News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता र स्थायित्वका लागि संवैधानिक राजसंस्थाको आवश्यकता रहेको बताएकी छन् ।
- शाही युवा शक्ति नेपालद्वारा आयोजित कार्यक्रममा उनले आफूले राजसंस्थाको अवधारणा बीपी कोइरालाबाट सिकेको कुरा खुलाइन् ।
- कोइरालाले गणतन्त्रपछिको व्यवस्थाले जनताको समृद्धिको सपना पूरा गर्न नसकेको र विदेशी अवधारणाले देशलाई सहयोग नगरेको टिप्पणी गरिन् ।
काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताएकी छन् ।
शाही युवा शक्ति नेपालको आयोजनामा भएको ‘राजाको पक्षमा जनताको हस्ताक्षर अभियान-२०८३’ को सामूहिक हस्ताक्षर कार्यक्रममा बोल्दै कोइरालाले आफूले संवैधानिक राजसंस्थाको अवधारणा बीपी कोइरालाबाट सिकेको बताइन् ।
उनले भनिन्, ‘हामीलाई संवैधानिक राजसंस्था चाहिन्छ भनेर बुझेको, बोलेको मैले बीपी बाबाट नै सिकेको हो । सुरु-सुरुमा उहाँका विचार समाजवाद वा कम्युनिज्मतर्फ झुकेका थिए । तर समयसँगै मुलुकको परिस्थिति, भूगोल र देशको भविष्यलाई मूल्याङ्कन गर्दै उहाँ यो निष्कर्षमा पुग्नुभयो कि नेपालका लागि राजसंस्था अत्यन्त जरुरी छ ।’
उनका अनुसार बीपी कोइरालाले अघि सारेको राष्ट्रिय मेलमिलापको नीतिले राजसंस्था र प्रजातन्त्रलाई परस्पर विरोधी नभई लोकतन्त्रको प्रतीकका रूपमा व्याख्या गरेको थियो ।

‘उहाँले राजा र मेरो घाँटी एउटै दरबारको मियाँमा छ भन्नुभएको थियो । राजसंस्था लोकतन्त्रको प्रतीक हो । त्यो कुरा त्यतिबेला पनि उत्तिकै महत्त्वपूर्ण थियो, अहिले झन् बढी महत्त्वपूर्ण भएको छ,’ उनले भनिन् ।
कोइरालाले गणतन्त्र र बहुदलीय व्यवस्थापछि नेपाली जनताले देखेको समृद्ध र बलियो राष्ट्रको सपना पूरा हुन नसकेको टिप्पणी गरिन् । ‘हामीले राष्ट्रिय तत्वलाई साइडमा राखेर विदेशी अवधारणा पछ्याउने प्रयास गर्यौं। त्यसले देशलाई सहयोग गरेन,’ उनले भनिन् ।
मनीषाले लामो समयदेखि राजतन्त्र र सनातन हिन्दु धर्मको पक्षमा आफ्नो धारणा राख्दै आएकी छिन् ।
प्रतिक्रिया 4