News Summary
Generated by OK AI. Editorially reviewed.- महोत्तरीको बर्दिबास नगरपालिका–३ मा स्थानीयद्वारा अवरुद्ध बीपी राजमार्ग आन्दोलनरत पक्षसँगको मौखिक सहमतिपछि सञ्चालनमा आएको छ ।
- जेठ ११ गतेको घटनामा झुठा मुद्दा दर्ता गरिएको भन्दै स्थानीयले सडक चक्काजाम गरी विरोध जनाएका थिए ।
- प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र प्रहरी उपरीक्षक श्यामकुमार सारु मगरले आन्दोलनरत पक्षसँग समन्वय गरेपछि राजमार्ग खुलेको हो ।
१६ साउन, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानीमा प्रदर्शनकारीले अवरुद्ध गरेको बीपी राजमार्ग सञ्चालनमा आएको छ ।
आन्दोलनरत पक्षसँग मौखिक सहमति भएपछि बिहानदेखि अबरुद्ध राजमार्ग सञ्चालनमा आएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
गत जेठ ११ गते स्थानीय र वन प्रशासनसँग भएको विवादमा झुठा मुद्दा लगाइएको भन्दै स्थानीय सुकुमवासी तथा अव्यवस्थित बसोवासीहरुले सडक चक्काजाम गरेका थिए ।
जेठ ११ गते साँझ कालापानीस्थित वन क्षेत्रमा रहेको बस्ती खाली गराउन सूचना जारी गर्न वन कर्मचारीहरू आएको भन्दै स्थानीयले उनीहरूलाई राति १२ बजेसम्म नियन्त्रणमा राखेका थिए ।
सो क्रममा बर्दिबास नगरपालिका–३, कालापानीमा डिभिजन वन कार्यालयको बा.२ झ २७४९ नम्बरको सरकारी गाडीमा आगजनी समेत गरिएको थियो ।
त्यसबेला घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिने, घटनामा घाइते भएकाहरूको उपचार राज्यले गर्ने र घटनामा कसैविरुद्ध मुद्दा चलाएर धरपकड नगर्ने विषयमा स्थानीय प्रशासनसँग सहमति भएको थियो । तर, प्रहरीले अहिले घटनामा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएपछि स्थानीय पुन: आक्रोशित बनेका छन् ।
उक्त प्रकरणमा चारजनामाथि झुठा मुद्दा लगाइएको भन्दै बुधबार कालापानीमा बसेको सर्वदलीय बैठकले आरोपीहरु निर्दोष रहेकोले तीन दिनभित्र मुद्दा फिर्ताका लागि स्थानीय प्रशासनलाई अल्टिमेटम दिएको थियो ।
तीनदिने अल्टिमेटम शुक्रबार सकिएपछि स्थानीय सुकुमवासी तथा अव्यवस्थित वसोवासीहरु शनिबार बिहानैदेखि राजमार्ग अवरुद्ध पार्दै आन्दोलनमा उत्रिएका थिए ।
राजमार्ग अवरुद्ध भएपछि प्रमुख जिल्ला अधिकारी यादव र जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकुमार सारु मगरले कालापानी पुगेर आन्दोलनरत पक्षसँग समन्वय गरेपछि राजमार्ग खुलेको हो ।
प्रतिक्रिया 4