News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले सन् २०१० मा लिएको बाघको सङ्ख्या दोब्बर बनाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्दै सन् २०२२ सम्ममा वयस्क बाघको सङ्ख्या ३५५ पुर्याएको छ।
- बाघको सङ्ख्या बढेसँगै मानवीय क्षति न्यूनीकरण गर्न स्थानीय समुदायको आयआर्जन बढाउने तथा वैकल्पिक जीविकोपार्जनका कार्यक्रमहरू सञ्चालन गर्नु आजको प्रमुख चुनौती रहेको छ।
- बाघ संरक्षणका लागि वासस्थान व्यवस्थापन, चोरीशिकार नियन्त्रण र मानव-वन्यजन्तु द्वन्द्व कम गर्दै बाघबाट हुने मानवीय क्षतिलाई शून्यमा झार्ने कार्य प्राथमिकतामा परेको छ।
हुनत अन्य वन्यजीव जस्तै बाघ पनि यस धर्तीमा रहेका भनी अनुमान गरिएका ८७ लाख प्रजाति जस्तै एक जीव हो। तर बाघको उपस्थिति अन्य जीवको तुलनामा विशेष रहन्छ। विशिष्ट शिकारीका रूपमा खाद्य शृङ्खलाको उपल्लो तहमा रहेर प्राकृतिक सन्तुलन कायम राख्न यसले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। त्यसैले त बाघलाई जङ्गलको राजा भनिन्छ।
यसको सुन्दरता, शक्ति र रहस्यमयी स्वभावले गर्दा होला, मान्छेले सबैभन्दा मन पराउने जनावरमध्येमा बाघ पनि पर्दछ। मानव समुदायले बाघलाई लिएर जति चर्चा गरेको, लेखेको, फोटो/भिडियो खिचेको वा राष्ट्रिय/अन्तर्राष्ट्रिय महत्त्व दिएको छ, शायदै अन्य कुनै प्रजातिलाई दिएको होला।
बाघ पाइने देशहरू सम्मिलित ‘विश्व बाघ मञ्च’ होस् वा राष्ट्रप्रमुख नै सहभागी भएर सम्पन्न गरिएका ‘विश्व बाघ शिखर सम्मेलन’ हुन्; बाघ संरक्षणको मुद्दामा उच्च तहको राजनीतिक चासो र समर्थन/सहयोग रहिआएको छ। त्यसैले त भनिन्छ- बाघ संरक्षण केवल प्राविधिक र जैविक विषय मात्रै होइन, यो त सामाजिक र राजनीतिक विषय पनि हो।
कुनै क्षेत्रमा बाघको नियमित उपस्थिति हुनु त्यस क्षेत्रको पर्यावरणीय सन्तुलनको सूचक हो। बाघको अस्तित्वका लागि पर्याप्त आहारा प्रजाति सहितका ठूला प्राकृतिक क्षेत्रहरू (वन, सिमसार र घाँसेमैदान) को आवश्यकता पर्दछ। तर हामी मानव जातिले हाम्रा आवश्यकताहरू पूरा गर्न प्राकृतिक क्षेत्रहरू मास्दै कृषि क्षेत्र, गाउँ/शहर तथा पूर्वाधार निर्माण गर्दै जाँदा तथा बाघ र आहारा प्रजातिको चोरीशिकारीका कारण बाघको वासस्थान औद्योगिक क्रान्ति शुरु हुने बेलासँग तुलना गर्दा हाल सात प्रतिशतमा खुम्चिएको पाइन्छ भने बाघको सङ्ख्या ९० प्रतिशतभन्दा घटेर लोप हुने खतरामा परेको छ।
यसै सन्दर्भमा बाघलाई लोप हुन नदिन विशेष पहलको आवश्यकता महसुस गरेर बाघ पाइने देशहरूले संयुक्त रूपमा प्रतिबद्धता जनाएका छन्। तर सबै देशमा बाघ संरक्षण उत्तिकै प्राथमिकतामा परेको छैन र केही देशहरूबाट पछिल्ला १५ वर्षमै बाघ लोप भएका छन्। त्यसैले त भनिन्छ- बाघ जोगाउन अन्तर्राष्ट्रिय समुदाय, कर्मचारी, अनुसन्धानकर्ता वा संरक्षणकर्मीको प्रयासले मात्रै सम्भव छैन, बरू यो त समाजको प्राथमिकतामा निर्भर रहन्छ। आज बाघ संसारमा त्यही ठाउँमा मात्र बाँकी छन् जुन देश, समाज वा समुदायले बाघको अस्तित्व जोगाउन सही पहल गरेका छन्।
बाघ संरक्षणमा नेपालको छलाङ
आज संसारभर नै बाघ संरक्षणको सफलताको कुरा गर्दा नेपालको नाम अग्रस्थानमा आउँछ। सन् २०१० मा रूसमा सम्पन्न ‘विश्व बाघ शिखर सम्मेलन’ मा बाघ पाइने एशियाका १३ देशका राष्ट्रप्रमुख वा प्रतिनिधि सहभागी भई लिएको बाघ दोब्बर गर्ने लक्ष्य सबैभन्दा पहिले पूरा गर्ने देश नेपाल बनेको थियो।

बाघ पाइने अरू कैयौं देशमा बाघको सङ्ख्या बढ्न नसकिरहेको बरु घटिरहेको वा लोप भइरहेको अवस्थामा नेपालमा बाघको सङ्ख्या दोब्बर मात्रै होइन, करिब तीन गुणा पुग्नु आफैंमा ठूलो कुरा हो। सन् २०१० मा १२१ वयस्क बाघ रहेको अनुमान गरिएकोमा यो सङ्ख्या २०२२ मा ३५५ पुगेको थियो।
बाघ उपस्थितिको क्षेत्र पनि विस्तार भएको छ। पहिले मुख्यतः निकुञ्जभित्र मात्रै बाघको उपस्थिति रहने गरेकोमा पछिल्लो समय निकुञ्ज वरपरका मध्यवर्ती क्षेत्र, जैविक मार्गहरू तथा अन्य वन क्षेत्रहरूमा समेत बाघको उल्लेख्य सङ्ख्या रहेको छ। २०२२ को बाघ सर्वेक्षणको क्रममा करिब ५० वटा बाघ त मध्यवर्ती क्षेत्रभन्दा बाहिरका जैविक मार्ग र वनहरूमा भेटिएका थिए।
बाघ संरक्षणमा यस्तो सफलता पाउन नेपाल सरकारअन्तर्गतका विभिन्न निकाय, संरक्षण साझेदार संस्था र स्थानीय समुदायले ठूलो लगानी गरेका छन्। ‘राष्ट्रिय बाघ पुनःस्थापना कार्यक्रम नेपाल’ ले हालसम्म तीन वटा बाघ संरक्षण कार्ययोजना कार्यान्वयन गरिसकेको छ भने चौथो कार्ययोजना (२०२३-२०३३) कार्यान्वयनको क्रममा छ।
यस कार्ययोजनाले बाघको वासस्थान र जैविक मार्गहरू सुरक्षित गर्ने, बाघको चोरीशिकार तथा आखेटोपहारको गैरकानूनी व्यापार नियन्त्रण गर्ने, मानव-बाघ द्वन्द्व न्यूनीकरण तथा स्थानीय समुदायका लागि आर्थिक अवसर वृद्धि गर्ने, बाघ संरक्षणका लागि समन्वय र सहकार्य सुदृढ गर्ने एवं बाघ तथा आहारा प्रजाति र वासस्थानको अनुगमन तथा अध्ययन गर्ने लक्ष्य लिएको छ।
बाघको सङ्ख्या अझै बढ्ला ? कतिसम्म पुग्ला ?
नेपालमा बाघको सङ्ख्या यकिन गर्न यो वर्ष राष्ट्रिय बाघ सर्वेक्षण गरिएको छ। गत मङ्सिरदेखि फागुनसम्म नेपालका बाघ पाइने सबै जङ्गल क्षेत्रहरूमा प्रत्येक दुई कि.मी.को दूरीमा एक ठाउँमा १५ दिनसम्म क्यामेरा राखेर प्राप्त फोटोहरूको विश्लेषण गरिएको थियो। यसबाट प्राप्त नतिजा यस वर्षको बाघ दिवस (जुलाई २९) मा प्रकाशित हुँदैछ। सबैको चासोको विषय बनेको छ- कति होला बाघको सङ्ख्या ? के यसपालि पनि बाघको सङ्ख्या अझै बढेको होला ? कतिसम्म पुग्न सक्ला ?
कुनै जङ्गल वा वासस्थानमा कति वन्यजन्तुहरू रहन्छन् भन्ने विषय धेरै कुरामा निर्भर रहन्छ। बाघ, चितुवा जस्ता शिकारी प्रजातिको सङ्ख्या प्राथमिक रूपमा त्यस क्षेत्रमा रहेका मृग, बँदेल जस्ता आहारा प्रजातिको प्रचुरतामा निर्भर रहन्छ। अनि ती आहारा प्रजातिको सङ्ख्या घाँसेमैदान, पानीको स्रोत तथा वासस्थानको व्यवस्थापनमा निर्भर रहन्छ। एउटा ठूलो बाढी, एउटा खडेरी वा डढेलोले त्यहाँ रहने वन्यजन्तुको सङ्ख्यामा घटबढ गरिदिन्छ।
म पनि सहलेखक भएर तीन वर्षअघि चितवन र पर्सा राष्ट्रिय निकुञ्जले थेग्न सक्ने बाघको सङ्ख्या अनुमान गरेका थियौं, जसले यी निकुञ्जहरूले १७७ बाघ धान्न सक्ने देखाएको थियो। मध्यवर्ती क्षेत्र र त्यसभन्दा बाहिर पनि बाघको राम्रो उपस्थिति छ, त्यहाँको समेत जोड्दा चितवन-पर्सामा अझै धेरै बाघ रहन सक्छन्। चितवन/पर्सा तथा बाँके/बर्दिया राष्ट्रिय निकुञ्जहरूमा गरिएको अध्ययनले पनि आहारा प्रजातिको प्रचुरताका आधारमा बाघको सङ्ख्या अझै वृद्धि हुनसक्ने देखाएको छ।
यसलाई फेरि दोहोर्याऊँ- यो अनुमान मात्र हो, आहाराको उपलब्धताका आधारमा सैद्धान्तिक हिसाबले कति बाघ रहन सक्लान् भन्ने। फेरि त्यो पनि २०१९ मा गरिएको आहारा प्रजातिको सङ्ख्या सम्बन्धी अध्ययनको आधारमा ! तर त्यतिबेलाभन्दा अहिले ती मृग, बँदेलको सङ्ख्या बढेको छ भने तिनीहरूले धान्न सक्ने बाघको सङ्ख्या पनि बढ्छ।
यसबीचमा बाघ र आहारा प्रजातिको सङ्ख्यामा अत्यधिक असर पर्ने कुनै ठूलो प्राकृतिक विपत्ति, रोगव्याधि तथा चोरीशिकार लगायत मानवीय कारणले मारिने क्रम समेत नदेखिएकाले बाघको सङ्ख्या यो वर्षको गणनामा अझै बढ्ने अनुमान गर्न सकिन्छ।
बाघको सङ्ख्या बढ्दा संरक्षणकर्मीहरू खुशी हुनु स्वाभाविक नै हो। योभन्दा पनि अन्तर्राष्ट्रिय मञ्चमा गरेका प्रतिबद्धता पूरा हुँदा देशको साख पनि बढ्ने भयो, जुन सबै नेपालीको लागि गर्वको विषय हो। यसले नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा उच्च भएको छ भने बाघ अवलोकनका लागि निकुञ्जहरूमा जाने पर्यटकहरूको सङ्ख्यामा समेत पछिल्लो समय उल्लेख्य वृद्धि भएको छ।
बाघबाट हुने क्षति र न्यूनीकरणका उपाय
बाघ संरक्षणको उपलब्धिमा गर्व गर्दै गर्दा बाघको आक्रमणमा ज्यान गुमाउने, घाइते हुने, असुरक्षित महसुस गर्ने तथा पशुधनको क्षति बेहोर्ने समुदायलाई कदापि बिर्सनुहुँदैन। सङ्ख्या बढ्दै जाँदा बाघबाट हुने मानवीय वा पशुधनको क्षति अझै बढ्ने हो कि भन्ने चासो निकुञ्ज आसपास बसोबास गर्ने खासगरी वनमा निर्भर आदिवासी तथा सीमान्तकृत समुदायको रहिआएको छ।
नेपालभरि सन् २००९ देखि २०२४ सम्म बाघले मान्छेलाई आक्रमण गरेको तथ्याङ्कको विश्लेषण गरिएको म पनि सहलेखक रहेको अध्ययनले २४५ वटा घटनामा १४१ जनाले ज्यान गुमाएको देखाएको छ। विशेषगरी कोभिड महामारीका बेला वन क्षेत्रमा बढेको मानवीय चापका कारण बाघबाट हुने मानवीय क्षति उत्कर्षमा पुगेको थियो।
पछिल्ला तीन वर्षमा बाघबाट हुने मानवीय क्षति केही घटेको छ तर अझै पनि वर्षेनि कैयौं मानिसले बाघको आक्रमणमा ज्यान गुमाइरहेका छन्। यो बाघ संरक्षणका लागि ठूलो चुनौती हो।
वन्यजन्तु संरक्षणकर्मीका रूपमा हामीलाई बेला-बेला आक्षेप लाग्ने गर्छ- ‘तिमीहरू वन्यजन्तुको मात्रै कुरा गर्छौ, मान्छेको त मतलबै गर्दैनौ। मान्छे मर्दा तिमीहरूलाई केही फरक पर्दैन।’ तर त्यसो होइन, बाघबाट कुनै मानवीय क्षति हुँदा संरक्षणकर्मीहरू अझै चिन्तित हुन्छौं। यस्तो क्षतिमा सबैभन्दा पहिले उक्त स्थानमा पुग्ने तथा थप क्षति हुन नदिन मानवीय र वन्यजन्तुको सुरक्षाका लागि काम गर्ने संरक्षणकर्मी नै हुन्छन्।

बाघको सङ्ख्या वृद्धिसँगै पछिल्ला वर्षमा बाघको उपस्थिति निकुञ्जको भित्री भागमा जसरी नै मध्यवर्ती क्षेत्र, जैविक मार्ग र वरिपरिका वन क्षेत्रमा पनि हुन थालेको छ। यी वन क्षेत्र स्थानीय बासिन्दाले घाँस, दाउरा, निगुरो लगायत वनपैदावार सङ्कलनका लागि उपयोग पनि गर्ने गर्दा बाघसँग जम्काभेट हुन र आक्रमणमा पर्न सक्ने खतरा बढ्छ।
यसरी बाघ र मान्छेले एउटै ठाउँ प्रयोग गर्दा आवश्यक सावधानी अपनाइएन भने हताहतीका घटना बढ्छन्। प्राय:जसो घटना घाँस काट्ने, निगुरो टिप्ने जस्ता निहुरेर गरिने काम गर्दा भएका छन्। आफ्नो जीविकोपार्जनका लागि वनमा आश्रित गरिब र सीमान्तकृत समुदायका व्यक्ति नै बाघबाट बढी प्रभावित छन्।
तत्कालका लागि बाघको आनीबानी र बाघबाट जोगिने उपायबारे जनचेतना जगाउँदै वनजङ्गल जाँदा सावधानी अपनाउनु आवश्यक छ। मानव बस्तीछेउ र जीविकोपार्जनका लागि समुदायले नियमित उपयोग गर्ने सामुदायिक वनक्षेत्रहरूमा बाघ लुक्ने झाडीहरूको सरसफाइ गरी बाघ र मान्छे बीच सुरक्षित दूरी कायम गर्न सकिन्छ। बाघ तथा अन्य वन्यजन्तुहरू सक्रिय हुने समय एकाबिहानै वा साँझ ढिलो गरी जङ्गल नजाने हो भने पनि बाघसँग जम्काभेट हुने सम्भावना कम हुन्छ। त्यस्तै समूहमा जङ्गल जाँदा बाघ तथा अन्य वन्यजन्तुबाट आक्रमणको जोखिम कम हुन्छ।
बाघले मान्छेलाई गर्ने आक्रमणको अर्को पक्ष आक्रमण गर्ने बाघको अवस्था पनि हो। बाघ लजालु प्रकृतिको जनावर हो र मान्छे बाघको प्राकृतिक आहारा होइन। स्वस्थ अवस्थाका र प्रशस्त प्राकृतिक आहारा हुँदा बाघ वा चितुवाले मान्छेलाई शिकार गर्दैनन् तर उनीहरू कमजोर भएर अरू जङ्गली जनावरहरू मार्न नसक्ने अवस्थामा पुग्दा अवसरका रूपमा मान्छे मार्ने गर्दछन्। मैले चितवनमा सन् २००७ देखि २०१६ सम्म यस्ता नरभक्षी बाघहरूको बारेमा गरेको अध्ययनले देखाएको छ कि बाघहरू प्राय:जसो मानव सम्पर्कबाट टाढै बस्दछन् तर थोरै (५ प्रतिशत भन्दा कम) बाघहरूले मात्रै यस्ता क्षति गरेका छन्।
यो आजको मात्र कुरा होइन। करिब एक शताब्दीअघि नेपालको सुदूरपश्चिम र भारतको उत्तरप्रदेश/उत्तराखण्डमा दर्जनौं नरभक्षी शिकारी बाघ/चितुवाहरू मारेका प्रख्यात शिकारी र पछि संरक्षणकर्मी बनेका जिम कर्बेटले आफ्नो किताबमा पनि यस बारेमा विस्तृतमा लेखेका छन्- ‘बाघ वा चितुवा यसै नरभक्षी हुँदैनन्। उनीहरू कि त शारीरिक अशक्तताले अन्य वन्यजीवको शिकार गर्न अक्षम हुन्छन् अनि मान्छेलाई आक्रमण गर्छन्। कुनै बाघहरू चाहिं मान्छेसँगको जम्काभेट वा आफ्नो शिकार जोगाउने क्रममा मान्छेलाई आक्रमण गर्ने र सजिलोसँग शिकार गर्न सकिने थाहा पाएपछि अवसर पाउँदा मान्छेलाई आक्रमण गर्ने गरेको पाइन्छ।’
त्यसैले बाघको उपस्थिति हुनसक्ने मानव बस्ती नजिकका वनक्षेत्रमा क्यामेरा ट्र्याप वा अन्य प्रविधिको प्रयोगबाट बाघको नियमित अनुगमन गर्ने र कुनै असामान्य, अस्वस्थ वा शारीरिक समस्या भएका बाघहरू देखापरेमा त्यसको जानकारी तत्काल सम्बन्धित समुदायमा पुर्याएर आवश्यक सावधानी अपनाउन सकिन्छ।
साथै त्यस्ता समस्याग्रस्त र क्षति गर्न सक्ने बाघहरूको समयमै नियन्त्रण गरेर पनि बाघबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ। यस्ता बाघ राख्ने ठूला उद्धार केन्द्र स्थापना गरी दिगो व्यवस्थापन गर्नुपर्ने अबको आवश्यकता हो।
दीर्घकालीन रूपमा जीविकोपार्जनका लागि वनमा आश्रित परिवार पहिचान गरी वैकल्पिक आम्दानीका स्रोतमा सहभागी गराउनुपर्नेछ। त्यस्तै वन र बस्ती/कृषि भूमिको सिमानामा छेकबार (पर्खाल वा जैविक बार) लगाएर पनि बाघ र मान्छे बीच निश्चित दूरी कायम गर्न सकिन्छ।
बाघ संरक्षणका अबका प्राथमिकता
नेपालले बाघ संरक्षणमा प्राप्त गरेका सफलतालाई दिगो बनाउन बदलिंदो आर्थिक-सामाजिक परिवेश अनुसार संरक्षणका प्रयासहरूको निरन्तरता आवश्यक छ। बाघबाट हुने मानवीय र पशुधन क्षति न्यूनीकरण, समुदायको आयआर्जन तथा वैकल्पिक जीविकोपार्जन, वासस्थान व्यवस्थापन, चोरीशिकार नियन्त्रण र निकुञ्ज तथा वन क्षेत्रमा मानवीय चाप न्यूनीकरण अबका प्राथमिकता हुनुपर्छ।
बढिरहेको बाघको सङ्ख्यालाई स्थानीय समुदायको लागि अवसरका रूपमा प्रयोग गर्नुपर्छ। बाघको पर्यटकीय आकर्षणलाई उपयोग गर्दै पर्यापर्यटनको प्रवर्धन मार्फत स्थानीय समुदायको आयआर्जनमा वृद्धि गर्न सकिन्छ। स्थानीय समुदायलाई संरक्षणमा थप सशक्त बनाउँदै संरक्षणलाई जीविकोपार्जन र आयआर्जनसँग जोड्नुपर्छ।
बाघ संरक्षणका उपलब्धि कायम राख्न अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यलाई थप बलियो बनाउँदै थप आर्थिक तथा प्राविधिक सहयोगका लागि पहल गर्नुपर्दछ। त्यस्तै गरी आधुनिक प्रविधिको प्रयोग गरी बाघको अनुगमन, चोरीशिकार नियन्त्रण र मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न सकिन्छ। त्यसैगरी बाघको व्यवहार, पारिस्थितिकीय प्रणाली र संरक्षणका उपाय बारे थप अनुसन्धान गर्न सकिन्छ।
अन्त्यमा, हामी वन्यजन्तुको सङ्ख्या वृद्धि र शून्य चोरीशिकारलाई सफलता मानिरहेका छौं। तर स्थानीय समुदायले यो संरक्षणलाई वास्तविक सफलता त्यतिबेला मात्रै मान्नेछन्, जतिबेला वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति शून्य हुन्छ। त्यसैले अबको बाघ संरक्षणको प्राथमिकता पनि बाघबाट शून्य मानवीय क्षति हुनुपर्छ।
प्रतिक्रिया 4