+
+
Shares

सुनचाँदी व्यवसाय ऐन तत्काल ल्याउन माग

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १६ गते २१:२९

१६ साउन, बुटवल । सुनचाँदी व्यवसाय ऐन तत्काल ल्याउन व्यवसायीहरूले सरकारसँग माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ औं र १४ औं वार्षिक साधारण सभाको शनिबार बुटवलमा भएको उद्घाटन समारोहमा बोल्दै व्यवसायीहरूले यस्तो माग गरेका हुन् ।

एक खर्ब बढी लगानी भएको सुनचाँदी व्यवसायीको संरक्षणका लागि कानुनी सुरक्षाका लागि छुट्टै ऐनको आवश्यकता रहेको व्यवसायीको माग छ ।

ऐनको मस्यौदा समेत तयार भइसकेको बताउँदै व्यवसायीहरूले सरकारलाई प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण बैद्यले राज्यलाई कर तिरेर पनि व्यवसायीहरू ढुक्क हुने अवस्था नभएको बताउँदै सुनचाँदी व्यवसायीहरूको सुरक्षाका लागि ऐन जारी गर्नुपर्ने बताए ।

उनले स्पष्ट नीति र नियम लागू गर्नुपर्ने बताउँदै सुनचाँदी व्यवसाय ऐन शिघ्र ल्याउन आफूहरूको तर्फबाट समेत पहल भइरहेको बताए । उनले नेपालको मौलिक परम्परा, संस्कृतीमा समेत सुन, चाँदी र हिरा मोती जस्ता गहनाहरूको महत्व रहेको उल्लेख गर्दै व्यवसायीले लगानी गरेको अर्बोको लगानीको सुरक्षा राज्यले गर्नुपर्नेमा जोड दिए ।

सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अर्जुन रसाईलीले सरकारले बार्षिक २० अर्बको हाराहारीमा राजस्वमा योगदान गर्दै आएको सुनचाँदी व्यवसायीहरूको सुरक्षा गर्न ऐन ल्याउन माग गरे । उनले सुनचाँदी व्यवसायमा हालसम्म नीति नियमको अभावमा देवानी संहितामा सुनचाँदी गरगहनालाई नगद सम्पत्तिको रुपमा व्याख्या गरिएपनि खरिदविक्रि नगद सरहको मान्यता नपाएको बताए । उनले यहि कारणले प्रहरी प्रशासनबाट पिडित हुनुपरेको गुनासो गरे ।

पुर्व मन्त्री तथा नेकपा एमालेका सचिव छबिलाल विश्वकर्माले सुनचाँदी व्यवसायका समस्याका बारेमा तीनै तहका सरकारले प्रोत्साहन गर्नुपर्ने बताए ।

उनले सुनचाँदी व्यवसायीहरूको समस्याका बारेमा विगतदेखि नै आफूले सक्दो पहलकदमी गर्दै आएको बताउँदै व्यवसायीहरूको सुरक्षा हुनुपर्ने बताए । नेपाल उद्योग बाणिज्य संघले समेत सुनचाँदी व्यबसायलाई अपेक्षाकृत ध्यान दिन नसकेको विश्वकर्माले बताए ।

प्रतिनिधिसभा सदस्य अमृता विकले सुनचाँदी बहुमुल्य धातु भएको र यस्तो व्यवसायमा राज्यबाट पाउनु पर्ने सुबिधा कम भएको बिषयमा आफूहरूको ध्यान गएको बताइन् । उनले सुनचाँदी व्यबसायमा लगाउँदै आएको करका कारणले उपभोक्ताहरूलाई परेको मारलाई समेत सरकारले ध्यान दिनुपर्ने बताइन् ।

 यस्तै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले सुनचाँदी व्यवसायमा नेपाली कारीगढहरू उत्पादन गर्ने तर्फ काम गर्नुपर्ने सुझाव दिए । उनले बुटवलमा मात्रै ५ हजार भन्दा धेरै देश बाहिरका युवाहरू रोजगारीमा रहेको बताउँदै सिटिईभिटी अन्तर्गतको पाठ्यक्रम बनाएर जनशक्ति उत्पादन गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल उद्योग बाडिज्य महासंघका बस्तुगत समितिका नरेश राज श्रेष्ठ, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण कुमार शर्मा, महासंघका सल्लाहकार रणेन्द्र बराईली, उद्योग बाणिज्य महासंघका प्रतिनिधिले बोल्दै व्यवसायीहरूको सुरक्षामा राज्यले चासो दिन नसकेको गुनासो गरे ।

उद्घाटनसत्रका अवसरमा स्वर्ण दर्पण स्मारिकाको विमोचन समेत गरिएको थियो । साधारणसभामा महासंघमा आवद्ध ८४ जिल्ला/नगर संघ, बस्तुगत र २३ वटा एशोसिएट सदस्यहरू सहित, पर्यवेक्षकहरू एवं सदस्यहरू सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?