News Summary
Generated by OK AI. Editorially reviewed.- विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जाको पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परी निधन भएको छ ।
- पुर्जासहित १० जना आरोही बेपत्ता भएको उक्त घटनाको पुष्टि इलाइट एक्सपेड संस्थाले औपचारिक विज्ञप्ति जारी गर्दै गरेको छ ।
- सन् २०१९ मा छ महिनाभित्र १४ वटै आठ हजार मिटर अग्ला हिमाल चढेर विश्व कीर्तिमान कायम गरेका पुर्जा साहसिक पर्वतारोहणका लागि विश्वभर परिचित थिए ।
१६ साउन, काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) पाकिस्तानको ‘ब्रड पिक’ हिमपहिरोमा अस्ताएका छन् । उनी आफैं संस्थापक रहेको संस्था इलाइट एक्सपेडले उनको निधन भएको पुष्टिसहित विज्ञप्ति जारी गरेको छ ।
पुर्जासहित ६ नेपाली र ४ विदेशीगरी १० जना उक्त हिमपहिरोमा बेपत्ता भएका थिए । पाकिस्तानको कराकोरम हिमशृखंलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा गत बिहीबार (१४ साउन) मध्याह्नतिर हिमपहिरो गएको थियो ।
विश्वको १२ औँ अग्लो हिमाल ब्रोड पिकलाई आरोहणका लागि अत्यन्त चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ ।
ब्रोड पिकमा जानुअघि पुर्जाले आफ्नो सामाजिक सञ्जालमार्फत एक लामो सन्देश जारी गरेका थिए ।
सन्देशमार्फत उनले प्रार्थना गर्दै भनेका थिए, ‘ब्रोड पिक– म तिमीसँग केवल एउटा कुरा माग्छु—मलाई सुरक्षित रूपमा माथि पुग्न र फेरि सुरक्षित रूपमा फर्किन देऊ ।’
उनले सोही सन्देशमा आफूले कुनै पनि हिमाललाई हल्का रूपमा नलिने बताएका थिए ।
‘बेसक्याम्पबाट पहिलो पाइला चाल्नेबित्तिकै मेरो सम्पूर्ण समर्पण त्यही अभियानमा हुन्छ । सधैं त्यस्तै थियो । सधैं त्यस्तै रहनेछ,’ पुर्जाले लेखेका थिए ।
पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए ।
८ हजार मिटर माथिका हिमाल आरोहण रेकर्ड हेर्दा यस पटक ब्रोड पिक चढेका भए चोयुबाहेक ८ हजार मिटर माथिका १४ वटै हिमाल विनाअक्सिजन दुई पटक आरोहण गर्ने विश्व कीर्तिमान उनको नाममा दर्ज हुने निश्चित थियो ।
उनले १४ वटै हिमाल चढ्ने बेलाको संघर्ष पनि ‘ब्रोड पिक’ जानुअघिको स्टाटसमा लेखेका थिए ।
अघिल्लो सातामात्र उनले पाकिस्तानको गसेरब्रम २ आरोहण गरी ५७औं आरोहण पूरा गरेका थिए । यस पटक ब्रोड पिक आरोहणको योजनामा भने नरहेको पनि उनले स्टाटसमा उल्लेख गरेका थिए ।
पुर्जाको विगत
म्याग्दीमा जन्मिएका निर्मल पुर्जा (निम्स दाइ) बेलायती सेनामा काम गर्थे । जबसम्म उनी गोरखा सैनिकमा सक्रिय थिए, तबसम्म उनको पहिचान अन्तर्राष्ट्रिय आरोहीका रूपमा स्थापित बनिसकेको थिएन ।
यद्यपि, उनी गोरखा सैनिकमै हुँदा आरोहण यात्रा भने थालिसकेका थिए । उनको आधिकारिक वेवसाइट निम्सदाइ डटकमका अनुसार उनले कुल १६ वर्ष सेनामा बिताए । त्यसमध्ये उनले ६ वर्ष गोरखा र १० वर्ष ‘यूके स्पेसल फोर्स’ (एसबीएस) मा बिताए ।
१८ वर्षको उमेरमा सन् २००३ मा गोरखा सैनिकमा भर्ती भएका थिए । म्याग्दीमा जन्मिए पनि उनी चितवनमा हुर्किए । प्रारम्भिक जीवनमा भने हिमाल जोडिएन ।
पढाइमा तिक्ष्ण निम्स दाइको बाल्यकालको शोख हिमाल चढ्ने पनि थिएन । उनको अर्कै लक्ष्य थियो, आफ्ना बुबा र दाजुहरू झैं बेलायती सेनामा गोरखा भर्ती हुन् । सोही क्रममा उनले २००३ मा आफ्नो पहिलो सपना पूरा गरेका थिए ।
आफ्नो सपना पूरा गर्न जुनसुकै कदम उठाउन पछि नपर्ने निम्स दाइ २००९ मा गोरखा सैनिकबाट स्पेसल बोट सर्भिसमा आबद्ध हुने पहिलो गोरखा सैनिक बने । यस यूनिटमा मुख्यतया रोयल मरिन्स कमान्डोहरू हुन्छन् । यो युनिट गोप्य र रणनीतिक कारबाहीमा विशेष दखल राख्छ ।

उनले २०१२ देखि हिमाल आरोहण यात्रा थालेका हुन् । स्पेसल फोर्सको ड्युटीबाट छुट्टीमा आएको मौकामा उनले सगरमाथा आधार शिविरको यात्रा तय गरे । यो यात्राले उनलाई हिमालप्रतिको लगाव र महत्त्वाकांक्षा ह्वात्तै बढायो ।
सोही यात्राबाट काठमाडौं फर्किएपछि उनले आफ्ना गाइडसँग आरोहण सिक्ने इच्छा व्यक्त गरे । सोही क्रममा उनी गाइडसँगै ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे इस्ट हिमाल आरोहणमा गए र सफल भए ।
त्यो उनको हिम चुचुरातर्फको पहिलो पाइला थियो । सोही आरोहणपछि भने उनी सैन्य सेवामै फर्किए । एसबीएसमा उनी अधिक चिसो मौसमको युद्धकला सम्बन्धी विषयविज्ञको भूमिकामा पुगे ।
निम्सदाइ डटकमका अनुसार त्यही बेला उनले जुनसुकै कठिन अवस्थामा पनि शीघ्र मूल्यांकन गर्ने र अरूको सुरक्षा सुनिश्चित गर्ने क्षमता विकास गरे । यो सिप अन्तत: उनलाई कठिन आरोहण यात्रा सहजै पार लगाउन सहयोगी समेत सावित भयो । उनी सैन्य सेवामा छुट्टी पाउने बित्तिकै नेपाल फर्किएर आरोहणलाई निरन्तरता दिन थाले ।
हिमालमा उनले आरोहण गरी आफ्नो कीर्तिमान बनाउने भन्दा पनि संकटमा परेका आरोहीलाई उद्धार र सहयोगमा उनी केन्द्रित थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद तथा कीर्तिमानी आरोही मिङ्माडेभिड शेर्पा २०१९ मा निम्स दाइसँग आरोहण अभियानमा जोडिए ।
शेर्पाका अनुुसार निम्स दाइमा आँटेको काम पूरा गरिहाल्नुपर्ने दृढ क्षमता थियो, जसले उनलाई हिमालको कठिन यात्रामा समेत यति धेरै सफलता प्राप्त गर्न सहयोग गरेको हो ।
सन् २०१९ मा ६ महिनाभित्र ८ हजार मिटर अग्ला १४ हिमालचुली चुमेर कीर्तिमान बनाउन नेपाल फर्किएका निम्स दाइ बेलायती सेनाको आकर्षक जागिर छाडेर आएका थिए ।
निम्स दाइसँग जोडिएका डेभिडले सोही अभियानमा १४ वटै हिमाल आरोहण गर्ने कान्छो आरोहीको कीर्तिमान बनाउन सफल भए । २०२१ मा माउन्ट केटु निम्स दाइ र डेभिड सहित १० नेपाली आरोही टोलीले विन्टर सिजनमा पहिलो पटक आरोहण गरी विश्व कीर्तिमान बनाएको थियो ।
जुन नेपाली आरोहीले व्यक्तिगत प्रतिस्पर्धाभन्दा टिममा कति शक्ति हुन्छ भनेर देखाएको एक पछिल्लो उदाहरण थियो । त्यसयता नै निम्स दाइले सगरमाथामा पटक–पटक आरोहण गरी कीर्तिमानको झन्डा गाडिसकेका थिए । उनीसँग ५ दिनमा सगरमाथा, ल्होत्से र मकालु आरोहण कीर्तिमान समेत छ ।
निम्सदाइ डटकमका अनुसार तीव्र गतिमा हिमाल चढ्न सक्ने र उचाइमा छिट्टै घुलमिल हुन सक्ने आफ्नो अद्भुत शारीरिक क्षमता पत्ता लगाएका उनी त्यसपछि भने महत्त्वाकांक्षी परियोजनामा होमिने निर्णय गरेका हुन् ।
धेरैले असम्भव भनेका कीर्तिमान आफ्नो नाममा लेखाउने महत्त्वाकांक्षाकै बीच उनले बेलायती सेनाको जागिर छाडेर हिमालमा होमिएका थिए । निम्स दाइले कीर्तिमान बनाउनुअघि ८ हजार मिटर माथिका संसारका १४ हिमाल आरोहण गर्न ८ वर्ष लागेको रेकर्ड थियो ।
सोहीकारण उनले सो अभियानको नाम नै ‘प्रोजेक्ट पसिबल’ राखेका थिए । ७ महिनामा कीर्तिमान राख्न हिँडेका उनले शिशापाङ्मा शिखरबाट मिसन पूरा भएको घोषणा गर्दा ६ महिनाभन्दा केही बढी मात्र भएको थियो ।
गोरखा सैनिकको सगमाथा अभियान सफल बनाउन उनले खेलेको भूमिका र ८ हजार मिटरभन्दा माथिका अग्ला हिमालमा हासिल गरेको सफलताका कारण उनले बेलायती महारानी एलिजाबेथ द्वितीयबाट एमबीई सम्मान प्राप्त गरेका थिए । निम्स दाइले सगरमाथामा स्काई डाइभ गरेर साहसिक पर्यटन प्रवर्द्धन समेत गरेका थिए ।
सांसद शेर्पाका अनुसार निम्स दाइले अघिल्लो सातामात्र ८ हजार मिटरभन्दा अग्ला हिमाल ५७औं पटक आरोहण गरी नयाँ कीर्तिमान बनाएका थिए । जसमध्ये विनाअक्सिजन २९ वटा आरोहण समावेश छन् ।
प्रतिक्रिया 4