+
+
Shares

निर्वाचन ‘धाँधली’ रहित बनाउनु नै आयोगको प्रमुख चुनौती : उपनेता अर्याल

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते १६:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेकी उपनेता पद्मा अर्यालले निर्वाचनलाई धाँधलीरहित बनाउनु नै निर्वाचन आयोगको मुख्य चुनौती रहेको बताएकी छिन् ।
  • उनले निर्वाचन आयोगले अनुचित कार्य र बुथ कब्जाजस्ता विषयमा तत्काल कारबाही गर्न नसकेको भन्दै आयोगको कार्यशैलीप्रति असन्तुष्टि जनाएकी छिन् ।
  • अर्यालले प्रस्तावित बायोमेट्रिक मतदाता प्रणालीको कार्यान्वयन र विदेशस्थित नेपाली नागरिकको मताधिकारका लागि स्पष्ट कार्ययोजना आवश्यक रहेको उल्लेख गरेकी छिन् ।

१२ साउन, काठमाडौं । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले निर्वाचनलाई निष्पक्ष र ‘धाँधली’रहित बनाउनु नै निर्वाचन आयोगको प्रमुख चुनौती रहेको बताएकी छिन् ।

मंगलबार संघीय संसद्को संसदीय सुनुवाइ समितिमा प्रश्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको सुनुवाइका क्रममा आफ्नो धारणा राख्दै उनले कानुन पृष्ठभूमि र विगतमा निर्वाचन अधिकृतका रूपमा सँगालेको अनुभव सकारात्मक पक्ष भएपनि कार्ययोजनामा नयाँ विषयहरूको कार्यान्वयनको ठोस आधार र पहिचान स्पष्ट नभएको उल्लेख गरिन् ।

छलफलका क्रममा अर्यालले निर्वाचनका बेला आयोग, सुरक्षा निकाय र मतदान केन्द्रमा खटिने कर्मचारीहरूबीच प्रभावकारी समन्वय नहुँदा सुरक्षा चुनौती थपिने गरेको बताइन् ।

‘जहाँ अनुचित कार्य र धाँधली भइरहेको छ, त्यहाँ आयोगले तत्काल एक्सन लिन नसक्दा त्यस्ता प्रवृत्तिले प्रश्रय पाएका छन् । बुथ कब्जा गर्ने, प्रतिनिधिहरूलाई थुन्ने र भिडियो प्रमाण हुँदाहुँदै पनि आयोगले कारबाही नगर्नु दु:खद् पक्ष हो,’ उनले भनिन् ।

उपनेता अर्यालले निर्वाचनका क्रममा भएका गम्भीर त्रुटीहरूका बारेमा पनि आयोगको ध्यानाकर्षण गराइन् । ६० प्रतिशत मत खस्न गाह्रो हुने ठाउँमा ९९ प्रतिशत मत खस्दा पनि आयोगले त्यसलाई स्वाभाविक मान्नु विडम्बनापूर्ण रहेको उनले टिप्पणी गरिन् ।

प्रश्तावित आयुक्तले अघि सारेको बायोमेट्रिक मतदाता पहिचान प्रणालीको स्वागत गर्दै अर्यालले यसको खर्च व्यवस्थापन र कार्यान्वयनको सम्भाव्यतामाथि प्रश्न उठाइन् । नेपालको आफ्नै स्रोत र साधनले यसलाई कसरी धान्न सक्छ भन्नेमा स्पष्टता हुनुपर्ने उनको धारणा छ ।

निर्वाचनसम्बन्धी कानुनको परिमार्जन र विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने विषयमा पनि ठोस पूर्वाधार र रोडम्याप आवश्यक रहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?