र अट्ने भएकोले आफ्ना लागि खाली राखिदिन उनले आग्रह गरेका थिए ।
ओडेलले त्यो रात नर्थकोलको क्याम्प –४ मा बिताए । जहाँ डरलाग्दो हावाहुरी चल्थ्यो । त्यो रात शान्त रह्यो । बिहान आकाश खुला थियो । मेलोरी र इर्भिन त्यो रात क्याम्प –६ मा थिए । जुन शिखरबाट २००० फिट तल थियो ।
शिखरमा पुग्न १०० फिट अग्लो कडा चट्टान, जसलाई ‘फर्स्ट स्टेप’ भनिन्थ्यो, त्यो पार गरेपछि सय फिट उचाईको ‘सेकेण्ड स्टेप’ चढ्नु पर्थ्यो । हिउँले ढाकिएको पिरामिड छिचोलेर अघि बढ्नु अत्यन्त जोखिमपूर्ण थियो, जसलाई ‘युद्धपोतको अगाडिको तिखो भाग जस्तै’ वर्णन गरिएको छ ।
८ जुनको बिहान ८ बजे ओडेल बोरा, कम्पास र आवश्यक सामग्री बोकेर क्याम्प ६ तर्फ लागे । मेलोरी र इर्भिन त्यही समय शिखरतर्फ अघि बढेको हुनुपर्छ । पश्चिमतर्फबाट हिउँको कुहिरो माथि शिखरतर्फ फैलिँदै थियो । ओडेल कुहिरोलाई लिएर चिन्तित भएनन् । किनकी त्यस्तो कुहिरो धेरै बेर रहँदैनथ्यो । उनलाई त्यसको जानकारी थियो ।
उनी हतार नगरी अघि बढे । मेलोरी र इर्भिनलाई हेर्न एउटा ढुंगामाथि चढे । जहाँबाट सगरमाथाको शिखर प्रष्टसँग देखे । दिउँसो १२:५० बजे उनको नजर एउटा सानो हिउँको घुम्तीमा, एउटा ढुंगाको सिँढीमुनि रहेको कालो बिन्दुमा पर्यो । त्यो कालो बिन्दुसँगै अर्को कालो बिन्दु शिखरमा चढ्यो । कालो बिन्दुझैं देखिने मेलोरी र इर्भिन थिए ।
अचानक आएको बादलमा दुबै कालो बिन्दु ढाकिए । त्यसपछि पुनः कालो बिन्दुहरू देखिएनन् । मेलोरी र इर्भिन शिखरबाट झण्डै तीन घण्टामात्र टाढा रहेकोले उनीहरू शिखरबाट फर्किँदा आवश्यक तयारी गर्न सकियोस भन्ने सोचले ओडेल क्याम्प –६ मा पुगे ।
त्यहाँ पुग्दा हिउँको आँधी चलेपछि उनी दुई जना अट्ने टेण्टमा बस्न खोजे । जहाँ मेलोरी र इर्भिनको खाना, कपडा, सुत्ने झोला, अक्सिजन सिलिण्डर र अन्य उपकरणहरू छरपष्ट थिए । सानो चट्टानले ढाकिएको ढुंगाको छेउमा क्याम्प थियो । हिउँको आँधीले त्यो ढाकिएपछि फेला पार्न गाह्रो हुनसक्थ्यो ।
उनी टेण्ट छोडेर २०० फिट माथि चढेर सिठ्ठी बजाउन र कराउन थाले । ताकी मेलोरी र इर्भिनलाई टेण्टमा फर्किन सजिलो होस । तर मेलोरी र इर्भिन फर्किने समय भइसकेको थिएन् । उनी साँझ ४:३० बजे मेलोरीको कम्पास र उनीहरूका लागि ल्याएको खाना त्यहीँ छोडेर क्याम्प ४ तर्फ झरे ।
हजार्डले उनलाई तातो चियाले स्वागत गरे । त्यो रात ओडेलले क्याम्प–४ मा बिताए । रात सफा थियो । उनले सोचे, चुचुरोमा टेकेर फर्किन ढिलो भए मेलोरी र इर्भिन क्याम्प–६ वा क्याम्प–५ मा रात बिताउने छन् ।
ओडेल र हजार्डले दुरबिनबाट क्याम्प–५ र क्याम्प–६ तिर हेरे । तर त्यहाँ कुनै गतिबिधि देखेनन् ।
९ जुन दिउँसो मेलोरी र इर्भिनको खोजीका लागि ओडेल दुई जना भरियासहित माथि उक्लिए । उनी डेथ जोन पार गरेर साँझ क्याम्प–५ मा पुगे । त्यहाँ कोही थिएन । त्यो खाली थियो ।
१० जुनमा क्याम्प–६ मा जान ओडेललाई भरियाहरूले साथ दिएनन् । भरियाहरू माथि चढ्न तयार भएनन् । भरियालाई तल पठाए । आफू अतिरिक्त अक्सिजन लिएर क्याम्प ६ तर्फ अघि बढे । क्याम्प–६ पनि रित्तो थियो, क्याम्प–५ झैं । हिउँआँधीले टेण्टको एउटा पोल ढालेको थियो।
उनी क्याम्पबाट २०० फिट माथि उक्लिए । जुन मार्ग भएर मेलोरी र इर्भिन चुचुरोतर्फ गएका थिए । उनले केही फेला पारेनन् । त्यहाँ दुई घण्टा भीषण आँधी र हुरीको सामना गरेपछि उनी तल झरे ।
फर्किने क्रममा उनले हिउँमा आरोही सुत्ने बोरा बिछ्याए । र, क्याम्प–५ मा फर्किए । हजार्डलाई त्यसले जानकारी होस कि, कोही फेला परेनन् । मेलोरी र इर्भिन नफर्किपछि आरोहण दलका बाँकी सदस्य उनीहरूलाई मृत घोषणा गर्दै दुई दिनपछि फिर्ता भए ।
आरोहण दलका प्रमुख नर्टनको छोटो सन्देश सहित द टाईम्सले २१ जुन १९२४ मा एउटा समाचार प्रकाशित गर्यो,– ‘मेलोरी र इर्भिन अन्तिम प्रयासमा मारिए ।’
यो अभियानमा बेलायत सरकार मेलोरीको साथमा थियो । किनकी यो उनको निजी संकल्प थिएन । र त, उनको मृत्युमा संसार स्तब्ध भयो । बेलायत शोकमा डुब्यो । र, बेलायतका राजारानीले समवेदना प्रकट गरे ।
मेलोरीको एभरेष्ट आरोहणको अभियानमा १३ जनाले ज्यान गुमाए । जसमध्ये ९ जना नेपाली थिए ।
क्याप्टेन जोन जिओफ्री ब्रुसले ‘द एसल्ट अन माउन्ट एभरेस्ट–१९२२’ पुस्तकमा सन् १९२२ को आरोहणमा हिमपहिरोमा परी सात नेपाली शेर्पाहरूले ज्यान गुमाएको उल्लेख गरेका छन् ।
यसअघि सन् १९२१ मा बेलायती नागरिक अलेक्जेन्डर माइकल केलास र एक भारतीयको आरोहण प्रयासकै क्रममा मृत्यु भएको थियो।
सन् १९२४ मा म्यालोरी, इर्भिनसहित चार जनाको मृत्यु भयो । जसमध्ये दुई जना नेपाली थिए । सन् १९२४ मा अल्पाइन जर्नलमा प्रकाशित लेखमा छैटौं गोर्खा रेजिमेन्टका क्याप्टेन जोन जिओफ्री ब्रुसले गोर्खाली सेनाका लेस नायक शमशेर पुन र मान बहादुरको मृत्यु भएको बताएका छन् ।
थर र ठेगाना उल्लेख नगरिएका मान बहादुरलाई जुत्ता बनाउने कामका लागि आरोहणका क्रममा लगिएको उल्लेख छ ।
‘गोर्खा एनसीओ शमशेर पुनको ब्रेन ह्यामरेजबाट मे १३ मा र दुवै खुट्टा हिउँले खाएका मान बहादुरको निमोनियाबाट मे २५ मा आधार शिविरमा मृत्यु भएको थियो ।
मेलोरी र इर्भिन हराएको ९ वर्षसम्म एभरेष्ट आरोहणमा रोक लगाइयो । सन् १९३३ मा अर्का पर्वतारोही पर्सी विन ह्यारिसले शिखर नजिक एउटा बञ्चरो भेटेका थिए । यो इर्भिनको भएको अनुमान गरिएको छ ।
१९३६ मा अर्का पर्वतारोही फ्रयांक स्मिथले टेलिस्कोपबाट हेर्दा दुईवटा शव केही दूरीमा देखेका थिए । उनले ती शव ८,१०० मिटरमा देखेका थिए।
सन १९७५ मा चिनियाँ पर्वतारोही वाङ होङबाओले शिखर चढेका बेला एउटा शव देखेका थिए । अन्त्यमा सन् १९९९ मा मेलोरीको शव २६,७०० फिटमा भेट्टाए, जुन शिखर भन्दा २,३३५ फिट तल हो ।
७५ वर्षपछि अमेरिकी पर्वतारोही कोर्नाड एंकरको टोलीले सन १९९९ मे १ मा मेलोरी शव फेला पारेको हो ।
शवसँगै ‘ब्रान्ड एन्ड कम्पनी साभोरी मिट लोन्जेज’ लेखेको खानेकुरा राख्ने टिनको बट्टा, पकेट चक्कु, छाप भएको रुमाल, भित्री पकेटमा एक जोडी सनग्लास, मोजा, जिङ्क अक्साइड, केही चिट्ठीपत्रहरू, स्वानभिस्ता नामक सलाईको बट्टा, ए डब्लु गामाका लेखेको विल, जहाँबाट उनले फिर्ता गर्ने सर्तमा पाँच जोडी ग्लोभ्स लिएका थिए ।
शवसँगै भेटिएको कपडामा जी. मेलोरी लेखिएको ट्याग थियो ।
उनको हातको घडी बन्द थियो । सुई १० बजेर १५ मिनेटमा रोकिएको थियो । हिमालको उचाइ नाप्ने पित्तलको अल्टिमिटरको सिसा फुटेको थियो । काँटा हराएका थिए ।
शिखरतर्फ घोप्टिएको अवस्थामा फेला परेको मेलोरीको शवको पिठ्युतर्फको भाग हिउँले खाएर सेतो मार्बलझैं टल्किएको थियो । शरीरमा उल्लेख्य चोटहरू थिए । कम्मरमा बाँधिएको डोरीले गहिरो घाउ बनाएको थियो । त्यही डोरीमा बाँधिएका इर्भिन खस्दा मेलोरीको कम्मरमा कस्सिएको डोरीले घाउ बनाएको अनुमान गरिएको छ ।
उनको दाँया खुट्टा भाँचिएको थियो । ‘स्नो ब्लाइन्डनेस’ बाट जोगाउने सन ग्लास उनको भित्री खल्तीमा थियो । जसले उनी चुचुरोमा पुगेर फर्किने क्रममा राति दुर्घटनामा परेको संकेत गर्थ्यो । यसअघि असावधानीवश सन ग्लास नलगाउँदा आरोही एडवर्ड नोर्टनलाई ‘स्नो ब्लाइन्डनेस’ भएको थियो । सगरमाथाको चुचुरोमा चढ्न दृढ संकल्प लिएर अघि बढेका मेलोरी त्यस्तो गल्ती गर्न सक्दैनथे ।
स्कार्फमा छोपेर राखिएका सबै तस्वीर भेटिए । तर उनकी श्रीमती रुथको तस्वीर भेटिएन । सगरमाथाको चुचुरोमा छोडेर आउने बाचा गरेर उनले श्रीमती रुथको तस्वीर लगेका थिए । उनी शिखरमा पुगेर फर्केको अनुमान गर्ने एउटा आधार त्यो पनि हो ।
न इर्भिनको शव फेला पर्यो न इर्भिनका साथमा रहेको मेलोरीको क्यामेरा । शिखरमा पुगेको भए इर्भिनले पक्कै तस्वीरहरू कैद गरेका थिए होलान् । फेला पर्न नसकेको क्यामेरा र इर्भिनको शवसँगै सगरमाथामा दविएको छ, म्यालोरी र इर्भिनको सगरमाथा आरोहणको त्यो रहस्य ।
के मेलोरी र इर्भिनले सगरमाथाको चुचुरोमा पाइला टेके ? १०२ वर्षपछि पनि यो प्रश्न अनुत्तरित छ ।
जरुरी छैन्, सबै दुस्साहसी सफल हुन्छन् । तर तिनै दुस्साहसीले हिँडेको बाटो र असफलताको पाठले अरूलाई सचेत मात्र गराउँदैन, सफल हुन मार्ग निर्देश समेत गर्छ ।
१०२ वर्ष लामो सगरमाथा आरोहणका क्रममा जे जति कीर्तिमानहरू कायम भए । जति पटक मानव पाइला चुचुरोमा पुगे । त्यसको श्रेय म्यालोरी र इर्भिनको आरोहण दललाई जान्छ ।
मेलोरी हराएको २९ वर्षपछि २९ मे १९५३ मा एडमण्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पाले सगरमाथाको चुचुरोमाथि पाइला टेके । हिलारीले चुचुरोमा पुगेर मेलोरीलाई सम्झिएको बताएका थिए । मेलोरीको साहस र संकल्पबाट प्रभावित भएर आफूले सगरमाथामा पाइला टेकेको बताउन समेत हिलारी चुकेनन् ।
भलै, मेलोरी हराएको ७५ वर्षपछि मृत फेला परे । तर ‘किनकी त्यो त्यही छ’ भन्ने उनको जवाफले संसारभरिका आरोहीहरूलाई एभरेष्टतर्फ डोर्याइरहेको छ । डोर्याइरहने छ ।
मेलोरी र इर्भिनको मृत्युबारेका अड्कलहरू
मेलोरी र इर्भिनको मृत्युलाई लिएर पर्वतारोही र अनुसन्धानकर्ताहरूले थुप्रै अड्कल गरेका छन् । कसैले हिउँमा चिप्लिएर उनीहरूको मृत्यु भएको आंकलन गरेका छन् । कतिपयले अक्सिजनको कमीले ।
‘लास्ट आवर्स अन एभरेष्ट’ पछि ‘फर्स्ट अन एभरेष्ट’ पुस्तक प्रकाशित गरेका लेखक तथा टेलिभिजनकर्मी ग्राहम होएल्यान्डले म्यालोरी र इर्भिनका सम्बन्धमा गरिएका थुप्रै खोज, अध्ययन र अनुसन्धान र आरोहीहरूको अनुभवका आधारमा कम अक्सिजनका कारण हाईपोक्सियाबाट उनीहरूको मृत्यु भएको दावी गरेका छन् ।
अंग्रेजीमा एउटा पुस्तक प्रकाशित छ–घोष्ट अफ एभरेष्ट । अर्थात सगरमाथाको भूत ।
यो पुस्तक ‘मेलोरी एन्ड इर्भाइन रिसर्च एक्सपिडिसन १९९९’का सदस्य जोहेन हेमेलब, ल्यारी ए. जोनसन, एरिक आर. साइमनसनको को अनुभव र अनुसन्धानमा आधारित छ । जसलाई उनीहरूकै शब्दलाई अमेरिकी लेखक ई. नथडुर्फ्टले घोष्ट अफ एभरेष्टमा उतारेका हुन् ।
यही टोलीका सदस्य अमेरिकी पर्वतारोही कोर्नाड एंकरले १ मे १९९९ मा मेलोरीको शव भेटेका थिए ।
२७ वर्षअघि गरिएको त्यो खोजले आजभन्दा १०२ वर्षअघि सगरमाथा आरोहणका क्रममा चुचुरो नजिकैबाट हराएका मेलोरी र इर्भिनका बारेमा धेरै तथ्यहरू त पत्ता लगायो । तर त्यहाँ शवसँगै प्राप्त सामग्रीका आधारमा मेलोरी र इर्भिनले सगरमाथाको चुचुरोमा टेक्न पाए कि पाएनन् ? यो रहस्य भने सुल्झाउन सकेन । त्यही ऐतिहासिक रहस्यको खोजमा आधारित छ, यो पुस्तक ।
एउटै व्यक्तिले फरक-फरक समयमा गरेका अध्ययन र अनुसन्धानपछि बाझिने अभिव्यक्ति दिएका छन् ।
सगरमाथाको चुचुरोमा पुग्न नपाई उनीहरूको मृत्यु भएको अनुमान गर्नेहरू पनि छन् । उनीहरू चुचुरोमा पुगेर बेसक्याम्प फर्किने क्रममा हिउँमा चिप्लिएर खसेको अनुमान गर्ने पनि उत्तिकै छन् । होयल्याण्डले आरोहण रद्द गरेर फर्किने क्रममा चिप्लिएर अचम्म हिसाबले डुबेको हुनसक्ने आंकलन गरेका छन् ।
‘उनीहरू शिखरको करिब ८६०० मिटरको उचाईमा पुगिसकेका थिए। भगवानको नजिकै, जहाँ त्यसभन्दा अगाडि मान्छे पुगेकै थिएनन्।’ फोटोग्राफर जोन बाटिस्ट लुसियस नोएलले ‘द एपिक अफ एभरेस्ट’ वृत्तचित्रमा भनेका छन्, ‘मेलोरी र इर्भिन माथि, अझै माथि उक्लिरहेको यो दृश्य नोयल ओडेलले हेरिरहेका थिए ।’
उनीहरू २४८ मिटर पार गरेपछि शिखरमा पुग्थे । तर त्यसपछि उनीहरू पुनः देखिएनन् । न त फर्किए। ओडेलसहितका आरोहण टोलीका सदस्यहरूले दुई दिन दुई रातसम्म सात हजार मिटरमाथिसम्म खोज्न गए। तर उनीहरू भेटिएनन् । त्यसपछि मेलोरी र इर्भिनलाई मृत घोषणा गरेर निराश भएर फर्किए ।
‘मेलोरी एन्ड इर्भाइन रिसर्च एक्सपिडिसन’ मा १२ जना शेर्पा सहभागी थिए । जसमध्ये एक थिए, सगरमाथा आरोही पानुरु शेर्पा ।
पानरुका अनुसार मेलोरीको शव ७५ वर्षसम्म नष्ट भएको थिएन् । यद्यपि शरीर सङ्लो थिएन् । हिउँले खाएको शरीरको बाहिरी भाग मार्बलझैं चम्किरहेको थियो । एउटा खुट्टा भाँचिएको थियो । त्यहाँ फेला परेका सामग्री र प्रमाणले त्यो शव मेलोरीको हो भन्ने पुष्टि भयो । उनको नाम लेखिएको कपडा, श्रीमती रुथलाई लेखिएका पत्रहरू र उनले प्रयोग गरेका सबै सामग्रीहरू त्यहाँ भेटिएका थिए ।
मेलोरीको शव पाउँदा खोजी दलका सदस्यहरू अत्यन्त खुसी थिए । यद्यपि इर्भिनको शव र उनीसँग रहेको क्यामेरा नभेट्दा उनीहरू दुःखी थिए ।
किनकी मेलोरी सगरमाथाको शिखरमा पुगे/नपुगेको प्रमाण त्यही क्यामेरामा थियो भन्ने उनीहरूको अनुमान थियो । जुन क्यामेरा इर्भिनसँग थियो । त्यो क्यामेरा नभेटिँदा मेलोरी र इर्भिनको त्यो साहसिक सगरमाथा आरोहणको रहस्य सुल्झिन सकेन् ।
मेलोरी र इर्भिनको खोजी आरोहण दललाई सहयोग गर्न खटिएको थियो, १२ जना क्लाइम्बिङ शेर्पाको टिम । विदेशी पर्वतारोही टिम ८३०० मिटरमा क्याम्प राखेर मेलारी र इर्भिनको शव खोजीमा जुटेको थियो । पानरु भन्छन्, ‘क्लाइम्बिङ शेर्पाको टिमले भने बेसक्याम्पबाट अक्सिजन, खानेकुरा लगायतका अत्यावश्यकीय सामग्री जुटाएर ल्याउँथ्यो ।
नेपाली मोहडामा ५३०० मिटरसम्म मात्र याक पुग्ने भए पनि तिब्बती मोहडामा ६५०० मिटरसम्म याक पुग्ने हुँदा क्याम्पसम्म सामान पुर्याउन केही सहज भएको पानरुले अनुभव सुनाए । मेलोरीको शव भेटिएको तीन घण्टापछि अनुसन्धान तथा अध्ययन सकेर अनुष्ठान गरी शवलाई ढुंगाले छोपेर टोली फर्किएको पानरुले सुनाए ।
‘मेलोरी एन्ड इर्भाइन रिसर्च एक्सपिडिसन १९९९’का सबैभन्दा कान्छा सदस्य थिए, दानुरु शेर्पा । त्यसको दुई वर्षपछि सन् २००१ मा इर्भिनको खोजीका लागि २० जना विदेशी आरोही र २१ जना शेर्पा पुनः सोही क्षेत्रमा पुगे । शेर्पाहरूको नेतृत्व पानुरु शेर्पाले गरेको थिए । जुन टोलीमा दानुरु समेत थिए ।
तेस्रो पटक २००४ मा अमेरिकी आरोही डेभ हानको टोलीमा सहभागी भएर दानुरुले इर्भिनको खोजी गरे । त्यो टिममा दुई जना विदेशी र दुई जना शेर्पा थिए ।
मेलोरी र इर्भिनको खोज अभियानमा तीन पटक सहभागी भएका दानुरु शेर्पा दुवै जना हराएको क्षेत्रको सुक्ष्म अवलोकन गरेपछि निष्कर्षमा पुगे– सगरमाथाको चुचुरोमा टेकेर फर्किँदा दुर्घटनामा परेर उनीहरूको मृत्यु भएको हो ।
८६०० मिटरमा इर्भिन र मेलोरीको क्याम्पको अवशेष भेटिएको छ । उनीहरू त्यहाँभन्दा माथि रहेको सेकेण्ड स्टेप पुगेको तथ्यहरूले देखाउँछ । सेकेण्ड स्टेपबाट बिस्तारै गए पनि डेढदेखि दुई घण्टामा शिखरमा पुग्न सकिन्छ, दानुरु भन्छन्, ‘सेकेण्ड स्टेपमा पुगिसकेका उनीहरू चुचुरोमा नपुगी फर्किने कुरै भएन् ।
दुई वर्षपछि २००१ मा इर्भिनको शव र क्यामेरा खोज्न गएको अर्को टोलीले ८६०० मिटरमा टेण्टका अवशेष र डोरी फेला पारेको थियो । त्यो टोलीका गाइड थिए– सगरमाथा आरोही पानरु । जो यसअघि मेलोरीको शव पत्ता लगाउने टोलीमा समेत सहभागी थिए ।
तिब्बत र नेपाल दुवैतर्फबाट १६ पटक सगरमाथा आरोहण गरेका पानरुको भनाइमा सेकेण्ड स्टेपमा पुगेको आरोही शिखर नचुमी फर्किँदैन । कित भयानक विपत्तिको शिकार हुनुपर्यो, अन्यथा बढीमा डेढ÷दुई घण्टामा पुग्न सकिने शिखरमा जोकोही पुगिछाड्छ ।
मेलोरीले पछ्याएको मार्ग, उनीहरू पुगेको भनिएको सेकेण्ड स्टेप र मेलोरीको लाश परेको स्थानको अध्ययन गर्दा मेलोरी र इर्भिनले बाटो बिराएका थिएनन्, पानरुको दावी छ, उनीहरू शिखरमा पुगेर फर्किने क्रममा दुर्घटनामा परेको हुन सक्छन् ।
मेलोरीको शव भेट्ने एंकर भने दुविधामा देखिन्छन् । मेलोरीको शव र त्यो सँगै फेला परेका सामग्रीहरूले उनले शिखर चढेको पुष्टि गर्दैन् । एंकरले भनेका छन्, ‘म अहिलेसम्म सम्भावनामा विश्वास गर्छु । त्यो सम्भावना कम छ ।’
तर सम्भावना मान्छेको मृत्युको शताब्दीपछि पनि जीवित रहने विश्वासलाई १०० वर्षपछि फेला परेको इर्भिनको खुट्टाले बलियो बनाएको छ ।
नेशनल जियोग्राफिकको डकुमेन्ट्री टोलीका नेता विश्वप्रसिद्ध पर्वतारोही, फोटोग्राफर तथा चलचित्र निर्देशक जिमी चिनले इर्भिन हराएको झण्डै १०० वर्षपछि उनको खुट्टा फेला पारे ।

सगरमाथाको उत्तरी मोहडामुनि रहेको सेन्ट्रल रोङबुक हिमनदी क्षेत्रमा खुट्टा सहितको बुट फेला परेको थियो । त्यसमा रहेको मोजामा ए.सी इर्भिन लेखिएको थियो ।
सेप्टेम्बर २०२४ मा फेला परेको त्यो खुट्टा डीएनए परीक्षणपछि इर्भिनकै भएको पुष्टि भएपछि सार्वजनिक घोषणा भने ११ अक्टोबर २०२४ मा गरिएको थियो।
इर्भिन र उनका साथमा रहेको कोडाकको क्यामेरा फेला नपरेका कारण मेलोरी शिखरमा पुगेको कुरा पुष्टि हुन सकेको छैन् । सयवर्षपछि इर्भिनको खुट्टा त फेला पर्यो । क्यामेरा भेटिए त्यसमा शिखर पुगेको तस्बिर सुरक्षित रहेको विश्वास गरिन्छ । क्यामेरामा मेलोरीले शिखरमा पुगेको तस्बिर भएको अनुसन्धानकर्ताहरूको आकंलन छ । त्यो तस्बिर फेला परे सगरमाथा आरोहणको इतिहास फेरिन सक्ने सम्भावना मेलोरी र इर्भिन हराएको १०२ वर्षपछि पनि जीवितै छ ।
कठिन घडीमा श्रीमती रुथलाई म्यालोरीको पत्र
मेलोरीले सगरमाथा आरोहणका क्रममा आफ्नो अनुभव, कठिनाइ, पीडा, संघर्षसँगै निराशा पत्रहरूमा उल्लेख गरेका छन् । उनले आरोहणका क्रममा विभिन्न क्याम्प र स्थानबाट श्रीमती रुथलाई लेखेका पत्रले उनको मनोदशा र संघर्षलाई दर्शाउछ ।
२७ मे १९२४ क्याम्प ४ बाट मेलोरीले पत्नी रुथलाई लेखेको पत्रको केही अंश यहाँ प्रस्तुत गरेका छौँ ।
मैनबत्ती निभ्दै छ । र, म रोकिनुपर्छ । प्रिय तिमीलाई मेरो शुभकामना छ, सबैभन्दा खुसीको खवर पाउनुअघि नै तिम्रो चिन्ता अन्त्य हुनेछ । त्यो पनि अत्यन्तै छिटो । हुन त यो हाम्रा लागि ५० का विरुद्ध एकसरह छ, तर पनि हामी अन्तिम पटक एक जोडदार प्रयास गर्नेछौं । र, हामी आफैं गौरवान्वित हुनेछौं ।
–तिमीलाई धेरै माया, तिम्रो सधैंको मायालु, जर्ज ।
उनी अर्को पत्रमा लेख्छन्,
मेरो अत्यन्त प्रिय रुथ,
यो पत्र एकदमै अधुरो हुनेछ । प्रिय केटी, समय एकदमै खराब छ । म पछाडि फर्केर हेर्छु, जहाँ छन्, विशाल प्रयासहरू र थकान । टेन्टको ढोकाबाट हेर्दा नीरसता र हिउँले भरिएको संसार र हराउँदै गएका आशाहरू देखिन्छन् ।
जीवनको अन्तिम सासमा श्रीमती रुथकै सम्झना छ ।
र त, मेलोरी लेख्छन्,
‘प्रिय रुथ,
यदि यो बीचबाट फर्केर तिमीलाई फेरि अँगालो हाल्न सके तिम्रो हरेक प्रतीक्षा अर्थपूर्ण हुनेछ । तर यदि यो हिमालले मलाई आफ्नो गम्भीर मौनतामा कैद गरिदियो भने– म सगरमाथाको चुलीबाट तिम्रो नाम लिएर अन्तिम सास फेर्नेछु ।’
१९२१ को आरोहणका क्रममा पनि उनले श्रीमती रुथलाई थुप्रै पत्रहरू लेखेका थिए । उनले श्रीमती रुथसँगको भौतिक दूरीलाई तारा हेरेर कम गर्ने कोसिस गर्छु भन्ने गर्थे ।
र, रुथलाई सम्झिदै लेख्छन्, ‘प्रिय रुथ, रातको मौन पहरा, टाउकोमाथि उभिएका अनन्त तारा । तिमी जहाँ छ्यौ, म जहाँ छु, हामीले हेर्ने आकाश उही हो । यसैले, हामी कहिल्यै टाढा छैनौँ— ताराहरूले हाम्रो दूरीलाई मेटिदिन्छन् ।
प्रतिक्रिया 4