News Summary
Generated by OK AI. Editorially reviewed.- डिभिजन वन कार्यालय देउखुरीले आर्थिक वर्ष २०८२/८३ मा सर्प लगायतका ४४७ वन्यजन्तुको सुरक्षित उद्धार गरेको जनाएको छ ।
- उद्धार गरिएका वन्यजन्तुमा ४३१ सर्पसहित चितुवा, चित्तल, रतुवा र कछुवा समेत रहेका छन् ।
- वन अधिकृत गणेश खड्काले वन्यजन्तु संरक्षण सरकारी निकायको मात्र नभई सम्पूर्ण समाजको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।
१४ साउन, दाङ । डिभिजन वन कार्यालय देउखुरीले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न प्रजातिका ४४७ वन्यजन्तुको उद्धार गरेको जनाएको छ । उद्धार गरिएका वन्यजन्तुमध्ये सबैभन्दा धेरै सर्प प्रजातिका ४३१ वटा रहेका छन् ।
डिभिजन वन कार्यालय देउखुरीका वरिष्ठ फरेष्टर चिरञ्जीवी खनालका अनुसार उद्धार गरिएका सर्पमध्ये २७० वटा कोब्रा, ४५ वटा करेत, ४२ वटा धामन, ३२ वटा पानी सर्प, १७ वटा विरालु सर्प, १४ वटा श्रीगारे, ९ वटा अजिङ्गर, १ वटा राजगोमन र एउटा रसेल भाइपर रहेका छन् ।
त्यसैगरी कार्यालयले एक वर्षमा १ वटा चितुवा, २ वटा चित्तल, ४ वटा रतुवा, ५ वटा गिद्ध, ३ वटा वन बिरालो र एउटा कछुवाको पनि उद्धार गरेको जनाएको छ ।
कार्यालयको प्राविधिक सहयोगमा पत्रकार तथा वन्यजन्तु उद्धारकर्ता शिवु खनालले देउखुरी क्षेत्रका चार स्थानीय तहअन्तर्गत घर, सार्वजनिक स्थल तथा अन्य स्थानबाट सर्पहरूको सुरक्षित उद्धार गरेका हुन् । आवश्यक प्रक्रिया पूरा गरेर ती सर्पहरूलाई प्राकृतिक बासस्थानमा छाडिएको वरिष्ठ फरेष्टर खनालले बताए ।
उनका अनुसार घाइते, टुहुरा, बाटो बिराएर बस्तीमा पुगेका वा अन्य कारणले जोखिममा परेका वन्यजन्तुको नियमित रूपमा उद्धार हुँदै आएको छ ।
उद्धार गरिएका अधिकांश वन्यजन्तुलाई उपचारपछि सामुदायिक वन तथा अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा सञ्चालित जैविक विविधता ग्रीन पार्क र कुलपानी हरित पार्कमा पुन:स्थापना गरिएको छ । केही वन्यजन्तुलाई बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा समेत पठाइने गरिएको उनले बताए ।
‘हामीले उद्धार गरेका अधिकांश वन्यजन्तु सामान्य अवस्थामा थिए भने केही घाइते थिए,’ खनालले भने, ‘घाइते वन्यजन्तुलाई उपचार गरेर पूर्ण रूपमा निको भएपछि मात्रै प्राकृतिक बासस्थानमा फर्काउने गरेका छौं ।’
उनका अनुसार जंगलमा आहारको अभाव, मानव गतिविधि बढ्नु तथा बाटो बिराएर बस्तीमा प्रवेश गर्नुलगायत कारणले वन्यजन्तु जोखिममा पर्ने गरेका छन् ।
डिभिजन वन कार्यालय देउखुरीले पछिल्लो एक वर्षमा वन्यजन्तु संरक्षण तथा उद्धार अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ । कार्यालयका अनुसार मानव बस्तीमा प्रवेश गरेका वा विभिन्न कारणले जोखिममा परेका वन्यजन्तुको समयमै उद्धार गरी सुरक्षित रूपमा प्राकृतिक बासस्थानमा फर्काउने कार्यलाई प्राथमिकता दिइएको छ ।
डिभिजनल वन अधिकृत गणेश खड्काले स्थानीय समुदाय, सामुदायिक वन उपभोक्ता समूह, सुरक्षाकर्मी, पत्रकार तथा स्वयंसेवी संरक्षणकर्मीबीचको समन्वयका कारण उद्धार कार्य प्रभावकारी बनेको बताए ।
‘वन्यजन्तु संरक्षण केवल सरकारी निकायको दायित्व होइन, सम्पूर्ण समाजको साझा जिम्मेवारी हो,’ उनले भने, ‘वन विनाश, बासस्थानको संकुचन, जलवायु परिवर्तन तथा खाद्य अभावका कारण वन्यजन्तु बस्तीमा प्रवेश गर्ने गरेका छन् । यस्तो अवस्थामा उनीहरूलाई क्षति नपुर्याई सुरक्षित रूपमा उद्धार गरी प्राकृतिक बासस्थानमा फर्काउनु हाम्रो पहिलो दायित्व हो ।’
उनले पछिल्लो एक वर्षमा स्थानीय समुदाय र संरक्षणकर्मीहरूसँगको सहकार्यमा धेरै वन्यजन्तुको सफल उद्धार भएको उल्लेख गर्दै यसबाट संरक्षणप्रतिको जनचेतना पनि बढ्दै गएको बताए ।
खड्काले वन्यजन्तु संरक्षणका लागि उद्धार मात्र पर्याप्त नहुने भन्दै वन क्षेत्र संरक्षण, जैविक विविधता व्यवस्थापन, जनचेतना अभिवृद्धि तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका कार्यक्रमलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।
उनले वन्यजन्तु देखिएमा आक्रमण गर्ने वा मार्ने होइन, तत्काल डिभिजन वन कार्यालय वा सम्बन्धित निकायलाई जानकारी गराउन सबै नागरिकलाई आग्रह गरे ।
‘आगामी दिनमा उद्धार टोलीलाई थप दक्ष बनाउने, आवश्यक उपकरणको व्यवस्था गर्ने तथा स्थानीय तहसँगको सहकार्यलाई अझ सुदृढ बनाउने योजना छ,’ उनले भने ।
कार्यालयले वन क्षेत्रमा जैविक विविधता संरक्षणसँगै वन्यजन्तु उद्धार कार्यलाई व्यवस्थित बनाउन जनचेतनामूलक कार्यक्रम, उद्धार तालिम तथा समन्वयात्मक अभियानलाई निरन्तरता दिएको जनाएको छ । संरक्षणकर्मीहरूका अनुसार नागरिकमा वन्यजन्तुप्रति सकारात्मक सोच र समयमै सूचना दिने बानीको विकास भए मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणसँगै जैविक विविधता संरक्षणमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया 4