+
+
Shares

तराई–मधेश शान्त पार्न खटिएका छन् थप २ हजार सुरक्षाकर्मी

तनावपूर्ण अवस्था शान्त पार्न र सम्भावित घटनाहरू रोक्नका लागि उनीहरू फिल्डमा खटिएका हुन् । प्रहरीका विभिन्न विभाग र क्षेत्रमा काम गरिरहेकाहरूलाई पनि तत्कालको संकट समाधान गर्न तराई मधेश केन्द्रित गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १७ गते १९:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको घटनाले तराई–मधेशमा बढेको तनाव नियन्त्रण गर्न सरकारले दुई हजार थप सुरक्षाकर्मी परिचालन गरेको छ ।
  • नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृतसहितको टोली सुरक्षा व्यवस्था कडा पार्न विभिन्न जिल्लामा खटिएका छन् ।
  • गृहमन्त्री सुधन गुरुङको उपस्थिति र सुरक्षा परिचालनका कारण तराईको अवस्था बिस्तारै शान्तिपूर्ण बन्दै गएको छ ।

१७ साउन, काठमाडौं । सुनसरी घटनाका कारण तराई–मधेशमा तनाव बढेपछि थप २ हजार बढी सुरक्षाकर्मी मधेश खटाइएको पाइएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी प्रधान कार्यालयको टोलीले थप दुई हजार सुरक्षाकर्मी मधेश खटाएका हुन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले करिब १ हजार बढी प्रहरीलाई मधेश केन्द्रित गरिएको बताए ।

‘गण, तालिम केन्द्र, पहाडी जिल्लादेखि हेडक्वार्टरबाट समेत करिब १ हजार बढी प्रहरीलाई तराई मधेश झारिएको छ । म आफैं पनि सप्तरी आएको छु,’ काफ्लेले अनलाइनखबरसँग भने ।

प्रहरीबाट चार एआईजीहरू सिद्धीविक्रम शाह– बाँके, एआईजी हिमालय कुमार श्रेष्ठ– मधेश प्रदेश, एआईजी उमा प्रसाद चतुर्वेदी– कपिलवस्तु, एआईजी ईशवर कार्की–कोशी प्रदेश र सुनसरी तराई मधेश झरेका थिए ।

त्यस्तै डीआईजी दिनेश कुमार आचार्य – सिरहा, डीआईजी अबिनारायण काफ्ले–सप्तरीमा खटिएका छन् ।

एसएसपी गोपाल चन्द्र भट्टराई–सर्लाही, एसएसपी सोमेन्द्र सिंह राठौर–पर्सा, एसएसपी दीप शम्शेर जबरा–रौतहट, एसएसपी नवराज अधिकारी–चितवन, एसएसपी कृष्ण प्रसाद पंगेनी–महोत्तरी, एसएसपी होबिन्द्र बोगटी–बारा, एसएसपी ज्ञानेन्द्र प्रसाद फुयाँल–मोरङ, एसएसपी भुवनेश्वर तिवारी–धनुषा, एसएसपी अमरेन्द्र बहादुर सिंह–मधेशमा खटिएका छन् ।

सशस्त्र प्रहरीबाट पनि करिब थप १ हजार सुरक्षाकर्मीलाई तराई मधेश झारिएको सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीले बताए । एआईजी गणेश ठाडा मगरसहितको टोली तराई झरेर खटिएको छ ।

तनावपूर्ण अवस्था शान्त पार्न र सम्भावित घटनाहरू रोक्नका लागि उनीहरू फिल्डमा खटिएका हुन् । प्रहरीका विभिन्न विभाग र क्षेत्रमा काम गरिरहेकाहरूलाई पनि तत्कालको संकट समाधान गर्न तराई मधेश केन्द्रित गरिएको छ ।

तराईका मोरङ, सुनसरी, सिरहा, धनुषा लगायत जिल्लाहरूमा थप तनाव उत्पन्न हुनसक्ने भन्दै सतर्कता अपनाइएको छ । यही घटनाका लागि थप प्रहरी जनशक्ति तराई केन्द्रित बनाइएको हो ।

स्रोत साधनको परिचालन, प्रभावकारी मूल्यांकन, नीति निर्देशक, सुरक्षा कार्ययोजना, सूचना संकलन तथा विश्लेषण र आवश्यकता अनुसार फिल्डमा खटिएर काम गर्ने उच्च अधिकृतहरूलाई परिचालन गरिएको हो ।

त्यसो त गृहमन्त्री सुधन गुरुङ आफैं अहिले तराईमै छन् । तराई बिस्तारै शान्त बन्दै गएको छ । नेपाल प्रहरीका प्रवक्ता काफ्लेका अनुसार बिस्तारै माहोल शान्तिपूर्ण बन्दै गएको छ ।

कोशी प्रदेशका डीआईजी शेखर खनालले पनि हिजोको तुलनामा आज झनै शान्तपूर्ण अवस्था रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?