News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहाको गोलबजारमा आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १५ वर्षीय किशोर गणेश यादवको मृत्यु भएको छ।
- मृतकका बुवा रामबृक्ष यादवले गोली चलाउने व्यक्तिको पहिचान गरी कानुनी कारबाही हुनुपर्ने माग राख्दै आर्थिक सहयोग अस्वीकार गरेका छन्।
- गृहमन्त्रीको आगमनको प्रतीक्षामा रहेका परिवारले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग जोडदार माग गरेका छन्।
१५ साउन, सिरहा। सुनसरी घटनालाई लिएर सिरहामा चर्किएको आन्दोलनका क्रममा बिहीबार १५ वर्षीय गणेश यादवको मृत्यु भयो। सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर औरही गाउँपालिका-२ तुलसीपुर-मोतिपुरका गणेशको मृत्यु भएको हो।
गणेशको मृत्युपछि उनको परिवार शोकमा डुबेको छ। उनका बुवा रामबृद्ध यादवले आफ्ना छोराको हत्या गर्ने व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने बताए।
औरही गाउँपालिका–२ तुलसीपुर–मोतिपुरस्थित घरमा भेटिएका मृतकका बाबु रामबृक्षको प्रश्न छ, ‘मेरो छोरा खोई? कसले मार्यो?
विगत ८ वर्षदेखि स्थानीय इँटा भट्टामा चालकको काम गर्दै आएका ४२ वर्षीय रामबृक्षले छोराको मृत्युको बदलामा कुनै आर्थिक सहयोग नभई दोषीमाथि कानुनी कारबाही मात्रै चाहिएको बताए।
‘हामी गरिब हौं। मलाई केही चाहिएको छैन। पैसा पनि चाहिएको छैन। मेरो छोरामाथि गोली चलाउने व्यक्ति सार्वजनिक गरियोस् र कानुनी कारबाही होस्। त्यही मेरो माग हो,’ उनले भावुक हुँदै भने।
रामबृक्षले चार वर्ष मलेसियास्थित प्लास्टिक उद्योगमा काम गरे । त्यहाँ बिरामी परेपछि स्वदेश फर्किएका उनले गाउँमै चालकको काम गर्दै परिवार पालिरहेका थिए। उनको परिवारमा दुई छोरा र एक छोरी थिए ।
जेठा छोरा कमलेश र कान्छा गणेश दुवै गोलबजारस्थित माउन्ट एभरेस्ट सेकेन्ड बोर्डिङ स्कुलमा अध्ययनरत थिए । विगत दुई वर्षदेखि दाजुभाइ गोलबजारमा कोठा भाडामा लिएर पढ्दै आएका थिए।

घटनाको दिन गणेशले घरमा फोन गरेका थिए। आमाले आन्दोलनमा नजान पटक–पटक सम्झाएकी थिइन्। उनले आमासँग भनेका थिए, ‘म आन्दोलन गर्दिनँ मम्मी । हेर्न मात्रै जान्छु ।’ तर, आन्दोलन ‘हेर्न मात्रै’ पुगेका गणेश गोलीको सिकार बने।
स्थानीयबाट गृहमन्त्री सुधन गुरुङ आफूलाई भेट्न आउने सूचना पाएको बताउँदै रामबृक्ष भन्छन्, ‘गृहमन्त्री आउँदै हुनुहुन्छ भन्ने सुनेको छु। उहाँकै प्रतीक्षामा छु। उहाँलाई पनि सोध्छु- खोई मेरो छोरा? कसले मार्यो? दोषी कहाँ छ? कहिले कानुनी कठघरामा ल्याउनुहुन्छ? हामीले कहिले न्याय पाउँछौं? मेरो छोराले कसको के बिगारेको थियो ?’
परिवारकी कान्छी छोरी ११ वर्षीया मनिषाकुमारी यादव कक्षा ४ मा अध्ययनरत छिन्। आर्थिक रूपमा कमजोर परिवारमा कमाउने एक मात्र सदस्य रामबृक्षमाथि अहिले परिवारको जिम्मेवारीसँगै छोराको मृत्युको असह्य पीडा थपिएको छ।
स्थानीय फूलझारीदेवी यादव र शान्तिदेवी मण्डलले निर्दोष किशोरले ज्यान गुमाउनु परेको घटनाले सिंगो गाउँ शोकमा डुबेको बताए। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी गोली चलाउने व्यक्ति पहिचान गरी सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
दोषीमाथि कानुनी कारबाही, पीडित परिवारलाई उचित क्षतिपूर्ति तथा परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने मागसमेत उनीहरूको छ ।
अहिलेसम्म छोराको शवको अवस्था र घटनासम्बन्धी सम्पूर्ण विवरणबारे स्पष्ट जानकारी नपाउँदा उनीहरू थप पीडामा छन्।
प्रतिक्रिया 4